९३.१ प्रतिशतले लगाए कोराना भाइरसविरुद्धको खोप

बिहीबार, चैत १०, २०७८

काठमाडौँ, १० चैत । नेपाललाई कोरोना भाइरसविरुद्धको खोप सबैभन्दा बढी चीन सरकारले उपलब्ध गराएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा चीन सरकारले स्वास्थ्य सामग्रीसहित सबैभन्दा बढी खोप उपलब्ध गराएको हो ।
चीन सरकारले अनुदान, खरिद र सहयोग गरेर नेपाललाई विभिन्न समयमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको हो । चीनले सिनोफार्म कम्पनीको भेरोसेल खोप उपलब्ध गराएको छ ।
चीन सरकारले पटक–पटक गरी एक करोड ९७ लाख ३६ हजार ४०० मात्रा खोप नेपाल सरकारलाई उपलब्ध गराएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बादेबाबु थापाले जानकारी दिए।
नेपालमा हालसम्म कूल चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको छ । तीमध्ये चीन सरकारले एक करोड ९७ लाख ३६ हजार ४०० मात्रा खोप उपलब्ध गराएको हो ।
उनका अनुसार चीन सरकारसँग खरिद गरेर सरकारबाट सरकार (जिटुजी) मार्फत एक करोड, एशियाली विकास बैंकको ऋण सहायतामा ५९ लाख ३६ हजार ४००, अनुदानमा ३४ लाख मात्रा खोप उपलब्ध गराएको हो । यस्तै एक लाख चिनियाँ रेडक्रमले नेपाल रेडक्रसलाई र तीन लाख मात्रा चीनले नेपाली सेनालाई उपलब्ध गराएको छ ।
नेपालमा अहिलेसम्म लक्षित जनसङ्ख्याको ९३.१ प्रतिशतले पहिलो मात्रा र ८१.६ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । यस्तै चीन सरकारले ३४ लाख सिरिञ्ज पनि उपलब्ध गराएको छ । चीनसहित छिमेकी मुलुक भारत, अमेरिका, जापानलगायत देशले पनि कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएका छन् । 
यस्तै चीन सरकारले नयाँ बानेश्वरस्थित सिभिल अस्पताल र चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल निर्माण गर्नसमेत सहयोग गरेको छ ।

थप ३५ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा पाँच हजार २६८ जनाको कोरोना परीक्षण गरिएको थियो ।  
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २१९ रहेको छ । पछिल्लो २४ घण्टामा २६६ कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६४ हजार १२७ पुगेको छ । निको हुने दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा कोहीको पनि ज्यान गएको छैन । मन्त्रालयका अनुसार २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा ललितपुर र  काठमाडौँ रहेका छन् । शून्य सङ्क्रमित भएका जिल्लामा धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, पूर्वरुकुम, बाजुरा, डोल्पा, हुम्ला र जुम्ला छन् । 
नेपालमा सङ्क्रमण दर १७.७ प्रतिशत छ । हाल होम आइसोलेशनमा दुई हजार १७९, संस्थागत आइसोलेशनमा ४०, आइसियुमा २१ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा ८३ हजार २५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  २१:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार