बालकुमारी माता आफ्नै घरमा फर्कंदा ...

उल्लासमय वातावरण, उत्सव मनाइरहेको सुनाकोठी
आइतबार, फागुन १, २०७८

ललितपुरल (सुनाकोठी), १ फागुन । माघ नौ गतेको बिहान थियो त्यो । बालकुमारी माताको मूर्ति चोरिएको सूचना पाउने बित्तिकै ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनलाई फोन गरेँ । महर्जन पनि मूर्ति हराएको सूचना पाए लगत्तै सुनाकोठी आइपुगिसकेका रहेछन् । बालकुमारी मन्दिरबाट मेरो घर बढीमा एक किलोमिटर पर पर्छ । तर, त्यो बिहान काम विशेषले म सबेरै काठमाडौं गएकी थिएँ । त्यसैले घटनास्थलमै पुग्न सकिन् । सूचनाका लागि नगरप्रमुखलाई दोहो¥याएर फोन गरेँ । नगरप्रमुख महर्जनले त्यहाँको अवस्था चित्रण गर्दै भनेको त्यो वाक्यले नमिठो अनुभव गरेँ । सुनाकोठीवासीको मनोभाव विश्लेषण गरेँ । त्यत्तिखेर नगरप्रमुख महर्जनले भनेका थिएँ, ‘यहाँ दिदीबहिनीको रुवावासी छ, हाम्रो माँ खै भन्दै रोइरहनु भएको छ .....।’ कार्यालय आउँदा, कार्यालयबाट घर फर्कंदा, किनमेल गर्न जाँदा, मर्निङवाक निस्कँदा बालकुमारी मन्दिरलाई देख्ने बित्तिकै मन त्यसै त्यसै आत्तिए जस्तो, भक्कानिए जस्तो हुन्थ्यो । 
ललितपुर जिल्ला प्रशासन कार्यालयमा चोरिएको मूर्तिको बारेमा छलफल गर्न आयोजना गरिएको बैठकमा वडा नं २७ वडाअध्यक्ष बाबुराज महर्जनले भनेको वाक्यले सुनाकोठीवासीको मनोदशा विश्लेषणसहित चित्रण गरँे । उनले भनेका थिए, ‘बालकुमारी माई सुनाकोठीबासीको मुटुको टुक्रा हो, मुटुको टुक्रा चोरिदाँ हामी विक्षप्त भएका छौं, मन रोएको छ ।’ त्यतिबेला उनले भनेको अर्को वाक्यले म झन झस्किएँ,  ‘सुनाकोठीमा अहिले कसैलाई केही गर्ने जाँगर छैन, न खान सम्झेका छौं, न त आँखामा निन्द्रा नै ।’ महिलाले भातभान्साको काम नै गर्न छाडेको उनले सुनाए । बाबुराजको यो कुरा सुनेपछि मैले मनमनै सोचेँ, ‘यदि मूर्ति नभेटिने हो भने, सुनाकोठीबासीमा मनोवैज्ञानिक समस्या देखापर्ने निश्चित छ  ।’ वडा नं २६ का अध्यक्ष सुरेश महर्जनले पनि मूर्ति चोरिँदा सुनाकोठीवासी शोकमा डुबेको बताएका थिए । अनुसन्धान सजिलो काम होइन । पाएका र आएका सबै सूचना एकैपटक सार्वजनिक गर्दा त्यसले अनुसन्धान प्रक्रियालाई झन् फितलो बनाउन सक्छ । पाएका सबै सूचना समाचार हुँदैनन् भन्नेमा म सचेत थिएँ । 


‘फेसबुक वालमा मूर्ति खोज्न ढिलासुस्ती भयो, खै हाम्रो माँ कहिले आउने’ जस्ता स्टाटस आइरहेका थिए । यस्ता स्टाटसले अनुसन्धान प्रक्रियालाई चुस्त बनाउन दबाब दिइरहेको थियो । 
माघ २२ गते मूर्ति खोज्न सहयोग पुग्ने सूचना दिनेलाई नगद पुरस्कार, ऊर्जामन्त्री पम्फा भुसाल, प्रदेश सांसद राजकाजी महर्जन र २७ का वडा अध्यक्ष बाबुराज महर्जनलगायतको टोलीले गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेर मूर्ति खोजीका लागि लिएको अग्रसरताको समाचार शब्दपाटीमा प्राथमिकताका साथ प्रकाशित भएका थिए । यी समाचार लेखिरहँदा, नगरप्रमुख महर्जनले भनेका वाक्य, वडाअध्यक्षहरूको भक्कानिएको आवाजमा व्यक्त भावनाले मलाई बिथोलिरहेको थियो । मूर्ति भेटिएन भने, सुनाकोठीमा देखिने मनोवैज्ञानिक समस्यालाई के ले र कसरी पूर्ति गर्ला भन्ने प्रश्नहरु अनुत्तरित भइरहेका थिए । यी प्रश्न मस्तिष्कमा फनफनी घुमिरहेका थिए । 
००० 
माघ २८ गतेको बिहान, घरमै थिएँ । बालकुमारी माताको मूर्ति भेटिएको सूचना सामाजिक सञ्जालमा मनग्य देखेँ । आधिकारिकताका लागि महानगरप्रमुख चिरीबाबु महर्जनलाई फोन गरेँ । मूर्ति भेटिएको सूचना पाउने बित्तिकै आफू महानगरीय प्रहरी परिसर जावलाखेलमा आएको उनले बताए । साँढे १० बजे बालकुमारी गुठीका गुठीयारलाई मूर्ति हस्तान्तरण गर्ने कार्यक्रम रहेको सूचना पाएपछि त्यहाँ पुग्नु पहिलो प्राथमिकता थियो । नगरप्रमुखलाई फोन गरे लगत्तै वडाअध्यक्ष बाबुराजको मोवाइलमा फोन गर्दा अपरिचितको आवाज सुनेँ । ‘ म उसको साथी बोलेको, बाबुराजलाई प्रेसर हाइ भएर अस्पताल ल्याएका छौं’ वडा अध्यक्षको साथीको यो वाक्यले मलाई फेरि त्यही दिनको सम्झना दिलायो, जुन दिन सिडियो कार्यालयमा बैठक थियो । 
रिपोर्टिङ्गका लागि महानगरीय  प्रहरी परिसर जावलाखेल पुग्दा महानगरप्रमुख उत्साहित भएर भाषण गरिरहेका थिए । उनी भन्दै थिए, ‘मलाई आज मेयर पदमा जित्दा भन्दा पनि धेरै खुशी लागेको छ, मूर्ति खोज्न सफल हुनुभएकोमा प्रहरी प्रशासनलाई धन्यवाद ...।’
ऊर्जामन्त्री पम्फा भुसालले पनि जोसिलो भाषण गरिन् । नेपाल प्रहरी अनुसन्धानमा सक्षम भएको यो घटनाले पुष्टि गरेको बताइन् । चोरिएर अझै फेला नपरेका मूर्ति खोजीका लागि पनि उनले नेपाल प्रहरीलाई प्रोत्साहित गरिन् । 


त्यहाँ ललितपुरका नेता र सुरक्षा संयन्त्रका प्रतिनिधिले भाषण गरिरहेका थिए । भक्तजनहरू बाजागाजासहित सिन्दुर जात्रा गरिरहेका थिए । बाजा बजिरहेको थियो । धूप, बत्ती, फूलले देवीलाई पूजा गर्न सबै आतुर थिए । जब मूर्ति मुख्य गुठीयारलाई हस्तान्तरण गरियो, तालीको पर्रा छुट्यो । ‘हाम्रो माँ घर फर्कनु भयो, मूर्ति चोरलाई कारबाही गर ...’ यस्तै यस्तै नारा जावलाखेलदेखि सुनाकोठीसम्म गुन्जिरह्यो । बाजा, अविर, सिन्दुर, फूलमालासहित बालकुमारीमातालाई बालकुमारी चौरको परिक्रमापछि साँझ पाँच बजेतिर बिराजमान गराइयो । 
मूर्ति बोकेर आएका भक्तजनलाई चोक चोकमा पानीको व्यवस्था गरिएको थियो । अक्षता, फूल, अबिरले मूर्ति पूजा गर्नेको लर्काे नै थियो । कौसी, छत र झ्यालबाट समेत पूजा गरिरहेका थिए । 

०००

मूर्ति हराउँदा उदास देखिएका ती अनुहारमा खुशी फर्किएको छ । उर्जा थपिएको छ । मनोबल बढेको छ । मनोविज्ञान बदलिएको छ । आस्था र विश्वासको धार्मिक धरोहर आफ्नै ठाउँमा फर्कंदा सुनाकोठी खुशी छ । आनन्द मानिरहेको छ ।

शुक्रबार बिहानै बाबुराजको मोवाइलमा सुरेश महर्जनको फोन आयो । सुरेश वडा नं २६ सुनाकोठीका अध्यक्ष हुन् । हात्तीवन क्लासिक टावर नजिकैको मन्दिरसँगै एउटा मूर्ति रहेको जानकारी एक महिलाले दिएको सुरेशले बताए । त्यतिबेला सुरेश मर्निङ्गवाकमा थिए । सुरेशसँगको फोन वार्ता टुङ्गिने वित्तिकै बाबुराज हात्तिवनतर्फ हानिए । ‘सिमेन्टको बोरा थियो, बोरा थोत्रो थियो’ प्रहरीसहितको टोलीले मूर्ति हेरेपछि बालकुमारी माता नै हो भन्ने एकिन भएको उनले बताए । त्यसपछि के भयो ? उनलाई थाहा छैन । ‘रिङ्गटा लागे जस्तो भएको थियो’ लगातारको दौडधूप, तनाव, मनोविज्ञानका कारण आफूलाई त्यस्तो भएको उनले बताए । धापाखेलको सुमेरु अस्पतालमा उपचार गराउँदा रक्तचाप र मधुमेह बढेको चिकित्सकले उनलाई बताएका थिए । 
अस्पतालमा केहीबेर आराम गरेर फर्केका बाबुराज महर्जन मूर्तिको व्यग्र प्रतिक्षामा थिए । ब्लड प्रेसर र सुगर एकैपटक बढेकाले चिकित्सकको सल्लाह अनुसार उनी ¥यालीमा सहभागी भएनन् । 


मूर्तिसहितको ¥याली ढोलाहिटीबाट सुनाकोठीतर्फ अघि बढी रहेको थियो । वडा नं २७ सुनाकोठीका वडाअध्यक्ष बाबुराज महर्जन मन्दिर नजिकैको घरको पेटीमा बसेर मूर्तिको प्रतिक्षा गरिरहेका थिए । त्यहाँ बसेका उनलाई धेरैले अंकमाल गरे । स्वास्थ्य अवस्था सोधे । जावलाखेलदेखि सुनाकोठीसम्म हिँडेर आएका नगरप्रमुख चिरीबाबु महर्जनले आफ्ना वडाअध्यक्ष बाबुराजलाई आराम गर्न सुझाव दिए । २० दिनसम्म रातदिनकै पत्तो नपाउने झैं भएका सुनाकोठीबासी पुलकित थिए । आस्था, विश्वास र धार्मिक र ऐतिहासिक धरोहर बालकुमारी मातालाई आफ्नै घरमा फिर्ता ल्याउन सकेकोमा धुमधामसँग नाचिरहेका थिए । सुनाकोठीवासीको भक्तिमा शक्ति भएको बताइरहेका थिए । हर्षका आँशु बर्सिरहेका थिए । त्यो दिन वास्तवमा सुनाकोठीमा उत्सव थियो । सुनाकोठीवासी उत्सव मनाइरहेका थिए । मूर्ति हराउँदा उदास देखिएका ती अनुहारमा खुशी फर्किएको छ । उर्जा थपिएको छ । मनोबल बढेको छ । मनोविज्ञान बदलिएको छ । आस्था र विश्वासको धार्मिक धरोहर आफ्नै ठाउँमा फर्कंदा सुनाकोठी खुशी छ । आनन्द मानिरहेको छ । 

 

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १३:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार