सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । आर्थिक अभावका कारण अमेरिकामै थन्किने अवस्थामा पुगेको वासुदेव कमलाजा (लक्ष्मी–नारायण) मूर्तिलाई स्वदेश ल्याउन ललितपुर महानगरपालिकाले तत्परता देखाएको छ । ललितपुर महानगर उक्त मूर्ति नेपाल ल्याउन लाग्ने सबै खर्च बेहोर्न तत्पर भएको हो । अमेरिकको टेक्सास राज्यस्थित डल्लास म्युजियमअफ आर्टमा गतवर्ष मंसिरमा भेटिएको यो मूर्ति सन् १९८४ मा पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट हराएको थियो । ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले यो मूर्ति महानगरको पुरातात्विक सम्पदा भएको बताउँदै आर्थिक अभावमा विदेशी भूमिमै अड्कने अवस्था आउन नदिने बताए । उनले शब्दपाटीसँग भने, ‘३६ वर्ष अघि हाम्रो सहरबाट हराएर भेटिएको हाम्रो सम्पदा विदेशी भूमिका अड्कने अवस्था आउने छैन ।’ नगरप्रमुख महर्जनले मूर्ति ल्याउनका लागि आर्थिक स्रोत व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले उक्त मूर्ति नेपाल ल्याएपछि क्षमापूजा गरेर बजागाजासहित यथास्थानमा राखिने पनि बताए । उनले भने, ‘नेपाल ल्याएपछि उक्त मूर्तिलाई अन्य म्युजियममा राख्नुको अर्थ हुँदैन, यथास्थानमै राख्नुपर्छ ।’ सम्पदा र संस्कृति राष्ट्रको पहिचान भएको बताउँदै यो व्यक्तिको भावनासँग जोडिएको तर्क उनले गरे । उनले भने, ‘आफ्नो ठाउँमा भएको, दिनहुँ पूजा गरिरहेको मूर्ति फेला पर्दा, जहाँबाट हराएको हो त्यही राख्नुपर्छ ।’ उक्त मूर्ति नेपाल ल्याउन आवश्यक पर्ने आर्थिक व्ययभार डल्लास म्युजियम वा एफबीआइले नबेहोर्ने, आवश्यक खर्च नेपाली दूतावास वा नेपाल सरकारले उपलब्ध नगराउने भएपछि मूर्ति दूतावासमा नै थन्किने स्थिति बनेको हो । उक्त म्युजियमले अमेरिकी प्रहरीको निकाय फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआइ) मार्फत यसै साता वासिङटनस्थित नेपाली दूतावासमा बुझाउन लागेको छ । म्युजियमले भने गत नोभेम्बर ३० मै यो मूर्ति एफबीआई हस्तान्तरण गरिसकेको थियो । यस्ता सम्पदा संरक्षण र सुरक्षाको प्रमुख दायित्व स्थानीय सरकारको भएको बताउँदै संघीय सरकारको सहयोग अपरिहार्य भएको धारणा प्रमुख महर्जनको छ । नगर प्रमुख महर्जनले तत्काल परराष्ट्र मन्त्रालयसँग छलफल गरेर मूर्ति फिर्ता ल्याउन प्रक्रिया अघि बढाउने बताए । उनले भने, ‘परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायसँग छलफल गरेर जतिसक्दो छिटो यो प्रक्रिया अघि बढाउँछु ।’ वासुदेव कमलाजा मूर्ति रहेको ललितपुरको वडा नं १६ का अध्यक्ष निर्मल रत्न शाक्यले फिर्ता ल्याएपछि मूर्तिलाई पुरानै ठाउँमा सुरक्षा दिएर राख्ने प्रतिबद्धता जनाए । १२ औं शताब्दीमा सिर्जना भएको मानिने यो एउटै मूर्तिमा देब्रेतर्फ विष्णु ( नारायण) र दायाँपट्टि अर्धलक्ष्मीको आकृति छ । पुरातत्व अन्वेषक लैनसिंह वाङदेलको कृति स्टोलन इमेजेज अफ नेपालमा समेत वासुदेव–कमलाजामूर्ति चोरिएको बारेको प्रमाणिकता उल्लेख छ । वासुदेव–कमलाजामूर्ति घर फर्काउन आवश्यक सहमति जुटाउन ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले आइतबार नगरपालिकामा वडाअध्यक्ष, सम्पदाविद्, अभियन्ता सहितको बैठक राखेका थिए ।