सोसल मिडिया
Contact Us
युनिकोड
बर्लिन, २१ फागुन । जर्मनीको चीनतर्फको निर्यात १३.७ प्रतिशतले बढेर जनवरीमा ९.७ अर्ब अमेरिकी डलर पुगेको सङ्घीय तथ्याङ्क कार्यालयले शुक्रबार प्रकाशित एक तथ्याङ्कले देखाएको छ । तथ्याङ्क कार्यालयका अनुसार जनवरीमा १३.१ बिलियन युरो मूल्यका आयातित सामानहरूसहित चीन जर्मनीको सबैभन्दा ठूलो विदेशी व्यापार साझेदार बनेको छ । यससँगै जर्मनीबाट चीनका लागि भएको निर्यात १३.७ प्रतिशतले वृद्धि भएको हो । कार्यालयका अनुसार जर्मनीको कूल निर्यात २.८ प्रतिशतले घटेर जनवरीमा ११६.९ अर्ब युरो पुगेको छ भने आयात अघिल्लो महिनाको तुलनामा ४.२ प्रतिशतले घटेर १०७.५ अर्ब युरो बराबर कायम भएको छ । जर्मन निर्यातका लागि संयुक्त राज्य अमेरिका सबैभन्दा ठूलो ग्राहक बजार बनेको छ । जनवरीमा १०.९ अर्ब युरो मूल्यका सामानहरू अमेरिका पैठारी गरिएको थियो । यो गत महिनाको तुलनामा तीन प्रतिशतले वृद्धि हो । युक्रेन द्वन्द्वका कारण अहिलेसम्म नरोकिएको रुसमा जर्मन निर्यात सन् २०२१ को डिसेम्बरदेखि १४.४ प्रतिशतले बढेर २.६ अर्ब युरो बराबर पुगेको छ । युरोपियन युनियन (ईयु) बाट अन्य मुलुकले जनवरीमा ६१.४ अर्ब मूल्य बराबरको जर्मन सामान आयात गरेका थिए । यो अघिल्लो महिनाको तुलनामा ९.६ प्रतिशतले बढी हो ।–रासस/सिन्ह्वा