कर्णाली प्रदेशसभा सदस्यलाई अभिमुखीकरण

शनिबार, फागुन १४, २०७८

काठमाडौँ, १४ फागुन । सङ्कटको समयमा जोखिम सञ्चार, जनप्रतिनिधिले खेल्नुपर्ने भूमिका, प्रभावकारी सञ्चार गर्दा अपनाउनुपर्ने सतर्कता र असल अभ्यासका बारेमा कर्णाली प्रदेशसभाका सदस्यलाई अभिमुखीकरण गराइएको छ ।  राष्ट्रियसभाको संयोजकत्व, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना, नेपालस्थित विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा भएको सो कार्यक्रममार्फत खोप लिने क्रम बढाउनु, स्वास्थ्य तथा सामाजिक उपायको पालनाका सम्बन्धमा सहभागिता बढाउनु, सम्बन्धित निर्वाचन क्षेत्रमा स्वास्थ्य आपत्कालीन अवस्थामा सही तथा वैज्ञानिक जानकारी र विधि प्रसार गरिएको थियो ।  कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अधिकारी तथा विश्व स्वास्थ्य सङ्गठनका विशेषज्ञले मानसिक स्वास्थ्य, जेष्ठ नागरिकको स्वास्थ्य सन्दर्भ र जनस्वास्थ्य तथा सामाजिक उपायसम्बन्धी वैज्ञानिक विषय, कोभिड–१९ विरुद्धको खोप रणनीति र हालै जारी गरिएको जोखिम सञ्चार तथा सामुदायिक सहभागितासम्बन्धी निर्देशिकाको बारेमा कार्यपत्र प्रस्तुत भएका थिए । 
कार्यक्रममा विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यालयका प्रमुख डा राजेश सम्भाजीराव पाण्डवले संसारभर र नेपालमा नसर्ने रोग, मानसिक स्वास्थ्य, जेष्ठ नागरिकको स्वास्थ्यको अवस्था, कोभिड–१९ महामारीले पारेको प्रभाव र रोकथाम तथा नियन्त्रणका उपायका बारेमा प्रस्तुति दिएको थियो । विश्व स्वास्थ्य सङ्गठन नेपालस्थित कार्यालयका आपत्कालीन कार्यक्रम प्रमुख डा आलिसन गोकोटानोले कोभिड–१९ महामारीको सन्दर्भमा जनस्वास्थ्य मापदण्डसँग सम्बन्धित विज्ञानका विषयमा प्रस्तुति दिएका थिए ।
डब्लुएचओ नेपाल कार्यालयका खोप कार्यक्रमका प्रमुख डा विनोद बुराले कोभिड–१९ विरुद्धको खोप अभियानलाई राष्ट्रव्यापी बनाउनमा जनप्रतिनिधिको भूमिकाको महत्वबारे जानकारी गराएका थिए । स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा विवेक कुमार लालले कोभिड–१९ विरुद्धको खोप कार्यक्रमका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रणनीतिका बारेमा प्रस्तुति गरेका थिए । । उनले कोभिड–१९ विरुद्धको खोपबारे दुविधामा रहेको समुदायलाई यसको महत्वबारे बुझाउन सबैको भूमिका रहेको र स्वास्थ्यकर्मी समुदायमै पुगी खोप लगाउने अभियानमा जुट्नुपर्ने बताए ।    
स्वास्थ्य मन्त्रालयको स्वास्थ्य शिक्षा प्रशासक डा राधिका थपलियाले जोखिम सञ्चार र सामुदयिकका सहभागिताका विभिन्न पक्ष, सिद्धान्त र उपयाका बारेमा जानकारी गराउँदै सोको महत्व र असल अभ्यासबारे जानकारी गराएकी थिइन् । 
राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शीला श्रेष्ठले नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालै सार्वजनिक गरेको जोखिम सञ्चार तथा सामुदायिक सहभागिता निर्देशिका, संयन्त्रको स्थापना र निर्देशिकाले जनप्रतिनिधिलाई कोभिड–१९लगायत सङ्कटको अवस्थामा सामुदायिक सहभागिताको संयन्त्रलाई थप सबल बनाउने प्रबन्ध उपलब्ध गराएको बताएका थिए ।    
कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, कर्णाली प्रदेशसभाका सभामुख, उपसभामुखज्यूलगायत कर्णाली प्रदेशसभाका सदस्यज्यू, कर्णाली प्रदेशसभाका सचिव, कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ अधिकारीको उपस्थिति थियो । कार्यक्रमको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरेका थिए । 

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  ०६:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार