महानगरले ठाउँ नतोकेपछि खुल्लामञ्चमै खाना बाँडियो

मंगलबार, मंसिर २, २०७७

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आज (मंसिर २ गते) देखि खुलामञ्चमा खाना खुवाउन बन्द गर्न भनेपनि हाम्रो टीम नेपालले खाना बाँडेको छ । कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गरी खुलामञ्चमा खाना नखुवाउने भनिएपनि मानिसहरु लामबद्ध भएर बसेपछि खाना खुवाउन बाध्य भएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताए । 
महानगरपालिकाले मंसिर २ गते देखि खुलामञ्चमा भेला गराएर नभई कुनै पनि ठाउँमा व्यवस्थित गरी खाना खुवाउन स्वयंसेवीहरूलाई आग्रह गरेको थियो । सोही अनुसार आजदेखि खुलामञ्चमा खाना नखुवाउने सम्झौता पनि भएको थियो । तर खाना खुवाउनको लागि उचित ठाउँको व्यवस्था गर्न नसकिएकाले फेरि पनि खुलामञ्चमा नै खाना खुवाउन आफूहरु बाध्य भएको पन्तले बताए । आफूहरुले प्याकेटमा खाना वितरण गर्न खोजेको भएपनि मानिसहरु खुलामञ्चमा नै लामबद्ध भएर बसेपछि पुरानै तरिकाले खाना वितरण गर्न बाध्य भएको पनि उनले बताए ।
खाना खान आउने मानिसहरु भने खुलामञ्चमा खाना वितरण गर्ने कार्यलाई महानगरपालिकाले रोक्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले कि काम देऊ होइन भने खान देऊ भन्दै खाना खुवाउने कार्यक्रमलाई नरोक्न माग गरेका छन् । कोरोना महामारीका कारण काम नपाएर भोकै बस्नुपर्ने बाध्यता भएपछि खुलामञ्च आएर निःशुल्क वितरण गरिएको खाना खान बाध्य भएको बताएका छन् । सडकमा बसेर खाना खान आफूहरुको रहर नभइ बाध्यता भएको पनि उनीहरुले बताए । हाम्रो टीम नेपालले गत चैत ११ गते देखि लकडाउन भएपछि खान खान नपाएर समस्यामा परेका व्यक्तिहरुलाई चैत १४ गते देखि खाना खुवाउँदै आएको छ । सुरुमा उपत्यकाका विभिन्न ठाउँमा खाना वितरण गर्दै आएको यो समूहले पछिल्लो समय खुलामञ्चमा निःशुल्क खाना खुवाउने काम गर्दै आएको छ । तर काठमाडौं महानगरपालिकाले अव्यवस्थित रुपमा खाना खुवाउादा संक्रमण फैलने डर भएको भन्दै खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न आग्रह गरेको छ । व्यवस्थित ठाउँमा खाना खुवाउने भए आफूले पनि सक्दो सहायोग गर्ने महानगरपालिकाले बताउँदै आएको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०७७  १४:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार