गठबन्धनको बिरोध गर्नेलाई चुनाव जितेर देखाउन देउवाको चुनौती

शुक्रबार, चैत ११, २०७८

काठमाडौं, ११ चैत : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र स्थानीय चुनावमा गठबन्धनको बिरोधमा आवज चर्को भएपछि एक्लै चुनाव जितेर देखाउन चुनौती दिएका छन् ।

शुक्रबारबाट सुरु कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले गठबन्धन नगरी चुनाव जित्न चुनौतीपूर्ण रहेको भन्दै जितेर देखाउन चुनौती दिएका हुन् । 

बैठकमा धारणा राख्ने धेरैले गठबन्धन गरेर जान नहुने धारणा राखेका थिए । नेताहरुको धारणापछि देउवाले आफूले देशभरिको अवस्थाका बारेमा जानकारी पाइरहेको भन्दै गठबन्धनको बिरोध गर्दा आगामी दिनमा समस्या पर्ने र जितेर देखाउनु पर्ने चुनौती भएकाले सम्हालिएर बोल्न भनेका हुन् । 

गठबन्धनको विपक्षमा धारणा राखेका चितवनका नेताहलाई देउवाले स्थानीय स्तरमा भएका चुनावमा नजित्नेले हामी बलियो छौं भन्नुको अर्थ नभएको भन्दै आक्रोश पोखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । 

'गठबन्धन स्थानीय आवश्यता अनुसार भन्ने मत बैठकमा आएको छ' 

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा बोल्ने अधिकांश नेताहरुले स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्नु उचित हुने विचार राखिरहेको बताएका छन्। 

बैठकबारे सञ्चारकर्मीहरुलाई जानकारी दिदैँ प्रवक्ता डा. महतले गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा गठबन्धन गर्ने र गठबन्धन बिना जित्ने ठाउँमा गठबन्धन नगर्ने भन्ने आशयको विचार  केन्द्रीय सदस्यहरुले  प्रकट गरिरहेको बताएका हुन् । 

उनले बैठकमा प्रदेशहरुबाट फरक फरक ठाँउहरुबाट विभिन्न फरक फरक सुझावहरु आएको र छलफल पछि टुंगोमा पुगिने उनले बताए । 

उनले केन्द्रीय समितिमा स्थानीय निर्वाचनका सम्बन्धमा आवश्यकताको सिद्धान्तअनुसार कतै गठबन्धन गरेर जान हुने र कतै गठबन्धन नगरे पनि हुने भनेर फरक फरक ठाउँहरुबाट रिपोर्टहरु आएको उल्लेख गरे । 

पाँच प्रदेश सभापति चुनावी गठबन्धनको विपक्षमा

शुक्रबार सुरु सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सातमध्ये पाँच प्रदेशका सभापतिहरुले चुनावी गठबन्धनको विपक्षमा धारणा राखेका छन् । 

पार्टी कार्यालय सानेपामा शुक्रबार अपराह्न सुरु बैठकमा धारणा राख्दै कांग्रेसका पाँच प्रदेश सभापति गठबन्धनको विपक्षमा देखिएका हुन् । 

बैठकमा धारणा राख्नेक्रममा मधेस प्रदेशका सभापति कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही गठबन्धनको विपक्षमा देखिएका हुन् । सुदूरपश्चिमका वीरबहादुर बलायर बैठकमा उपस्तिथि छैनन् । तर, उनी गठबन्धनका पक्षमा छैनन् । लुम्बिनी र गण्डकीका प्रदेश सभापतिले गठबन्धन गर्न नहुने धारणा राखेका थिए । 

प्रदेश १ का उद्धव थापा र वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँ गठबन्धनको पक्षमा उभिएमा छन् ।

नेताहरु गठबन्धनको विपक्षमा

सत्ताको नेतृत्व गरिररहेको दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक काठमाडौंमा सुरु भएको छ । 

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सुरु भएको कांग्रेस बैठकलाई चासो पूर्वक हेरिएको छ । 

चुनावमा गठबन्धन गरेर जानु पर्ने र त्यसको बिरोध गर्नेहरुको दुई समूह कांग्रेसमा भएका कारण केन्द्रीय समिति बैठकलाई चासोका रुपमा हेरिएको छ । 

सभापति एवं गठबन्धनबाट प्रधानमन्त्री छानिएका शेरबहादुर देउवाले गठबन्धनको पक्षमा वकालत गरिरहँदा शेखर कोइराला पक्षले भने गठबन्धनको बिरोध गरिरहेको छ । 

केन्द्रबाट स्थानीय चुनावमा गठबन्धन गर्ने निर्णय लाद्न नहुने पक्षमा रहेको छ । 

आजको बैठकमा प्रदेश सभापतिहरूले आफ्ना धारणा राख्ने क्रम सुरु भएको छ । यस क्रममा अधिकांश नेताहरुले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे धारणा राखेका छन् । 

'देउवाले गठबन्धन लाद्न खोज्नु भयो भन्नु झुट'

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन नलादिने बताएका छन् । 

शुक्रबार सुरु कांग्रेसको बैठक पछि प्रवक्ता महले सभापति शेरबहादुर देउवाले चुनावमा गठबन्धन लाद्न खोज्को भन्दै चर्चा गरिएको र उक्त कुरा झुटो भएको बताएका छन् । 

उनले बैठकमा प्रदेशहरुबाट फरक फरक ठाँउहरुबाट विभिन्न फरक फरक सुझावहरु आएको र छलफल पछि टुंगोमा पुग्ने बताएका छन् । 

आवश्यकताको सिद्धान्तअनुसार कतै गठबन्धन गरेर जान हुने र कतै गठबन्धन नगरे पनि हुने भनेर फरक फरक ठाउँहरुबाट रिपोर्टहरु आएको उनले बताए । 

'आवश्यकताको सिद्धान्तमा गठबन्धन हुनुपर्छ भन्ने सुझावहरु आएका छन् । आवश्यकताको सिद्धान्तमा गठबन्धन हुनुपर्छ । सभापति शेरबहादुर देउवाले गठबन्धन लाद्न खोजेको भन्ने झुटो कुरा हो' उनले भने । 

आज क-कसले राखे धारणा ?

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सानेपामा शुक्रबार बसेको पार्टीको केन्द्रीय समितिकाे बैठकमा केन्द्रीय सदस्यहरु कृष्णचन्द्र नेपाली पोखरेल, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, कर्णबहादुर बुढा, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरेले आफ्नो धारणा राखेका थिए । 

त्यस्तै  टेकप्रसाद गुरुङ, नैनसिंह महर, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, प्रा.डा. गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, दिनेश कोइराला, सीताकुमारी राना, शान्ति परियारले स्थानीय चुनाव, गठबन्धन लगायका विषयमा धारणा राखेका थिए । 

बैठकमा प्रदेश सभापतिहरु उद्धव थापा (प्रदेशन नं. १), कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर वानियाँ (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) ले आ–आफ्नो धारणा व्यक्त गरेको कांग्रेस मुख्य सचिव कष्णप्रसाद पौडेलले जानकारी दिए। 

केन्द्रीय कार्यसमितिको बैठक चैत्र १३ गते आइतबार विहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने उनले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  २१:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार