प्रचण्ड–ओली मिले के हुन्छ ? 

देउवाले कांग्रेसजनलाई सोधेको प्रश्नको गहिराइ खोज्नु पर्छ 
आइतबार, चैत १३, २०७८
मयुर प्लाई

केही दिनयता नेताहरूले मन्तव्यमा एउटै कुरा दोहोर्‍याउन थालेका छन् मुखैमा आएको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन कायम रहनु पर्छ । सत्ता गठबन्धनमा रहेका दलका शीर्ष तहमा चुनावी गठबन्धनका कुरा आए पनि गठबन्धनमा सहभागी दलका दोस्रो–तेस्रो पुस्ता यसको विरोधमा छ । प्रमुख विपक्षी दल नेकपा एमाले पनि सत्ता गठबन्धन दलबीच चुनावी तालमेल भए आफ्नो अवस्था के होला भन्ने मनोवैज्ञानिक त्रासमा छ । प्रमुख विपक्षी दलका नेता आफ्ना कार्यकर्तामा निराशा नछायोस् भनेर गठबन्धन दलका नेताहरुलाई होच्याउँदै आलोचनात्मक मन्तव्य लगातार दिइरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले यतिसम्म भन्न भ्याइसके, ‘पाँच दलीय गठबन्धन मात्रै होइन, निर्वाचन आयोगमा दर्ता भएका दलहरुले गठबन्धन गरेर आए पनि आफ्नो पार्टी चुनावमा एक्लै भिड्न तयार छ ।’ विपक्षी दलका नेताको यो भनाई सत्ता गठबन्धन नटिकोस भन्ने नै हो । जे होस् सत्ता–प्रतिपक्षका भाषणहरु निर्वाचन केन्द्रित छन् ।

चुनावमा सत्ता गठबन्धन गर्न नहुने भन्दै पार्टी भित्र आलोचना खेप्दै आएका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट गठबन्धन हुन सक्ने भँन्दै दिएको दिएको अभिव्यक्ति मार्मिक छ । कम्युनिष्टसँग चुनावी गठबन्धन नगरी कांग्रेस आफ्नै बलबुँतामा चुनावमा होमिनु पर्ने पक्षमा नेताहरुले आवाज उठाइरहेका बेला देउवाले ओली–प्रचण्ड मिले हाम्रो अवस्था के हुन्छ ? भन्दै राखेको अभिव्यक्तिको काँग्रेस नेताहरुले बहुकोणबाट विश्लेषण गर्नु जरुरी छ । हिजो कम्युनिष्ट गठबन्धन भएकै कारण आफ्नो दलले निर्वाचनमा आशातित परिणाम ल्याउन नसकेको तितो यथार्थ भोगेका देउवालाई आफैंले गराउने भोलिको निर्वाचनमा पनि कम्युनिष्ट गठबन्धनकै कारण हिजोको अवस्था नआयोस भन्ने नै हाे । २०७४ सालको निर्वाचनको नियति काँग्रेसले भोग्नु नपरोस भन्नाकै लागि देउवाबाट गठबन्धनको कुरा आएको आकलन गर्न सकिन्छ । देउवाले वाम एकतातर्फ संकेत गरिरहेका बेला चिनियाँ विदेशमन्त्री नेपाल भ्रमण गरी स्वदेश फकिर्कसकेका छन् । नेपालका केही कम्युनिष्ट नेताहरु यतिबेला चीन भ्रमणमा पनि छन् । अघिल्लो पटक वाम गठबन्धन हुँदा पनि नेपाली तथा चिनियाँ कम्युनिष्ट नेताहरूको आउजाउ बाक्लिएको थियो । अहिले पनि अवस्था उस्तै उस्तै छ । 
चीनले छिन्नभिन्न एमाले, माओवादी र एकीकृत समाजवादीलाई फेरि एक ठाउँ देख्न चाहेको छ । देउवाले यसको संकेत पाइसकेकाले गठबन्धनकाे कुरा उठाएका हुन् । त्यसैले काँग्नेसी नेताहरूसँग उनले चालु सत्ता गठबन्धनलाई एक ठाउँ राख्न नसके फेरि कांग्रेस कमजोर हुने, माओवादी र एकीकृत समाजवादी कुनै न कुनै रूपले एमालेसँगै हुने भविष्यवाणी गरेका हुन् । माओवादी अध्यक्ष प्रचण्डले पछिल्ला दिनमा काँग्रेसबाट पेलान खाइरहेको भन्दै यसरी पेल्दै गए फेरि एमालेसँग गठबन्धन हुन सक्ने टिप्पणी गरिसकेका छन् । एमाले स्वयम्‌ले केन्द्रीय कमिटी बैठकबाट स्थानीय आधारमा चुनावी सहकार्य हुन सक्ने भन्दै ढोका खुला गरेको छ । 
एमाले-माधव नेपाल सहकार्यको सम्भावना असम्भवप्रायः छ । ओली सरकार गिराउन निर्णायक भूमिका खेलेको भन्दै एमालेले त्यो अक्षम्य रहेको बताउँदै आएको छ। तर, माओवादीसँग उसको प्रभावको आकलनका आधारमा नयाँ ढंगले जान सकिने सम्भावना एमाले नेताहरूले देखाएका छन् । 
शेरबहादुर देउवालाई पश्चिमा निकट नेतामा रुपमा नेपाली राजनीतिले लिने गरेको छ । उनको विवाह अमेरिकी राजदूतको अगुवाईमा भएका आधारमा पनि यो अनुमान गरिएको हुनसक्छ । देउवाको नेतृत्वमा सरकार बनेसँगै नेपाल पश्चिमा ध्रुवमा जाने आकलन चिनियाँ पक्षको थियो । यो विश्लेषण नेपालले अमेरिकासँग गरेको एमसीसी सम्झौता अनुमोदन गरेपछि सहि ठहिरिएको छ । एमसिसी नेपालले अनुमोदन नगरोस भनेर चीनले बहुकोणबाट प्रयास गरेको पनि हाे । चिनियाँ प्रयासका बावजुद नेपालले एमसिसी अनुमोदन गर्‍यो । एमसिसीलाई काउन्टर दिनकै लागि चीनले बीआरआई सम्झौता अगाडि बढाएको छ । ऋणकै भरमा बीआरआई सम्झौता अगाडि बढाउन देउवाले आनाकानी गरेको चिनियाँ बुझाइ छ । एमसीसी पारित गरेकै अर्को महिनामा प्रधानमन्त्रीले बीआरआईका सन्दर्भमा चीनलाई नयाँ सर्त तेर्स्याउनु दुई छिमेकीबीचको सम्बन्धमा केही अप्ठेरो परेको अनुमान गर्न सकिन्छ । 

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १७:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार