सोसल मिडिया
Contact Us
युनिकोड
म्याग्दी, २ चैत । अन्नपूर्ण गाउँपालिका–६ स्थित म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बन्द रहेको पर्यटकीय क्षेत्र खुला भएसँगै नेपाल घुम्न आउने आन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ । विदेशी पर्यटक आउने क्रम बढेसँगै पर्यटकीय क्षेत्र पनि चलायमान हुन थालेका छन् । पर्यटकको सङ्ख्या बढेपछि कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सङ्कटमा परेका होटेल तथा पर्यटन व्यावसायीमा आशा पलाएको छ ।
कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमसँगै विसं २०७७ चैत महिनादेखि घोडेपानी पुनहिल क्षेत्र सुनसान भएको थियो । अघिल्ला दुई वटा वसन्त र शरद ऋतुको याम कोरोना भाइरस सङ्क्रमणले सुनसान बनाएको थियो । घोडेपानी टोल सुधार समितिका अध्यक्ष वीरेन गर्बुजाले दुई वर्षपछि विदेशी पर्यटक आउन थालेका बताए । “वसन्त ऋतुको सुरुवातसँगै घोडेपानी र पुनहिल भ्रमणमा आउने पर्यटकको चहलपहल बढेको छ”, उनले भने “केही दिनयता दैनिक १५ जनाको हाराहारीमा विदेशी र ५० जनाको हाराहारीमा आन्तरिक पर्यटक यहाँ आएका छन् ।” पर्यटक आगमन बढ्न थालेकोमा खुसी लागेको उनको भनाइ छ । रासस