सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर, ५ चैत । दुईसय वर्ष भन्दा पुरानो इतिहास बोकेको समय् फल्चाकोे पुनःनिर्माण सम्पन्न भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुल्चोक टोल सुधार समितिद्वारा आयोजित कार्यक्रमका बीच नवनिर्मित फल्चाको शिलालेखको अनावरण गरे । महानगरप्रमुख महर्जनले समय् फल्चा पुनर्निर्माण गर्दा महाभारत नै खेप्नुपरेको स्मरण गरे । उनले भने, ‘पाँच वर्षमा महानगरमा ७५ वटा पाटी बन्यो, ७४ वटा बनाउँदा सजिलै बन्यो, समय् फल्चा बनाउँदा महाभारत नै भयो । फल्चा बनाउन नदिन आधा दर्जनभन्दा बढी मुद्दा प¥यो ।’ यो फल्चा बनाउँद दुःख भएपनि अन्तत सम्पदाप्रेमीको जित भएको उनको प्रतिक्रिया थियो । फल्चा उद्घाटनको दिनको व्यग्र प्रतिक्षामा सम्पदाप्रेमीहरु रहेको बताउँदै उनले भने, ‘समय् फल्चा बन्न समय नै आउनु पर्ने रहेछ, आज म पनि सबै सम्पदाप्रेमी सरह खुशी छु ।’ फल्चा पुन निर्माण हुन नदिन लालीगुराँस सहकारीले मुद्दा हालेको थियो । मुलुकमा न्याय मरेको छैन भन्ने कुराको यो महत्वपूर्ण उदाहरण भएका महानगर प्रमुख महर्जनको भनाइ थियो । उनले भने, हामीले २०५७ सालमा समय् फल्चा पुनःनिर्माण समिति गठन गरी यसलाई अघि बढाउन लाग्दा विभिन्न अवरोध एवं आरोह खेप्नुप¥यो । २०६५ सालमा यो फल्चा महत्वपूर्ण छ भनेर सर्वोच्च अदालतले निर्णय गरिदिएपछि निर्माण प्रारम्भ गर्न खोज्दा अर्का सातवटा मुद्दा खेप्नुप¥यो । उक्त पार्टी पुनःनिर्माण थाल्दा पुल्चोकको मूल सडक नै अतिक्रमण हुन्छ भन्ने आरोप सहनु परेको बताउँदै प्रमुख महर्जनले आफूले फल्चा नजिकैको पेटीसमेत नछोएको दाबी गरे । महानगरपालिका वडा नं ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले सो पाटी निर्माण सम्पन्न गर्न सक्नु आफूहरुका लागि एक युद्ध जिते सरहको आभास भइरहेको जिकिर गरे । उनले यो युद्धको कमाण्डर महानगर प्रमुख चिरीबाबु महर्जन भएको बताए । उनले भने, “हामी नेवार सोझा भएर २०३८ सालमै दर्ता गर्नुपर्ने फल्चाको काम अघि बढाएनौँ । पछि विभिन्न अवरोध खेप्नुप¥यो तर पनि अहिले सत्यकै जीत भयो ।” समितिका अध्यक्ष सुरेन्द्रकुमार शाक्यले सम्पदाप्रेमीका सहयोग र संरक्षणमा सो फल्चा पुनःनिर्माण सम्पन्न गर्न सफल भएकोमा खुसी व्यक्त गरे । फल्चा पुनःनिर्माण उपभोक्ता समितिका संयोजक रवीन महर्जनले प्राचीनकालदेखि रहेको सो फल्चा पहिलोपटक २०२९ सालमा भत्केको जानकारी गराए । सो फल्चा एक आनाभन्दा बढी जग्गामा महानगरपालिकाले दिएको २९ लाख रुपैयाँमा केही थप गरी निर्माण सम्पन्न गरिएको हो । महानगरपालिका–३ निवासी चिरीमाया महर्जनले उक्त पार्टीमा बसेर नेवार समुदायका मानिसले समय्बजी खाने भएकाले यसलाईसमय् फल्चा वा समय दिने पाटी भनिएको जानकारी दिइन् । पाँच दशकअघि मासिएको, रातो मच्छिन्द्रनाथको जात्रासँग जोडिएको फल्चा फेरि बनेपछि स्थानीयवासी खुसी भएका छन् ।
दुई दशकको लडाइँपछि फल्चा
महानगरपालिकाकाअनुसार अशोक स्तुपसँगैको कित्ता नं.३२७ मा पुनःनिर्माण गर्न खोजिएको समय् फल्चा २०६ वर्ष पुरानो ऐतिहासिक सम्पदा हो । त्यहाँ रहेको शिलालेखबाट पनि यसको पुष्टि हुन्छ । ‘समय् फल्चा पाटी पुनःनिर्माण समिति’ ले २०५७ सालमा पुनःनिर्माणको काम सुरु गर्न खोजेको थियो । पुरातत्व विभागको सिफारिस र जिल्ला प्रशासन कार्यालयको सहमतिका आधारमा ललितपुर उपमहानगरपालिकाले पाटी पुनःनिर्माण गर्न दिने निर्णय गरेको थियो । तर पाटीसँगै जग्गा भएका जग्गाधनी अनिलराज भण्डारीले तत्कालीन पुनरावेदन अदालत, पाटनमा यो निर्णयविरुद्ध मुद्दा दायर गरे । १० भदौ २०६० मा अदालतले भण्डारीको रिट खारेज ग¥यो । भण्डारीे सर्वोच्च अदालत पनि गए । फल्चा निर्माण गर्नु सार्वजनिक सडक ऐन–२०१९, स्थानीय स्वायत्त शासन ऐन, मुलुकी ऐन र काठमाडौं उपत्यका नगर विकास समितिको मापदण्ड २०५० विपरीत भएको उनको जिकिर थियो । तर सर्वोच्च अदालतले १९ साउन २०६५ मा उनको त्यो दाबी स्वीकार गरेन र साबिकको पाटी पुनःनिर्माण गर्दा आपत्ति गर्ने हक निवेदकलाई नभएको निर्णय गरियो । फैसला नआउँदै यो जग्गा लालीलगुराँस सहकारीले खरिद ग¥यो । आफ्नो भवनअघि ‘पार्किङ स्थल’ का रुपमा प्रयोग गर्न पाएको भागलाई खाली राख्न कहिले राजनीतिक लबिङ÷भनसुन तथा कहिले मुद्दा मामिला गरेर फल्चा ब्युँताउने योजनामाथि अवरोध सिर्जना गरिरहयो ।
मुद्दा जिताउने फोटो
विसं २०७४ को चुनावबाट आएका जनप्रतिनिधिले फल्चा पुनःनिर्माणको प्रयास सुरु गरेका हुन् । ललितपुर महानगरपालिकाको नगरसभाले पाटी पुनःनिर्माणका लागि आर्थिक वर्ष २०७५÷०७६ मा बजेट नै विनियोजन ग¥यो । तर लालीगुराँस सहकारीका सेयर होल्डर अमृतकुमार अर्यालले फेरि उच्च अदालत पाटनमा गए । अदालतले भने अन्य पाटीको सीमा रेखासँग समानान्तर हुने गरी समय् फल्चा बन्ने देखिएकाले अन्तिरम आदेश जारी गरिरहनु नपर्ने फैसला ग¥यो । तर लालीगुराँस सहकारीका स्थानीय कर्मचारीसमेत निवेदक भई सर्वोच्च अदालतमा निवेदन प¥यो । उनीहरुको उही माग थियो, पाटी पुनःनिर्माण रोक्का गरी पाऊँ । प्रमुख महर्जनका अनुसार हरेकपटक फल्चा पुनःनिर्माण गर्न रोक्न नहुने निष्कर्षमा अदालत पुग्न एउटा पुरानो फोटो सहयोगी बन्यो । सर्वोच्चले फल्चा बन्ने जग्गा पुल्चोक–जावलाखेल मूल सडकभित्र नपर्ने र पाटी पुनःनिर्माण गर्दा सडक पेटी (पैदल मार्ग) मा असर पर्ने अवस्था नरहेको ठहर ग¥यो । “हामीले अदालतमा सँधै अशोक स्तुप वरपरको सबै भाग देखिने पुरानो तस्वीर देखायौं”, प्रमुख महर्जनले भने, “त्यही फोटोको आधारमा हामीले मुद्दा जित्दै आएका हौं ।” मूल सडक र पैदल मार्ग यथावत कायम रहने गरी सडक मापदण्ड विपरीत नहुने गरी सत्तल (पाटी) निर्माण गर्न लागेको विषयमा उक्त कार्य हुन दिनबाट रोक्ने गरी अन्तरिम आदेश जारी गर्न नमिल्ने गरी नियमानुसार गर्न सर्वोच्चको आदेश आएको थियो । अदालतको फैसलापछि पनि लालीगुराँस सहकारीले फल्चा पुनःनिर्माणमा अवरोध गर्दै आएको थियो । प्रमुख महर्जनका अनुसार गृह मन्त्रालयको निर्देशनानुसार भन्दै जिल्ला प्रशासन कार्यालयले नै फल्चा निर्माण नगर्न निर्देशन दिएको थियो । “हामीले गृह सचिवलाई भेटेर फेरि अशोक स्तुप वरपरको पुरानो फोटो देखायौं । त्यसपछि फेरि निर्देशन फुकुवा भएको थियो”, उनले भने । त्यसपछि जिल्ला अदालतबाट आएको अन्तरकालीन आदेश पनि खारेज भएपछि फल्चा निर्माणका लागि बाटो खुलेको हो । यसपटक पनि महानगरले अदालतमा सोही फोटोसहित विगतको फैसला र निर्णयको प्रतिलिपि पेश गरेको थियो । भविष्यमा फल्चा बन्छ भन्ने थाहा पाउँदा पाउँदै जग्गा किनेर घर बनाइएको महानगरको दावी रहँदै आएको छ ।