दाङमा तीन लाख ७४ हजारले खाए हात्तीपाइलेको औषधि

बुधबार, चैत ९, २०७८

देउखुरी, ९ चैत । सरकारले हात्तीपाइले रोग प्रभावित जिल्लामा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधि सेवन कार्यक्रमअन्तर्गत दाङमा बुधबारसम्म करिब ५० प्रतिशत नागरिकले औषधि खाएका  छन् । हात्तीपाइले रोग मानिसलाई शारीरिक समस्या गराउने र अशक्त, अपाङ्गता बनाउने एक सरुवा रोग हो । यो सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार अहिलेसम्म तीन लाख ७४ हजार १४४ जनाले औषधि खाएका छन् । जिल्लाका १० वटै पालिकामा आम औषधि सेवन कार्यक्रम जारी छ । यस वर्ष छ लाख ५५ हजार ७६१ जनालाई औषधि खुवाउने स्वास्थ्य कार्यालयले लक्ष्य लिएको थियो ।

हालै घोराही–२ रामपुरमा ३३० जनाको नमूना जाँच गर्दा ११ जनामा र देउखुरीको सिसहनियामा ३१४ जनाको नमूना जाँच गर्दा १५ जनामा हात्तीपाइलेको परजीवी भेटिएको थियो । कार्यालयको आँकडाअनुसार हातखुट्टा सुन्निएका २८९, हाइड्रोसिल भएका एक हजार ६१४ र दुवै भएका १३२ जना हात्तीपाइलेका रोगी रहेका फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

रासस

 

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १२:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार