सोसल मिडिया
Contact Us
युनिकोड
मकवानपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ मयुरधापमा स्थापित मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन् । सङ्घीय सरकारले विसं २०७२ साल चैत्र १ गते मयुरधापमा नयाँ औद्योगिक क्षेत्रको घोषणा गरेको थियो । उक्त औद्योगिक क्षेत्रमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ र १४ मा गरी १९९ बिगाहा १७ कट्ठा सरकारी जग्गा सङ्घीय सरकारले मयुरधाप औद्योगिक क्षेत्रको नाममा दर्ता गरी लालपूर्जा पनि हस्तान्तरण गरिसकिएको नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए ।सो क्षेत्रमा २०७५ साल कात्तिक ५ गतेदेखि परियोजना कार्यालय स्थापना गरिसकिएको पनि बताइएको छ । कार्यक्रम मन्त्री भट्टले मुलुकमा राजनीतिक स्थायीत्व कायम गरी निर्यातमुखी उद्योगलाई आत्मनिर्भर बनाउन सङ्घीय सरकारले मौजुदा ऐन कानूनलाई परिमार्जन गरी उद्योगलाई अघि बढाउने लक्ष्य रहेको बताए । उनले अर्थतन्त्रलाई गतिशील आत्मनिर्भरमुखीतर्फ उन्मुख गराउन सङ्घीय सरकारले प्रत्येक प्रदेशमा नयाँ–नयाँ औद्योगिक क्षेत्रको विस्तार गर्न लागिएको र बहुराष्ट्रिय कम्पनीका उद्यमीलाई पनि यहाँ शान्तिसुरक्षा प्रदान गर्न जग्गा र भौतिक सुविधा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशित गरिसकिएको बताए । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा औद्योगिक क्षेत्रलगायत मयुरधाप औद्योगिक क्षेत्रलाई अब औद्योगिक जिल्लाको रूपमा घोषणा गर्ने र बहुराष्ट्रिय कम्पनी, विभिन्न उद्यमीहरूलाई यहाँ नयाँ–नयाँ उद्योग स्थापन गर्न प्रदेश सरकारले भौतिक सुविधायुक्त सेवाहरू उपलब्ध गराउँदै लैजाने नीति रहेको बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले मुलुकको अर्थतन्त्रलाई सुदृढ पार्न र आत्मनिर्भरमुखी उद्योग स्थापना गर्न सङ्घीय सरकारले मझौला, घरेलु उद्यमी र उद्योग व्यवस्थापकलाई भौतिक सुविधा उपलब्ध गराउने र उद्योग सञ्चालन नभएको अवस्थामा सरकारलाई तिर्नुपर्ने विभिन्न करलाई केही प्रतिशतसम्म मात्र भए पनि मिनाहा दिनुपर्ने धारणा राखे । नेपाल औद्योगिक व्यवस्थापन लिमिटेडका अध्यक्ष बस्नेतले सङ्घीय सरकारद्वारा स्थापना गरिएको मयुरधाप औद्योगिक क्षेत्रको आगामी दुई वर्षभित्र भौतिक पूर्वाधार विकासको निर्माण गर्ने र उक्त औद्योगिक क्षेत्रमा नयाँ–नयाँ उद्योगहरू स्थापना गर्ने उद्यमीहरूलाई आगामी पाँच वर्ष भित्रसम्ममा जग्गा भाडामा लिने रकम पूरै छुट दिने घोषणा गरे । उक्त औद्योगिक क्षेत्रमा ६२ वटा प्लटिङ छुट्याइ प्रत्येक उद्यमीहरूलाई उद्योग स्थापना गर्ने जग्गा, विद्युत्, बाटो, पिउने पानी र आवश्यक भवनहरू निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्य छ । मयुरधाप औद्योगिक क्षेत्रमा पूर्वाधार विकासका लागि सात अर्ब दुई करोड १४ लाख रुपैयाँ सरकारी क्षेत्रबाट लगानी गरी निर्माण कार्य यथाशीघ्र प्रारम्भ गर्ने लक्ष्य रहेको हेटौँडा औद्योगिक क्षेत्रका प्रबन्धक राजेन्द्रप्रसाद कँडेलले बताए । निकट भविष्यमा सो औद्योगिक क्षेत्रमा विभिन्न उद्योग स्थापना गरी सञ्चालन हुँदा प्रत्यक्ष÷अप्रत्यक्ष गरी १० हजार व्यक्तिले रोजगारका अवसर प्राप्त गर्नेछन् ।
इटहरीमा तीस करोडमा वाटर पार्क
पूर्वक्षेत्रको केन्द्र मानिएको सुनसरीको इटहरी नगरपालिकाभित्र तरहरास्थित ‘इपि ल्याण्ड एण्ड वाटर पार्क’ को निर्माण सम्पन्न भएको छ । पूर्वप्रहरी अधिकृत प्रहरी अतिरिक्त महानरीक्षक (एआइजी) कृष्ण बस्नेत तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी) ज्ञानविक्रम शाह, इटहरी उद्योग बाणिज्य सङ्घका अध्यक्ष भीमबहादुर पौडेल र काठमाण्डौंको वुपी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुक्त लगानीमा पार्क निर्माण गरिएको छ । कुल ३० करोड रुपैयाँमा ६ विघा क्षेत्रफलमा निर्माण गरिएको सो पार्कमा पाँच हजार मानिस अट्ने क्षमता छ । अघिल्लो चैत महिनामै सञ्चालनमा आउने भनिएको सो पार्क कोभिड–१९ का कारण निर्माणमा ढिलाइ भएको थियो । संसारका सबै ठूला शहरमा मनोरञ्जन पार्क हुन्छन् । विशेषगरी विदेशका ठूला शहरमा मनोरञ्जन पार्क हुन्छन् । ती पार्क कहीँ सरकारले बनाएको हुन्छ त कहीँ निजी क्षेत्रको लगानीमा । नेपालमा मुख्य शहरमा कमै मात्र मनोरञ्जन पार्क छन् । जसले गर्दा परिवारसँग रमाइलो गर्न, घुम्न उचित ठाउँको अभावलाई यो पार्कले पूरा गर्ने पार्क सञ्चालकले विश्वास लिएका छन् । पार्क सञ्चालनले गर्दा इटहरीमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि रमाउने ठाउँ मिलेको छ । यहाँबाट बालबालिका, तन्नेरीदेखि पारिवारिक मज्जा लिन पाउने भएका छन् । पार्कमा पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड आठ वटा राखिएका छन् । एक स्लाइडमा एक पटकमा बढीमा आठ जनाले खेल्न सक्नेछन् । दिनभरिमा पाँच हजार मानिसले यसमा मनोरञ्जन लिन सक्छन् । पार्कमा एकै पटक ६०० मानिस अटाउने एक वेभ पुल राखिएको छ । यस पुलमा बसेपछि समुद्रको छालमा बसेकोजस्तो आनन्द आउँने पार्क सञ्चालक समितिका अध्यक्ष भीमबहादुर पौडेलले जानकारी दिए । जोरासिक यहाँको अर्को सुन्दर विशेषता हो । यहाँ डुङ्गा चढेर डाइनोसरलगायतका लोप भइसकेका प्रजातिका जनावरको अवलोकन गर्न सकिने अध्यक्ष पौडेलले बताए । पार्कमा जिप लाइन टावर बनाइएको छ । यसमा एक टावरदेखि अर्को टावरसम्म डोरीमा चिप्लिएर जाने खेल खेल्न सकिन्छ । साथै, चट्टानमा चढ्ने स्थान पनि निर्माण गरिएको छ । पार्कमा पहिलो स्नोपार्क केही केही समयपछि सञ्चालनमा आउने जानकारी दिँदै अध्यक्ष पौडेलले भने, ‘पार्कभित्र रेष्टुरेन्ट, बार्बे क्यु हुनेछ र अर्को लञ्च वा डिनरका लागि फाइन डाइनिङ राखिएको छ । फास्ट फुडका लागि अर्को रेस्टुरेन्ट बनाइएको छ । यसबाहेक इन्डियन फुडकोर्ट र आइसक्रिम पार्लर पनि छ् ।’ प्रदेश–१ को गौरव बोक्ने यो पार्कमा पहिलो चरणमा ६० जनाले रोजगार पाएका छन्