गृहमन्त्रीसँग अमेरिकी राजदूतले भने, 'व्याख्यात्मक घोषणामा आफूहरुले पहिल्यैदेखि भन्दै आएका विषय'

बुधबार, फागुन १८, २०७८

काठमाडौं, १८ फागुन : नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले एमसीसीबारे नेपाल सरकार र प्रतिनिधिसभाको व्याख्यात्मक घोषणामा आफूहरुले पहिल्यैदेखि भन्दै आएका विषय समेटिएको बताएका छन् । गृह मन्त्रालयमा बुधबार गृहमन्त्री बालकृष्ण खाणसँगको भेटमा राजदूत बेरीले आफूहरुले पहिला देखि भन्दै आएको विषयमा घोषणामा समेटिएको बताएका हुन् । 

‘एमसीसीबारे सरकार र प्रतिनिधि सभाको व्याख्यात्मक घोषणाबारे हामी पहिल्यैदेखि जानकार थियौं। व्याख्यात्मक घोषणामा हामीले भन्दै आएका विषय समेटिएका छन्,’ राजदूत बेरीले भने ।  एमसीसी निर्णयार्थ प्रस्तुत हुने बेलामा नेपाल सरकारले अमेरिकन राजदूतावास र अन्य अमेरिकी सहयोग निकायलाई प्रदान गरेको सुरक्षा व्यवस्थाका लागि राजदूत बेरीले धन्यवाद दिए। उनले नेपालको विकास, समृद्धि र शान्तिमा अमेरिका सधै साथमा रहने विश्वास व्यक्त गरे । 

भेटमा अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी पास हुन सकेको बताए। एमसीसी पास गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंगलबार धन्यवाद दिएको राजदूत बेरीले प्रष्ट पारे ।  

गृहमन्त्री खाणले नेपाल र अमेरिकाबीच अहिलेसम्म रहँदै आएको सम्बन्ध अझै गाढा र सदभावपूर्ण रहोस् भन्नेमा नेपाल सरकार रहेको बताए। भेटमा उनले एमसीसी पास गर्न राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगका लागि धन्यवाद दिएका थिए । 

गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन सत्तामा हुँदा मात्र नभइ प्रतिपक्षीमा हुँदा पनि दृढ र स्पष्ट विचार राख्दै आएको बताए ।

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  २०:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार