‘बालकृष्ण सम: सबै विधामा उत्तिकै योगदान’

मंगलबार, माघ २५, २०७८

काठमाडौँ, २५ माघ । नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको १२०औँ जन्मजयन्तीका अवसरमा ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’ विषयक परिचर्चा र रचनावाचन कार्यक्रम आयोजना गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को सहकार्यमा सोमबार आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले समले कविता, नाटक, कथा लगायतका विधामा उत्कृष्ट कृति रचना गरी नेपाली वाङ्मयको उन्नयनमा अतुलनीय योगदान गरेको बताए । उनले भने,“नेपाली वाङ्मयका प्रायः सबै विधामा समको उत्तिकै विशिष्ट योगदान रहेको छ तर विशेष गरी नाटकका क्षेत्रमा समको योगदान अतुलनीय छ ।” प्रतिष्ठानका सदस्य प्रा जगत्प्रसाद उपाध्यायले ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’का बारेमा  चर्चा गर्दै सम पारिवारिक परिवेशकै कारण वाङ्मय क्षेत्रप्रति आकर्षित भएको बताए ।
 
साहित्य (पद्य÷काव्य)  विभागका प्रमुख प्रा डा हेमनाथ पौडेलले नाटक लेखन, कविता लेखनका साथै नाटक निर्देशन र अभिनयमासमेत समको विशिष्ट योगदान रहेको बताए ।  साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुखका डा देवी नेपालले समका रचनागत प्रवृत्ति झल्किने प्रतिनिधिमूलक कविताका अंशहरूको वाचन गरेका थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ सभा सदस्य रमा शर्माले नेपाली साहित्यका विशिष्ट साधक समको योगदान नेपाल र नेपाली कहिल्यै भुल्न नसकिने बताए ।  
 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  १२:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार