२१५ आयोजनाबाट पीपीएका लागि आवेदन

तत्काल विद्युत् खरिद बिक्री प्रक्रिया खुलाउन इपानको माग
मंगलबार, फागुन १७, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ, १७ फागुन ।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) को प्रक्रिया तत्काल अगाडि बढाउन नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको छ । 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाउँदै इपानले विगत तीन वर्षदेखि पीपीए नगर्दा ऊर्जा उद्यमीले आयोजनाको पहिचान र विकासका लागि गरेको अर्बौं लगानी जोखिममा परेको गुनासो गरेका छन् । उनीहरूले तत्काल पीपीए खुला गर्न माग गरेका छन् । इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले पीपीए नहुँदा ऊर्जा उद्यमीले भोग्नुपरेका समस्याको बारेमा जानकारी गराउँदै समस्या समाधानका लागि आग्रह गरे ।
ज्ञापनपत्र बुझ्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आफू उद्यमीको मागप्रति सकारात्मक र संवेदनशील  रहेको बताए । प्राधिकरणमा नौ हजार मेगावाटभन्दा बढी क्षमताका २१५ वटा आयोजनाहरूले सबै प्रक्रिया र मापदण्ड पूरा गरेर पीपीएका लागि आवेदन दिएका छन् । 
ती आयोजनाको पीपीए नहँुदा व्यवसायीले तीन वर्षदेखि सर्वेक्षण अनुमतिपत्रको वार्षिक नवीकरण दस्तुर तिर्नु परिरहेको छ भने उत्पादन अनुमतिपत्र लिएकाले वार्षिक आय गुमाइरहेका छन् । यसबाट व्यवसायीलाई ठूलो आर्थिक भार पर्न गएको छ । यस्तो अवस्थाले एकातिर समग्र आयोजनाको लागत उच्च हुने र अर्कोतिर निर्धारित समयमा आयोजना सम्पन्न हुन नसक्दा नेपाल सरकारले लिएको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको राष्ट्रिय लक्ष्यमा गम्भीर प्रभाव परिरहेको इपानको धारणा छ । नेपाल सरकारको ठूलो प्रयत्नबाट निजी क्षेत्र ऊर्जा क्षेत्रमा लगानी गर्न आएकामा विस्थापित हुने खतरा बढेको छ ।
प्राधिकरणले हिउँदमा अर्बाैंको विद्युत् आयात गरिरहेको तथ्यलाई बेवास्ता गरेर वर्षायाममा थोरै विद्युत् खेर गयो भन्ने बहानामा पीपीए बन्द गर्न नहुने इपानको धारणा छ । अहिले पीपीए गरिएका आयोजनाबाट कम्तीमा पाँच वर्षपछिबाट मात्र विद्युत् उत्पादन गर्न सकिने यथार्थलाई प्राधिकरणले भुल्न नहुने उनीहरूको भनाइ छ । 
अहिलेसम्म निजी क्षेत्रले ऊर्जा उत्पादनका आयोजनाको पहिचान, अध्ययन, विकासका लागि करिब रु १० खर्ब लगानी गरिसकेको छ भने आगामी सात वर्षमा थप रु १७ खर्बभन्दा बढी लगानी गर्ने छ । तर प्राधिकरणको यस्तो अकर्मण्यताले निजी क्षेत्रका प्रवद्र्धकहरू निराश र अन्योलमा पर्न थालेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  ०६:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार