पर्यटन प्रवद्र्धनका लागि कञ्चजङ्घादेखि हिल्सासम्मको एकल साइकल यात्रा      

सोमबार, चैत ७, २०७८
मयुर प्लाई


काठमाडौँ, ७ चैत । नेपालको साहसिक पर्यटन प्रर्वद्धनका लागि नेपाली साइक्लिस्ट मङ्गलकुमार लामाले पूर्वको कञ्चनजङ्घादेखि सुदूरपश्चिमको सिमिकोट हिल्सासम्म एकल साइकल यात्रा गर्ने भएका छन् ।साइकल यात्रामा निस्कन लागेका लामालाई आज पर्यटन बोर्डमा आयोजित कार्यक्रमका बीच बिदाई गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रर्वद्धन र जिएचटी अन ह्वीलको आयोजनामा हुन लागेको यो यात्रा एक हजार ७०० किलोमिटर लामो रहेको छ । यात्री लामालाई विभिन्न सङ्घसंस्थाहरूको पनि सहयोग रहेको छ ।
लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अजय शाहले नेपालमा साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै लामाको साइकल यात्राले नेपालको साहसिक पर्यटनमा थप टेवा पुग्ने बताए । उनले साहसिक पर्यटन प्रर्वद्धनका लागि प्रदेश सरकार सधँै सकारात्मक रहेको समेत बताए । यस्तै बोर्डका उपाध्यक्ष चन्द्र रिजालले साहसिक पर्यटन नेपालको पहिचान भएको बताउँदै बोर्डले सीमित स्रोत साधनका बीच काम समग्र पर्यटन प्रवद्र्धनको काम गरेको जानकारी दिए । बोर्डका निर्देशक मणिराज लामिछानेले साहसिक पर्यटन प्रवद्र्धनका लागि बोर्डले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै यो रुटलाई नयाँ प्रडक्टका रूपमा प्रवद्र्धन गर्न र साहसिक पर्यटनमा सहभागीलाई बोर्डले सक्दो सहयोग गर्ने आश्वासन दिए । बोर्डका प्रबन्धक अर्चना केसी राणाले यस प्रकारका कार्यक्रमले नेपाली पर्यटनमा नयाँ आयाम थप्ने बताए ।
साइक्लिस्ट मङ्गलकुमार लामाले आफ्नो पहिचानभन्दा पनि देशको पहिचानको लागि आफूले कठिन र जोखिमपूर्ण यात्रामा निस्कन लागेको बताउँदै यस प्रकारका कार्यक्रममा बोर्डसहित अन्य सरकारी निकायको सहयोग आवश्यक रहेको बताए । 
लामाले चैत्र १८ अर्थात् अप्रिल १ तारिखदेखि कञ्चनजङ्घाबाट साइकल यात्रा सुरु गर्ने र सो यात्रा ६० देखि ७० दिनसम्मको हुने आयोजकले जानकारी दिएको छ । लामा व्यावसायिक माउण्टेन बाइकर हुन् ।–रासस 
 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  ०५:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार