सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २७ फागुन । तराई मधेशको क्षेत्रमा सबैभन्दा बढी मूल्यवृद्धि भएको पाइएको छ । सुगम र सहज यातायात सञ्जाल, स्रोत तथा साधनको उपलब्धता भएपनि तराईमा मूल्यवृद्धिको मात्रामा वृद्धि भएको पाइएको हो । तराईपछि काठमाडौँ उपत्यका र पहाडी क्षेत्रमा क्रमशः मूल्यवृद्धिको मात्रामा वृद्धि भएको पाइएको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार गत माघ मसान्तसम्म महिनामा काठमाडौँ उपत्यकामा ५.४७ प्रतिशत, तराईमा ६.५० प्रतिशत, पहाडमा ५.३२ प्रतिशत र हिमालमा ५.९७ प्रतिशत मुद्रास्फीति रहेको छ । विवरणअनुसार २०७७ माघमा यी क्षेत्रमा क्रमश ः २.१२ प्रतिशत, २.७८ प्रतिशत, ३.३० प्रतिशत र २.०५ प्रतिशत मुद्रास्फीति रहेको थियो । यस्तै उपभोक्ता मुद्रास्फीतितर्फ माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७० प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति छ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.९६ प्रतिशत छ । यस्तै २०७७ माघ महिनाको तुलनामा २०७८ माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २०.६८ प्रतिशत, १४.०७ प्रतिशत र ९.३६ प्रतिशत रहेको छ । साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र फर्निसिङ्ग तथा घरायसी सामग्री उपसमूहको मुद्रास्फीति क्रमशः १५.८७ प्रतिशत, ७.८६ प्रतिशत र ५.९२ प्रतिशत छ । थोक मुद्रास्फीतितर्फ गत माघ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १०.३४ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१२ प्रतिशत थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १२.०९ प्रतिशत, ९.९२ प्रतिशत र ७.०० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १६.६१ प्रतिशत रहेको छ ।
वृद्धि हुँदै नगदरहित कारोबार
इन्टरनेटको सहज पहुँच तथा नगद बोकेर हिड्नुपर्ने झञ्झट नभएका कारण विद्युतीय भुक्तानी गर्नेको सङ्ख्यामा उल्लेख्य बढोत्तरी भएको छ । दैनिक उपभोग्य वस्तुदेखि हरेक क्षेत्रमा सहजरूपमा विद्युतीय भुक्तानी गर्न सकिने भएपछि कारोबारको मात्रामा वृद्धि भएको हो । सर्वसुलभरूपमा उपलब्ध भएको क्यूआर कोड भुक्तानीका कारण नागरिकको जीवनसमेत सहज भएको छ । नगद नै नभएपनि दैनिक जीवनयापन गर्न सकिने भएकाले पनि विद्युतीय भुक्तानीका विभिन्न उपकरणको वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार गत माघ मसान्तसम्म रु छ अर्ब ८९ करोड २० लाख बराबरको भुक्तानी क्यू आरकोडमार्फत भएको छ । गत पुस मसान्तमा त्यस्तो भुक्तानी रु छ अर्ब ५२ करोड ५० लाख बराबर थियो । त्यस्तै भुक्तानीको सर्वसुलभ माध्यम बनेको कनेक्ट आइपिएसमार्फत गत माघ मसान्तसम्म रु दुई खर्ब ३६ अर्ब ४२ करोड ३० लाख बराबरको कारोबार भएको छ । अघिल्लो महिना भने रु दुई खर्ब ४७ अर्ब ४७ करोड ४० लाख बराबरको कारोबार भएको थियो । यसैगरी वालेटमार्फत गत पुस मसान्तसम्म रु १६ अर्ब २७ करोड ६० लाख बराबरको भुक्तानी भएकामा माघ मसान्तसम्म भने रु १४ अर्ब ५३ करोड ४० लाख बराबरको भुक्तानी भएको छ । विद्युतीय भुक्तानीका लागि कनेक्ट आइपिएस, विभिन्न वालेट सेवा प्रदायक कम्पनी क्रियाशिल छन् । नेपाल राष्ट्र बैंकले पनि नगद रहित कारोबारलाई प्रोत्साहित गरिरहेको छ । विद्युतीय भुक्तानीका लागि आरजीटीएस, आएपीएस, कनेक्ट आइपीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र पीओएसलगायतका सुविधा उपलब्ध छन् ।