ललितपुर महानगर र भीमेश्वर नगरपालिकाबीच भगिनी सम्बन्ध

संस्कृतिक संरक्षणका लागि महत्वपूर्ण
सोमबार, फागुन ३०, २०७८

ललितपुर । ललितपुर महानगरपालिका र दोलखा जिल्लाको भीमेश्वर नगरपालिकाबीच भगिनी सम्बन्ध गाँसिएको छ । 
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले समझदारी पत्रमा हस्ताक्षर गरे । ललितपुरको हरिसिद्धिको १२ वर्षे मेलामा भीमेश्वरबाट नाच देखाउँदै हरिसिद्धि लगिने अध्ययनहरुमा उल्लेख भएको पाइन्छ । यसका साथै यी दुई नगरपालिकाबीच सांस्कृतिक समानता रहेको छ । 
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले यो सम्बन्ध काम भएपछि दुई नगरपालिकाबीचको घनिष्ठताले थप उचाई लिने बताए । उनले भने, ‘अबदेखि हामी मित भयौं, अब दुःख, सुखका साथी हौं ।’ महानगरप्रमुख महर्जनले संस्कृतिक संरक्षण, विकास निर्माणका गतिविधि लगायतका विषयमा भीमेश्वर नगरपालिकासँग अनुभव साट्ने बताए । उनले भीमेश्वर नगरपालिकाको विकासका लागि महानगरले बजेट समेत विनियोजन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले ललितपुर महानगरसँग भगिनी सम्बन्ध कायम गर्न पाउँदा खुशी लागेको बताए । ललितपुर महानगरले सम्पदा संरक्षण, हरियाली प्रवद्र्धन, सहरलाई सफा र सुन्दर राख्न गरेका कामलाई अनुसरण गर्ने बताए । 
उपप्रमुख कमला बस्नेतले ललितपुर महानगरसँग भगिनी सम्बन्ध गाँस्न पाउँदा खुशी लागेको बताइन् । उनले यो सम्बन्धले ललितपुर महानगरले गरेका कामलाई अनुसरण गर्दै अनुभव आदानप्रदान गर्न सजिलो भएको बताइन् । प्रतिनिधिसभा सांसद पार्वत गुरुङले भीमेश्वर नगरपालिकाले ललितपुर महानगरसँग यहाँको धार्मिक र ऐतिहासिक क्षेत्रहरुको विकासका लागि सहकार्य गर्न सक्ने बताए । उनले भने, ‘ललितपुरले यी क्षेत्रमा धेरै काम गरेको छ, त्यो अनुभव भीमेश्वरको लागि नयाँ र महत्वपूर्ण हुन सक्छ । ’
कार्यक्रममा भीमेश्वर नगरपालिकाले प्रकाशित गरेको संघीयता र स्थानीय विकास र जनप्रतिनिधिका पाँच वर्ष नामक पुस्तक सार्वजनिक गरिएको थियो । 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार