पाकिस्तानमा ३३ कोभिड सङ्क्रमितको मृत्यु 

आइतबार, फागुन ८, २०७८

इस्लामाबाद (पाकिस्तान), ८ फागुन । पाकिस्तानले गत २४ घण्टामा एक हजार ६४४ जनामा कोभिडको नयाँ सङ्क्रमण पुष्टि भएको र कोभिड सङ्क्रमित ३३ व्यक्तिको मृत्यु भएको सरकारी कार्यालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ ।  यससँगै पाकिस्तानमा कोभिडजन्य समस्या देखिएका ३० हजार नौ जनाको मृत्यु भएको पुष्टि भएको छ । ‘नेशनल कमान्ड एन्ड अपरेसन सेन्टर (एनसीओसी)’ द्वारा सार्वजनिक गरिएको तथ्याङ्कले महामारी सुरु भएदेखि आइतबारसम्ममा पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या १५ लाखभन्दा बढी पुगेको देखाएको जियो न्युजले उल्लेख गरेको छ । गत २४ घण्टामा यहाँ ४९ हजार ८६६ व्यक्तिको कोभिड परीक्षण गरिएको थियो । जसमध्ये एक हजार ६४४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पाकिस्तानमा सङ्क्रमण दर ३.२९ प्रतिशत रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ । 
यद्यपि सङ्क्रमण दर शुक्रबारभन्दा घटेको छ । शुक्रबार सङ्क्रमण दर ४.९२ प्रतिशत रहेको बताइएको थियो । 
एनसीओसीको तथ्याङ्कअनुसार गत २४ घण्टामा कोभिड सङ्क्रमित तीन हजार ६५३ जनालाई सङ्क्रमण निको भएको छ । पाकिस्तानमा कोभिडबाट सक्रिय सङ्क्रमित हुनेको सङ्ख्या ६७ हजार ६५८ पुगेको छ । तथापि, एक हजार ३८६ बिरामीहरूलाई अझै पनि गम्भीर उपचार केन्द्रमा उपचार गरिंँदैछ । विशेष गरी पाकिस्तान हाल कोरोनाभाइरसको घातक पाँचौँ लहरको बीचमा छ र यहाँ हरेक दिन हजारौँ नयाँ सङ्क्रमित भइरहेका रिपोर्टहरूमा जनाइएको छ ।–रासस/एएनआई

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  २१:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार