सुनकोसी–मरिन डाइभर्सन आयोजनाको शिलान्यास 

अब मुलुक पछाडि फर्कदैन : प्रधानमन्त्री ओली 
बिहीबार, फागुन २०, २०७७
मयुर प्लाई
Global Ime Bank

सिन्धुली । प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्धिमा अगाडि बढ्ने भएकाले पछाडि फर्कने स्थिति नरहेको बताएका छन् । 
आज सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिन नदी तटमा सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मुलुक समृद्धिको दिशामा अघि बढेको कुरामा ढुक्क हुन जनतासँग आग्रह गरे । ‘यो आयोजना सम्पन्न भएसँगै एक लाख ८५ हजार बिघा जग्गामा सिँचाइ सुविधा पुग्नेछ, मधेशका फाँट हराभरा हुनेछन्’, उनले भने, ‘आयोजनाले ३१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष लिएको छ ।’ आयोजनाको सफलतासँगै सिन्धुलीसहित मधेशका जिल्लामा किसान नयाँ युगमा प्रवेश गर्ने प्रधानमन्त्रीको भनाइ छ । सरकार दत्तचित्तसाथ समृद्धि अभियानमा लागेको हुँदा अब जनताका दुःखका दिन चाँडै सकिने प्रधानमन्त्री ओलीले उल्लेख गरे । ‘देशले विकासको गति लिई सक्यो, तपार्इंहरू ढुक्क हुनुहोस्’, प्रधानमन्त्री ओलीले जनतालाई आवश्त बनाउँदै भने, ‘अब मुलुक पछाडि फर्कदैन ।’ 
यो आयोजनासँगै सुनकोसी कमला डाइभर्सन आयोजना निर्माणको काम थालिने र त्यसले एकलाख ७० हजार बिघा जमीनमा सिँचाइ सुविधा पु¥याउने प्रधानमन्त्रीको भनाइ थियो । ‘अब प्रदेश–२ हराभरा बगैँचा बन्नेछ’, प्रधानमन्त्रीले भने, ‘मलाई मधेश विरोधी भन्नेहरू यी आयोजनाको सफलताबाट नाजवाफ हुनेछन् ।’  यो आयोजना नहरमात्र नभएर विद्युत् उत्पादन र सिञ्चाई सुविधाले जमीन मुनीको पानीको सतहमाथि ल्याउने भएको हुँदा बहुद्देश्यीय भनिएको प्रधानमन्त्री ओलीको भनाइ छ । आयोजनाले हिमाली नदीको पानीलाई पहाडी नदीसँग जोडेर मधेश झार्ने भएकोले तीनै भूगोलका जनतालाई जोड्ने ओलीले बताए । प्रधानमन्त्री ओलीले कोविड–१९ विरुद्धको लडाइँ नेपालीले जित्दै गएका उल्लेख गर्दै आफ्नै नेतृत्वको सरकारले पूर्वपश्चिम हुलाकी राजमार्गको ६५ प्रतिशत निर्माण कार्य सम्पन्न गरेको बताए । त्यसैगरी मुलुकबाट फुसको छाना विस्थापित गरी जस्ताको छाना लगाउने काम भइरहेको चर्चा गरे । मुलुक अब आधुनिकतातर्फ प्रवेश गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अबको तिहारमा नेपाली विद्युतीय बसमा चढेर यात्रा गर्ने बताए । 
समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले सुनकोशी–मरिन डाइभर्सन आयोजना मुलुकको आर्थिक क्रान्तिको महत्वपूर्ण हिस्सा बन्ने उल्लेख गरे । त्यसैगरी समारोहमा शहरी विकासमन्त्री प्रभु साहले प्रदेश–२ को विकासमा सुनकोशी मरिन र सुनकोशी–कमला डाइभर्सन आयोजना महत्वपूर्ण उपलब्धि हुने उल्लेख गरे । 
समारोहमा प्रदेश–२ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरिएको आयोजना समयमै सम्पन्न गर्न सङ्घीय सरकार र सम्वद्ध पक्षसँग आग्रह गरे ।     समारोहमा आयोजनाका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले कार्य सम्पन्न भएपछिका दिनमा आयोजनाबाट वार्षिक रु १० अर्ब आर्जन हुने बताए । नेपाल सरकारले आफ्नै लगानीमा आयोजना निर्माण गर्ने लक्ष्य लिएको र आव २०८२÷८३ सम्म आयोजना निर्माण गरिसक्ने समय सीमा तय गरिएको महानिर्देशक राजभण्डारीको भनाइ छ । आयोजनाको शिलान्याससँगै प्रदेश–२ का आम किसानमा आफ्ना दिन फिर्ने नयाँ आशा पलाएको छ ।–रासस
 

प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  २२:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार