सोसल मिडिया
Contact Us
युनिकोड
दमौली । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको प्याकेज–२ अन्तर्गतको निर्माण कम्पनी सिनो हाइड्रो कर्पाेरेशन र मजदुरबीच भएको विवाद समाधान भएको छ । सिनो हाइड्रो र नेपाली मजदुरबीच शुक्रबारदेखि विवाद हुँदा मजदुर आन्दोलनमा उत्रिएपछि दुई दिनदेखि काम अवरुद्ध भएको थियो । शुक्रबार राति विद्युत्गृहमा चालक पुष्कर थापाले स्काभेटर सफा गर्ने क्रममा पानी उछिट्टिँदा चिनियाँ नागरिक भिजेपछि त्यसको प्रतिशोधमा चिनियाँ व्यक्तिले ढुङ्गा प्रहार गरेका थिए । ढङ्गा प्रहारबाट स्काभेटरको सिसा फुटेपछि सिनो हाइड्रो र मजदुरबीच विवाद हुँदा मजदुर आन्दोलनमा उत्रिएका थिए । आइतबार सिनो र मजदुरबीच भएको छलफलपछि विवाद समाधान भएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिए । उनका अनुसार स्काभेटरमा ढुङगा प्रहार गर्ने व्यक्तिलाई कारवाही गर्ने, मजदुरको मागबमोजिम जिल्ला दररेट समितिले निर्धारण गरेको पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको छ । ‘मजदुरहरुले राखेका अन्य माग पनि क्रमिकरूपमा पूरा गर्दै जाने सिनो र मजदुरबीच सहमति भएको छ’, घिमिरेले भने, ‘उक्त सहमतिसँगै सोमबारदेखि मजदुर काममा फर्कन सहमत भएका छन् ।’ आयोजनाको प्याकेज–१ का लागि निर्माण कम्पनीसँग पनि सम्झौताको तयारी गरिएको छ । पहिलो प्याकेजअन्तर्गतका कामका लागि तीन वटा कम्पनीको बोलपत्र परेकामा एशियाली विकास बैंकले सोङ्दा भियतनाम÷कालिका जेभीलाई छनोटको स्वीकृति दिएपछि उक्त कम्पनीसँग सम्झौताको तयारी गरिएको आयोजनाले जनाएको छ । पहिलो प्याकेजअन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बाे इण्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ । कम्पनीले यसअघि पहिलो प्याकेजका लागि सिएमसीसँग ठेक्का रद्द गरेर पुनः बोलपत्र आह्वान गरेको थियो । प्याकेज–२ अन्तर्गत सिनो हाइड्रो कर्पाेरेशन लिमिटेडले काम गरिरहेको छ । प्याकेज–२ अन्तर्गत सिनोले सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । त्यस्तै प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि तीन करोड रुपैयाँ खर्च भएको छ । प्रसारण लाइन निर्माणका लागि भारतको केइसी इन्टरनेशनल लिमिटेडले ठेक्का पाएको छ । आयोजनाले प्रसारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले त्यसको प्रक्रियालाई समेत अगाडि बढाइसकेको छ । टावर राख्नका लागि ५३ व्यक्तिको जग्गा अधिग्रहण गर्नुपर्नेछ । आयोजनाको प्रसारण लाइन निर्माणका क्रममा टावर राख्नका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिनेछ भने तार तान्नका लागि २१ हेक्टर क्षेत्रफललाई क्षतिपूर्ति दिइनेछ ।–रासस