सोसल मिडिया
Contact Us
युनिकोड
खुशी र मोहन शनिवार ललितपुर महानगरपालिकाको बगैंचामा भिन्नै खुसी खोजिरहेका थिए । त्यसो त उनीहरुले जीवनमा आइपर्ने खुसी, सुख र दुःख सबै कुरा एक अर्कामा साट्ने कसम खाएका थिए तीनवर्ष अघि । महिला हस्तकला मेलामा दुई चार हजारको व्यापार गर्न सके उनीहरुमा खुसी थपिने निश्चित थियो । खुशी र मोहन दुई दृष्टिविहीन हुन् । गोर्खामा जन्मिएकी खुशी जन्मजात नै दृष्टिविहीन भइन् । उनले यो संसारलाई बाहिरी आँखाले देख्न पाएकी छैनन् । तर, मनको आँखाले संसारको नियम, मान्छेको व्यवहार र दृष्टिकोण नियालि रहेकी हुन्छिन् । मोहनले चार वर्षसम्म संसार देखे । तर देखेको संसार सम्झनामा छैन । बेस्सरी ज्वरो आयो । टाइफाइड भएको रहेछ । औषधिले ज्वरो त निको भयो । आँखाको दृष्टि कहिल्यै नफर्किने गरी गयो । सीप सिक्न दुवैजना काठमाडौं आए । सुकेधाराको कम्प्युटर इन्स्टिच्यूटमा तालिम लिने क्रममा उनीहरुको भेट भएछ । दिन बितिरहेकै थियो । थाहै नपाई माया बसेछ । मन मुटु साटिएछ । बाँकी जीवनसँगै बिताउने निधो गरेका रहेछन्, खुशी र मोहनले । उनीहरुले अन्तर जातिय विवाह गरे । उनीहरुको ठूलो महत्वाकाक्षां छैन । आकाश छुने भ्रम पनि छैन । धरातल बिर्सने धृष्टता पनि गर्दैनन् । रुपैयाँलाई उनीहरु साध्य मान्दैनन् । साधन ठान्छन् । सन्तानलाई राम्रो पढाउन, हात मुख जोर्न फेरि पनि पैसा त चाहियो नै । ललितपुरको लुभुमा बस्ने यो जोडी भन्छन्, ‘हामीले सक्ने श्रम गर्छौ, बजारका व्यवस्था गरिदेउ, दुई चार पैसा कमाएर हामी खुसी हुन चाहन्छौं ।’
यो मेलामा सहभागी भएपछि आफूहरुलाई धेरैले चिन्ने बताउँदै खुशीले भनिन्, ‘अब हाम्रो व्यापार बढ्छ, त्यसले हामीलाई खुशी दिन्छ ।’ १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघले संयुक्त रुपमा आयोजना गरेको मेलामा उनीहरुले स्लट राखेका छन् । उनीहरुको स्टलमा सिन्के धुप, बाटेको धुप, कागजबाट बनाइएका कप, गलबन्दीलगायतका सामान राखिएका छन् । यो मेला भोलिसम्म चल्छ । मेलाको उद्घाटन महानगरप्रमुख चिरीबाबु महर्जनले गरेका थिए । मेलामा एकै छाना मुनि प्राकृतिक रेसा केतुके, अलैंची, केरा, अल्लो र बाँसबाट निर्मित सामान, काष्ठकला, चाँदीका गरगहना तथा चाँदीका वस्तु, धातुका गरगहना, क्रिष्टलका सामान, हाड र सिंगका वस्तु, बिड्सका सामान, ऊनी तथा सुती, ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, सेरामिक तथा माटोका सामाग्री ,सीसाजन्य सामग्री राखिएका छन् । आयोजकका अनुसार मेलामा ५० स्टल राखिएको छ । कार्यक्रममा महानगर प्रमुख महर्जनले ललितपुर महानगरलाई वल्र्ड सिटीको घोषणाले उत्साहित बनाएको बताउँदै अब काम गरेर देखाउने समय आएको बताए । उनले भने, ‘तालिम, गोष्टी सेमिनार धेरै भए तर उपलब्धि हासिल भएन अब कार्यान्वयनमा जानुपर्छ ।’ उनले हस्तकलाका सामग्री उत्पादनलाई पुस्तान्तरण गर्नु जरुरी भएको स्पष्ट पार्दै अन्यथा यो पेशा संकटमा पर्ने बताए । ललितपुरलाई हस्तकलामा थप अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने उनको प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा महानगरपालिकाकी उप–प्रमुख गीता सत्यालले अन्तर्राष्ट्रिय महिला दिवसमा नै महिला हस्तकला मेला आयोजना गर्नुको औचित्यमाथि प्रकाश पार्दै महिला सशक्तिकरणका लागि उनीहरु आर्थिक रुपमा बलियो हुनुपर्ने बताइन् । पूँजीको अभावमा महिला उद्यमीलाई व्यवसायबाट हातधुनुपर्ने स्थितिबाट बचाउन बंैक तथा वित्तिय संस्थाहरुसँग सहकार्य गरी विनाधितो र सहुलियत दरमा ऋण उपलब्ध गराउन सहजीकरणको भूमिका खेल्ने उनले बताइन् । उनले १११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा देशभर महिला हिंसा भई राखेको प्रति इगित गर्दै महिला हिंसा न्यूनिकरणका लागि विद्यालय स्तरमा लैंगिक हिंसा सम्बन्धी कार्यक्रम ल्याउनुपर्ने बताइन् । हस्तकलाका सामान निर्यात तथा प्रवद्र्धनमा सघाउ पु¥याउन मेला आयोजना गरिएको मेला संयोजक तथा नेपाल हस्तकला महासंघ कार्यसमिति सदस्य सविता सिंहले जानकारी दिइन । यस्ता कार्यक्रमले महिला उद्यमीलाई प्रोत्साहित गर्ने र आर्थिक रुपमा महिलालाई सक्षम बनाउने बताइन् । नेपाल ब्यापार प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले हस्तकलाका बस्तुहरुको प्रबद्र्धनका लागि अन्तर्राष्ट्रिय स्तरमा नै प्रचारप्रसार गर्न कुटनीतिक नियोगहरुमा डेस्क स्थापना गर्न छलफल भइरहेको बताए । उनले कुलग्राहस्त उत्पादनमा हस्तकलाका सामग्रीको योगदान महत्वपूर्ण भएको दाबी गरे । कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्य, ललितपुर जिल्ला अदालतका न्यायाधीश शिवबहादुर रानाभाट लगायतले बोलेका थिए ।