सोसल मिडिया
Contact Us
युनिकोड
लन्डन । विश्वका प्रमुख तेल उत्पादक मुलुकको संगठन ओपेकका सदस्य राष्ट्रबीच तेल उत्पादनका सम्बन्धमा पुनःविचार गर्नेगरी अर्को साता बैठक हुनैलाग्दा तेल उत्पादक मुलुकबीच पुरानै विवादले तनाबको अवस्था सिर्जना हुनलागेको विज्ञले बताएका छन् । संयुक्तराज्य अमेरिकापछि विश्वमा सर्वाधिक तेल उत्पादक राष्ट्रहरु रसिया र साउदी अरेबियाबीच विगतमा पनि उत्पादनको विषयलाई लिएर विवाद हुने गरेको थियो । कोरोनाभाइरसका कारण कच्चा तेलको मूल्यमा गिरावट आएसँगै प्रमुख तेल उत्पादक राष्ट्रले उत्पादनमा व्यापक कटौती गरेर बजार मूल्यलाई स्थिर राखेका थिए । अहिले विश्व बजारमा तेलको मूल्य कोरोनाभाइरस सङ्क्रमण देखिनुअघिकै अवस्थामा आइपुगेको छ । अर्थात् बजारमा अहिले कच्चा तेलको मूल्य प्रतिब्यारेल ६५ डलरको हाराहारीमा पुगेको छ । त्यसैले आगामी साता दुई प्रमुख तेल उत्पादक राष्ट्रहरु र अरु साझेदार मुलुकले आगामी कदमका बारेमा छलफल गर्न लागेका हुन् । उनीहरुबीच विश्व बजारमा कति कच्चा तेल पठाउने भन्ने विषय नै वार्ताको प्रमुख विषय बन्न लागेको छ । बिहीबार आयोजना हुने उक्त मन्त्रीस्तरीय बैठकमा तेल उत्पादनको कोटाका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । ‘वार्तामा प्राथमिकताका विषय स्पष्टै छन्ः रसियाले जतिसक्दो चाँडो तेल उत्पादनलाई विगतकै स्वरुपमा उत्पादन गर्न चाहन्छ भने साउदी अरेबियाले उच्च मूल्यमै केही समय तेल बेच्ने चाहना राखिरहेको छ’, सेब संस्थाका प्रमुख विशेषज्ञ बार्ने सिल्ड्रपले बताए । कच्चा तेलको मूल्यको विश्व बजारमा माग बढी रहेको अवस्थामा ओपेकले आफ्नो उत्पादन कटौतीले ‘कृत्रिम अभाव’ सिर्जना गर्न सघाउने र त्यसबाट मूल्यवृद्धि यथावत राख्न मद्दत गर्नेछ, स्टिफेन इन्सले बताए । गत जनवरीमा आयोजित दुई दिनको मध्यस्थतापछि ओपेकका २३ सदस्य विश्व बजारमा तेलको आपूर्तिलाई केही सहज तुल्याउन सहमत भएका थिए । खोप अभियानको निरन्तरता र विश्वकै सर्वाधिक ठूलो तेल आयातकर्ता चीनमा माग बढेसँगै तेलको मूल्य पूर्व सङ्क्रमण अवस्थामा पुगिसकेको छ । ओपेकमा निकै प्रभाव सिर्जना गर्ने साउदी अरेबियाले हालैका दिनमा उत्पादनमा थप कटौती गर्ने मनशाय व्यक्त गरेको छ । रियादले हालैमात्र प्रतिदिन १० लाख ब्यारेलले उत्पादन कटौती गर्ने निर्णय गरेको छ जबकी रसिया र कजाखस्तानले कच्चा तेलको उत्पादन केही बढाएका छन् । ओपेकका सदस्य राष्ट्रबीच तेल उत्पादनको कोटालाई लिएर विगतदेखि नै विवाद हुने गरेको छ । यसपटक पनि यस मुद्दाले प्रमुखता पाउने विज्ञको भनाइ छ । इरान, भेनेजुएला र लिबियालाई ओपेकको कोटाबाट अलग्ग राखिएको छ । इराक र नाइजेरियासमेतका अन्य कतिपय मुलुकले भने तोकिएको कोटाभन्दा बढी तेल उत्पादन गरिरहेका छन् । ओपेकका सदस्य राष्ट्रले अमेरिकी राष्ट्रपति जो बाइडनले इरानमाथि लागेका प्रतिबन्ध हटाउने सम्भावनाका बारेमा पनि विचारविमर्श गरिरहेका छन् । यदि इरानमाथिको प्रतिबन्ध हटेमा इरान विश्व बजारमा पुनःप्रवेश गर्ने र आपूर्तिमा नाटकीयरुपमा वृद्धि हुनेछ । बुधबार, नयाँ कोटा निर्धारण गर्नुअघि बस्ने मन्त्रीस्तरीय बैठकले बजारको बर्तमान अवस्थाको मूल्याङ्कन गर्नेछन् ।-एएफपी