सोसल मिडिया
Contact Us
युनिकोड
झापा । नगदे बालीका रूपमा रहेको चियालाई प्रवद्र्धन गर्न झापालाई ‘चिया जोन’का रूपमा विकास गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय झापाले चिया सरोकार पक्षसँग गरेको छलफलमा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले झापा चियाको राजधानी भएको हुँदा चिया जोन बनाउनका लागि बोर्डले सरकारसँग पहल गर्नुपर्ने धारणा राखे । उनले चियालाई धान, मकै, सुपारी र रबरजस्तै जोन वा सुपरजोन घोषणा गरेर काम गरे चिया किसान, मजदूर र उद्योगी सबैको हितमा हुने र गुणस्तरीय उत्पादनमा सहयोग पुग्ने बताए । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालगायतले सरकारले तोकेको चिया श्रमिकको न्यूनतम पारिश्रमिक लागू गर्न बोर्डलाई महत्वपूर्ण भूमिका निवार्ह गर्न आग्रह गर्दै चिया जोन बनाएमा किसान, मजदूर र उद्योगी सबैको हित र संरक्षण हुने बताए । बोर्डका सञ्चालक सदस्य आदित्य पराजुली र हर्क तामाङले चियाको मार्केट्रिक बोर्ड स्वयम्ले गर्नुपर्ने, किसानको खोसिएको सिंचाई सुविधामा दिएको विद्युतीय सहुलियत दर पुनः कायम गर्नुपर्ने र चिया किसानलाई सहजरूपमा मल उपलब्ध गराउनुपर्ने लगायतका माग सरकारसँग राखेको बताए । कार्यक्रमका सहभागीले चियाको राजधानी झापा रहेको हुँदा बोर्डको केन्द्रीय कार्यालय झापामै स्थानन्तर गरेर किसान, मजदूर र उद्योगीको हितमा काम गर्नुपर्ने नत्र चिया जोन घोषणाका लागि पहल गर्न माग गरेका छन् । राष्ट्रिय चिया तथा कफि विकास बोर्ड क्षेत्रीय कार्यालय झापाका निमित्त प्रमुख प्रेम आचार्यले कार्यालयमा स्रोत साधानको अभाव रहेको हुँदा किसानको समस्या बुझ्न र सहयोग गर्न समस्या भइरहेको बताए । झापामा हाल सात हजार ३४० हेक्टरमा चिया खेती भइरहेको छ । चिया खेतीमा सहभागी साना कृषकको सङ्ख्या दुई हजार ९६२, चिया सहकारी सात वटा, साना चिया प्रशोधन कारखाना ४३ मध्ये ३५ वटा सञ्चालनमा, चिया प्याकेजिङ उद्योग १७२ वटा, टि–इस्टे«टको सङ्ख्या ७३ वटा छन् । झापा जिल्लामा मात्र हाल एक करोड ७४ लाख २९ हजार २८८ केजी तयारी चिया उत्पादन हुने गर्दछ ।–रासस