निर्मल पूर्जालाई चितवनमा सम्मान गरिने

बुधबार, चैत ९, २०७८
मयुर प्लाई

चितवन, ९ चैत.    कृतिमानी हिमाल आरोही निर्मल पूर्जालाई सम्मान गरिने भएको छ । बिहीबार उनलाई यहाँ सम्मान गर्न लागिएको हो । निर्मल पूर्जा स्वागत अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजक समिति भरतपुरले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी पूर्जालाई सम्मान गर्न लागिएको जनाएको हो । 

उनी  गृह जिल्ला आएको समयमा स्वागत तथा सम्मान गर्न लागिएको समितिका अध्यक्ष हरिकुमार गुरुङले बताए  । उनका अनुसार पुर्जाको सम्मानका लागि चैत १० गते दिउँसो १ः३० बजे भरतपुर विमानस्थलमा स्वागत, २ बजेदेखि लायन्स चोकबाट पुलचोक, पोखरा बसपार्क, रामनगर हुँदै नारायणी तिरसम्म अभिनन्दन यात्रा, ३ बजेदेखि सांस्कृतिक कार्यक्रम, ४ बजे नारायणी नदी किनारमा सम्मान र साँझ ६ बजे वृत्तचित्र प्रदर्शन गरिने छ । 

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको आरोहण गर्नुभएका पूर्जाले ती हिमाल आरोहणका लागि छ महिना छ दिन लगाएका  थिए  । नेपालका आठ, पाँच पाकिस्तानका र एउटा चीनको हिमाल आरोहण गरेका  पूर्जा भरतपुर महानगरपालिका–१ रामनगर निवासी हुन  ।  सन् १९८३ मा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा जन्मेका पूर्जा छ वर्षको उमेरदेखि रामनगरमा बस्दै आएका  हुन  । 

सन् २०१२ डिसेम्बरबाट निर्मल पूर्जाले हिमाल चढ्न सुरू गरेका  हुन  । उनले आठ हजार मिटरमाथिका १४ हिमाल आरोहण गरेको कीर्तिमान छ । यो कीर्तिमानी उनले दुई वर्षअघि नै बनाएका  हुन  । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यसअघि त्यस्तो कीर्तिमान कायम गर्ने दक्षिण कोरियाका किम चाङ्–हो  थिए । उनले १४ हिमालको आरोहण सक्न सात वर्ष १० महिना छ दिन लगाएका  थिए  । सन् १९८७ मा कायम गरेको कीर्तिमान उनले ३० वर्षपछि छोटो समयमा सम्पन्न गरेर भङ्ग  थिए  । 

बेलायतको इष्टली बरो काउन्सिलले हिमाल आरोहणमा विश्व कीर्तिमानी कायम गर्ने पूर्वगोर्खा आरोही पूर्जालाई सम्मान गरेको थियो । पूर्जालाई काउन्सिलले ‘फ्रिडम अफ दी बरो’ उपाधिसहित सम्मान गरिएको हो । उनी  नेपाल पर्वतारोहण सङ्घको सद्भावना दूतसमेत रहेका  थिए  । उनी  कीर्तिमानी हिमाल आरोही तथा बेलायती भूतपूर्व गोर्खा सैनिक हुन्  । 

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १३:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार