सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १० चैत । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान सामान्य प्रभावित भएको छ । मौसम खराबीका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलको पूर्वनिर्धारित उडान झण्डै ४५ मिनेट ‘डिले’ भइरहेको सो विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । उनका अनुसार अहिले विमानस्थलको करिब तीन हजारमात्रै भिजिबिलिटी छ । यसका कारण अहिले ‘भिएफआर’ उडान हुनसकेको छैन । विमानस्थलमा ‘आइएफआर’ उडानमात्रै भइरहेकाले अहिले हरेक घण्टा १२ मात्रै उडान भइरहेको छ । सामान्य अवस्थामा प्रतिघण्टा ३० उडान हुने गरेको थियो । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकाको आकाशमा क्षणिक बदली रहेको छ । अहिले देशका पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भेगमा मौसम सामान्यतया सफा रहेको छ । प्रदेश नं १ बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यसअघि बिहान अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि करिब एक घण्टा उडान प्रभावित भएको थियो । विमानस्थलको उडान अवतरण प्रभावित भएपछि नोटाम जारी गरिएको थियो । विमानस्थलका महाप्रबन्धक ठाकुरका अनुसार राडारमा सामान्य समस्या आएकाले करिब एक घण्टा उडान प्रभावित भए पनि विमानस्थलका प्राविधिकले तत्कालै मर्मतपछि अहिले उडान सामान्य अवस्थामा रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ र अन्तर्राष्ट्रियमा अहिले दुई नेपालीसहित २० वायुसेवा प्रदायकले उडान सेवा दिइरहेका छन् ।
मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका उच्च पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न र पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित वर्षाको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरिएको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भू–भागको मौसम अपराह्न तथा साँझापख लगाातार प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझापख पहाडी भू–भागमा हावाहुरी मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने गर्दछ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम १५ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २९ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३५ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।–रासस