पर्यटकको स्वागत–आतिथ्यमा नेपालीपन देखाउन सुझाव

सोमबार, फागुन २४, २०७७
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । विदेशी पर्यटक नेपाल आएपछि पहिलो सम्पर्कमा पर्ने सवारी चालकले पर्यटकको आतिथ्यमा नेपालीपन देखाउनु पर्ने सुझाव आएका छ । पर्यटक प्रहरी एकाइको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा भएको पर्यटक सवारी चालक, ट्याक्सी चालक तथा रिक्सा चालकसँगको अनुशिक्षण कार्यक्रममा सरोकारवालाले पर्यटकलाई सवारी चालकले गर्ने व्यवहारबाटै नेपालप्रतिको दृष्टिकोण बन्ने भएकाले आतिथ्यतमा नेपालीपन देखाउन आग्रह गरेका हुन् । अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले पर्यटन व्यवसायमा बोली व्यवहार र आतिथ्यको महत्वपूर्ण भूमिका रहने हुँदा सवारी चालकले सोही अनुरूपको व्यवहार आवश्यक भएको बताए । उनले चालकलाई ‘अतिथिदेवो भवः’ भन्ने नेपाली परम्परा र सभ्यताको अनुशरण गर्न सके त्यसको छाप विश्वभर फैलाउन सहयोग पुग्ने बताए । नेपाल प्रहरी अस्पतालका प्रहरी नायक उपरीक्षक डा विवेकराज भण्डारीले कोभिडका अवस्थामा पर्यटक र आफ्नो सुरक्षा तथा स्वास्थ्य मापदण्डका बारेमा सहभागीलाई जानकारी दिए । 
बोर्डका प्रबन्धक सुमन घिमिरेले बोर्डले कोभिड–१९ को अवस्थामा गरेका कार्य र भावी योजनाबारे अवगत गराएका थिए । त्यस्तै नेपाल प्रहरी ट्राफिक महाशाखाका प्रहरी निरीक्षक दीपक भट्टले ट्राफिक व्यवस्थापन र होटल एशोसिएशन अफ नेपालका प्रमुख कार्यकारी अधिकृत टेक महतले ‘पर्यटनमा आतिथ्य र सञ्चारको भूमिका’ तथा पर्यटक प्रहरी एकाइका प्रहरी निरीक्षक चन्द्र किशोर साहले पर्यटक प्रहरीले गरेका कामका बारेमा बताएका थिए । 

‘पर्यटकका लागि नेपाल सुरक्षित  र शान्त’    
पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपाल पर्यटनका लागि सुरक्षित र शान्त गन्तव्यका रूपमा स्थापित भएको बताएका छन् । प्यासिफिक एसिया ट्राभल एसोसिएशन (पाटा) नेपाल च्याप्टरको ४४औँ वार्षिक साधारणसभामा मन्त्री ढकालले कोभिड–१९ विरुद्धको खोप वितरण अभियान सफल रूपमा सञ्चालन गरेको र विद्रोही समूहलाई राष्ट्रिय राजनीतिको मूलधारमा समाहित गर्न सरकार सफल भएकाले यस उपलब्धिबाट पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको बताए । 
‘बिबिसी मास्टरसेफ द प्रोफेसनल्स २०२०’ उपाधिका उपविजेता नेपालका सेफ सन्तोष साहले कोभिड–१९ पछि नेपाललाई संस्कृति र खानाको आकर्षक गन्तव्यका रूपमा पहिचान स्थापित गराउन सरकार र निजी क्षेत्रको साझेदारीमा पहलकदमी लिनुपर्ने खाँचो औँल्याए । उहाँले खाद्य स्वच्छता एवं गुणस्तरीय आवास सुनिश्चितता गर्न अनुरोध गरे ।
पाटा नेपालको साधारणसभाले आगामी पर्यटन प्रवद्र्धनको रणनीति र विदेशी पर्यटक आगमन सहजताका लागि गर्नुपर्ने विभिन्न १० विषयमा सरोकारवालाको ध्यानाकर्षण गराएको छ । संस्थाका अध्यक्ष विभूति चन्द ठाकुरले पर्यटन पुनरोत्थानका लागि अनिर्वाय क्वारेन्टिनको व्यवस्था हटाउने, अनअराइभल भिसा तथा पिसिआर परीक्षणको व्यवस्था मिलाउनेलगायत महत्वपूर्ण १० वटा विषय प्रस्तुत गरेका हुन् । सो अवसरमा पाटाले नेपाली पर्यटनमा अतुलनीय योगदान पु¥याएका पूर्वपर्यटनसचिव तथा नेपाल पर्यटन बोर्डका संस्थापक अध्यक्ष दीपेन्द्रपुरुष ढकाललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ । त्यस्तै पाटा अन्तर्राष्ट्रियका सिइओ डा मारियो हार्डीलाई ‘टुरिजम ट्रेल ब्लेजर अवार्ड’ दिइएको छ । सेफ सन्तोष साहलाई ‘पाटा पर्सनालिटी अफ द इयर २०२० अवार्ड’ तथा  सिल्भर माउन्टेन स्कूल अफ होटेल म्यानेजमेन्टलाई ‘बेष्ट स्टुडेन्ट च्याप्टर अफ द इयर २०२० अवार्ड’ प्रदान गरिएको पाटा नेपालले जनाएको छ । 


 

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  ०६:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार