सोसल मिडिया
Contact Us
युनिकोड
म्याग्दीको पर्यटकीयस्थल भुरुङतातोपानी र मुक्तिनाथ प्रवेशद्वारका रुपमा मानिएको गलेश्वरमा करोडौँ रुपैयाँको लगानीमा पर्यटक लक्षित स्तरीय होटेल निर्माण गरिएको छ । उत्तरी म्याग्दीको पर्यटकीय क्षेत्र भुरुङतातोपानीमा रु २५ करोडको लगानीमा धौलागिरि क्षेत्रकै सबैभन्दा ठूलो होटेल निर्माण भएको छ भने गलेश्वरमा रु सात करोडको लगानीमा होटेल ताजमहल सञ्चालनमा आएको छ । म्याग्दी सदरमुकाम बेनीमा व्यवसाय गर्दै आएका राजु हमालले रु २५ करोड लगानीमा ५७ कोठा क्षमताको ‘होटेल नेचुरल स्प्रिङ प्रालि’ निर्माण गरेका गरेका हुन् । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी राउण्ड अन्नपूर्णको आकर्षक पर्यटकीय गन्तव्य स्थल हो । यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी रोयल, डिलक्स र साधारण गरी तीन स्तरका सुविधासहितको कोठाहरुको व्यवस्था रहेका हमालले बताए । उनका अनुसार अहिले होटलको ७५ प्रतिशत निर्माण कार्य सकिएको छ । करिब आठ रोपनी क्षेत्रफलमा छ तलाको भवन निर्माण भइरहेको छ । होटेल आगामी भदौदेखि औपचारिकरुपमा सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ । होटेलमा पार्किङ र लिफ्ट सुविधासँगै १५० जना क्षमताको सेमिनार हल, मसाज, क्याफे र लोकलमार्टसमेत सञ्चालनमा आउनेछन् । होटेल सञ्चालनमा आएसँगै पहिलो चरणमा ४० जनाले नियमित रोजगार पाउने सञ्चालक हमालले जानकारी दिए । रु २२ करोड लागत अनुमान गरिएको भए पनि कोरोना महामारीका कारण सामानमा भएको अभाव, निर्माण कार्यमा भएको प्रभाव र सामान ढुवानीमा भएको असुविधाले लागत बढ्ने भएको हमालले जानकारी दिए । “क्षमताको हिसाबले धौलागिरि क्षेत्रकै ठूलो हुन्छ, सुविधामा समेत स्टार होटेलका सुविधा उपलब्ध गराउँछौँ, सुविधायुक्त होटेलले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सघाउने अपेक्षा गरेको छु,” उनले भने । पोखरादेखि कुस्मा, बेनी हुँदै हिमालपारिको जिल्ला मुस्ताङ जाने एकमात्रै सडक बेनी–जोमसोम–कोरला सडकमा पर्ने भएकाले होटेल सञ्चालनमा आएपछि यस सडकखण्ड हुँदै आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको बसाइँ लम्ब्याउन टेवा पु¥याउने अपेक्षा गरिएको स्थानीय पर्यटन व्यवसायीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य आत्मा तुलाचनले बताए । तातोपानीमा अहिले ठूला सात र साना १५ होटेलमा ४०० जनासम्म पर्यटकहरु बस्न सक्ने क्षमताका होटेलहरु छन् । अन्नपूर्ण राउन्ड पदमार्ग र मुस्ताङ जाने एक मात्रै बेनी–जोमसोम सडकखण्डले समेटिएको ठाउँ भएकाले तातोपानीमा सञ्चालनमा आउन लागेको यस होटेलले पर्यटकहरुलाई आरामदायी बसोबासको प्रबन्ध मिलाउन र पर्यटन प्रवद्र्धनमा सघाउने स्थानीयवासीको भनाइ छ । सात करोडको लगानीमा गलेश्वरमा बन्यो होटल ‘ताज महल’ आन्तरिक तथा बाह्य पर्यटकहरुको चाप बढ्दै गएपछि मुस्ताङको प्रवेशद्वार मानिने पर्यटकीय जिल्ला म्याग्दीमा करोडौँको लगानीमा स्तरीय होटेल सञ्चालन हुने क्रम बढ्दै गएको छ । यसै क्रममा हालसालै म्याग्दीको गलेश्वरमा सात करोड रुपैयाँ लगानी गरी २५ वर्षअघि कामको खोजीमा काभ्रेको धुलिखेलबाट म्याग्दी आएका टङ्कलाल श्रेष्ठले पर्यटक लक्षितस्तरीय होटेल ‘ताज महल’ सञ्चालन गरेका छन् । बेनी–जोमसोम सडकअन्तर्गत गलेश्वर मुस्ताङ र म्याग्दी आउने पर्यटकलाई लक्षित गरेर होटेल ताजमहल लज एन्ड रेष्टुरेन्ट सञ्चालनमा ल्याएको श्रेष्ठले बताए । चालिस वर्षीय श्रेष्ठले मिहिनेतको कमाई र सीपलाई होटेल क्षेत्रमा अघि बढाएका हुन् । गलेश्वरमा जग्गासहित करिब सात करोड लगानीमा १३ आना क्षेत्रफलमा पार्किङसहितको होटेल स्थापना गरेका छन् । सुविधा सम्पन्न होटेलमा सयजना पाहुनाहरु बस्न सक्छन्, सुविधाअनुसारको एक हजारदेखि तीन हजारमा रुपैयाँसम्मको ३६ वटा कोठा छन् । चारवटा कोठामा बाथटप, सबै कोठामा तातोपानी, स्नान र इन्टरनेट सुविधासहितको पूर्वाधार रहेकोे होटेलमा मौलिक थकाली, इन्डियन, नेपाली खाजा र खानाको परिकारसहितको सेवाहरु रहेको सञ्चालक श्रेष्ठले बताए । म्याग्दी मुस्ताङ आउने पर्यटकलााई विगत होटेल सुविधा नहँुदा बागलुङ, कुश्मा, पोखरा पठाउनुपर्ने अवस्थाको अनुभवको कारण कोभिडको महामारी बीचमा भविष्यलाई दृष्टिगत गरेर ठूलो लगानीमा होटेल निर्माण गरेको बताए । होटेलमा काम गर्दाको अनुभव र कमाई प्रयोग गरेर होटेल सुरु गरेको श्रेष्ठले भने । पछिल्लो समय म्याग्दीमा स्तरीय होटेल निर्माणको क्रम बढ्दै गएपछि पर्यटकहरुलाई निकै सुविधा पुगेको छ । कोरोनाका कारण विगत दुई वर्षदेखि होटेल व्यवसाय फस्टाउन नसके पनि भविष्यलाई लक्षित गरेर यहाँस्तरीय होटेल धमाधम निर्माण भइरहेका छन् । म्याग्दीमा होटेल र रेष्टुरेन्टको क्षेत्रमा मात्रै पाँच अर्बभन्दा बढी लगानी रहेको बताइएको छ ।