सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं , ११ चैत : प्रधानमन्त्री शेरबहादुर देउवाले चैत तेस्रो साता भारतको भ्रमण गर्ने भएका छन् । चैत १८ देखि २० गतेसम्म तीन दिने भारत भ्रमणको तयारी भैरहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।
'प्रधानमन्त्रीज्युको भारत भ्रमणको तयारी भैरहेको छ। सम्भवत चैत १८ देखि २० गतेसम्म उहाँले भारत भ्रमण गर्नुहुनेछ,' स्रोतले भन्यो ।
भारत भ्रमणको तयारी सुरु भएपछि प्रधानमन्त्री देउवा श्रीलंकामा चैत १६ गतेबाट सुरु हुने बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन नजाने भएका छन् । उनले सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नेछन् ।
देउवा पाँचौं पटक प्रधानमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो भारत भ्रमण हो ।
केहि साता अघि उनी एउटा सम्मेलनमा सहभागी हुन भारतको गुजरात जान लागेका थिए । तर कोरोना संक्रमण बढेपछि उक्त भ्रमण स्थगित गरिएको थियो ।
प्रधानमन्त्री देउवा श्रीलंका नजाने, बिमस्टेक शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्ने
प्रधानमन्त्री देउवा श्रीलंका नजाने भएका छन् । यसअघी यही चैत १६ गते उनले श्रीलंकाको भ्रमण गर्ने बताइएको थियो । श्रीलंकाले चैत १६ गतेबाट आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जाने गत फागुन २३ गते आयोजना गरिएको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा.नारायण खड्काले घोषणा गरेका थिए ।
'प्रधानमन्त्रीज्यु श्रीलंका नजाने हुनु भएको छ । बिमस्टेक सम्मेलनलाई उहाँले भर्चुअल सम्बोधन गर्नु हुनेछ,' परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।
बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, थाइल्याण्ड र म्यानमार गरी ७ राष्ट्र सदस्य रहेका छन् ।