सोसल मिडिया
Contact Us
युनिकोड
नयाँदिल्ली, १३ फागुन । दिल्ली सरकारले कोभिड–१९ सँग सम्बन्धित सबै नियन्त्रणका लागि अपनाइएका प्रायःप्रतिबन्धको अन्त्य गर्ने घोषणा गरेको छ । कोभिड–१९ सङ्क्रमण दरमा कमी आएपछि दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले उक्त निर्णय लिएको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले उक्त निर्णयबारे सामाजिक सञ्जालमार्फत् कोभिड नियन्त्रणका लागि सामाजिक दूरी कायमलगायतका प्रायःसबै प्रतिबन्धलाई हटाइएको बताए । उनले भनेका छन्, “प्रतिबन्धले नागरिकले रोजगारी गुमाउनुपरेको र यसका कारण कठिन दैनिकीको सामना गरिरहेका छन् । स्थिति सुध्रिएसँगै डीडीएमएले सबै प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।’’ अप्रिल १ देखि दिल्लीमा सबै विद्यालयले विद्यालयमा भौतिकरूपमा उपस्थित भएर अध्ययन गर्नसक्ने उनले बताए । मास्क नलगाएकोमा जरिवाना गर्ने निर्णयलाई पनि बिस्तारै हटाउने तयारी गरेको बताइएको छ । मुख्यमन्त्री केजरीवालले भने, “डीडीएमएले मास्क नलगाउँनेलाई गरिने जरिवानालाई पनि घटाएर ५०० रुपैयाँ मा सिमित गरेको छ ।” “सबैले कोभिड–१९ वृद्धि नियन्त्रणका लागि स्वतस्फूर्त उचित व्यवहारलाई निरन्तरता दिनुपर्ने छ । सरकारले अवस्थाबारे कडा निगरानी राख्नेछ” उनले भने । दिल्लीमा रातिको निषेधाज्ञा सोमबारबाट अन्त्य हुने बताइएको छ । राती घर जाने समय बितेपछि पसल, रेस्टुराँ र व्यापारिक प्रतिष्ठान राती अबेरसम्म खुला रहन सक्नेछन् । कोभिडजन्य सङ्क्रमणमा कमीपछि भारतको सङ्घीय सरकारले राज्यलाई सामाजिक, खेलकुद, मनोरञ्जन, शैक्षिक र धार्मिक कार्यक्रमका लागि कोभिड–१९ नियन्त्रणसम्बन्धी नियमलाई अन्त्य गर्ने विचार गर्न आग्रह गरेको थियो । साथै उनीहरूको क्षेत्रमा स्थितिअनुसार रातको निषेधाज्ञा घन्टा पनि विचार गर्न आग्रह गरेको थियो । बिहीबार दिल्लीमा ५५६ नयाँ कोभिड–१९ सङ्क्रमित भेटिएको रत्यससँग सम्बन्धित छको मृत्यु भएको थियो । सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान सार्वजनिक तथ्याङ्कमा देशभर पछिल्लो २४ घण्टामा १३ हजार १६६ नयाँ सङ्क्रमित भेटिएको र ३०२ सङ्क्रमितको मृत्यु भएको जनाएको छ ।–रासस/सिन्ह्वा