शुक्रबारदेखि प्रधानमन्त्रीको भारत भ्रमणले दुई पक्षीय सम्बन्धलाई बलियो बनाउने

परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
मंगलबार, चैत १५, २०७८

काठमाडौं, १५ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले छिमेकी देश भारतको भ्रमण गर्ने भएका छन् ।  प्रधानमन्त्री देउवाले यही चैत १८, १९ र २० गते छिमेकी देश भारतको भ्रमण गर्न लागेका हुन् । मंगलवार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधामन्त्रीको भारत भ्रमणका बारेमा जानकारी दिइन् । उनले भ्रमणको सम्बन्धमा आवश्यक तयारी अगाडी बढिरहेको बताइन् । श्रीलंकाको कोलम्बोमा सुरु भएको बिमस्टेक सदस्य राष्ट्रहरुको पाँचौ शिखर सम्मेलनमा भाग लिन पुगेका परराष्ट्रमन्त्री डा. नारायण खडकाले मंगलवार नै १८ औँ विमस्टेकको मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गरिसकेको प्रवक्ता लम्सालले बताइन् । मन्त्री खडकाले भारतीय समकक्षीसँग पनि साइडलाइन भेटवार्ता गरिसक्नुभएको उनले बताइन् । विमस्टेक शिखर सम्मेलनमा बुधवार प्रधानमन्त्री देउवाले भर्चुअल रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको पनि उनले बताइन् । सो सम्मेलनमा विमेस्टेकको वडापत्र, आपराधिक मामिलामा आपसी कानूनी सहायता सम्बन्धी विमस्टेक महासन्धी, श्रीलंकाको कोलम्बोमा विमस्टेक प्रविधि हस्तान्तरण संरचना स्थापना सम्बन्धी आवद्धताको सम्झौता र कुटनीतिक तालमेलका क्षेत्रमा आपसी सहयोग सम्बन्धी विमेस्टेक समझदारी पत्र गरी चारवटा दस्तावेजहरुमा हस्ताक्षर हुने अपेक्षा गरिएको प्रवक्ता लम्सालले बताइन् ।
उनले मार्च २५ देखि २७ सम्म चीनका विदेशमन्त्री वाङ यी ले नेपालमा गरेकाे भ्रमणका क्रममा ९ वटा विषयमा सम्झौता भएको बताए । भ्रमणका क्रममा दुई देश बिचको पारस्परिक हितलाई प्रवद्र्धन गर्ने विषयमा छलफल भएको उनले बताइन् । उनले भनिन्, ‘२५ देखि २७ मार्चमा भ्रमण सम्पन्न भयो । २० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्नुभएको थियो । ९ वटा विषयमा एग्रिमेन्ट भयो । यो वार्ता हाम्रो लागि असाध्यै महत्वपूर्ण थियो । किनकी छिमेकी, पावरफुल कन्ट्री । लामो समयदेखि भिजिट हुन सकेको थिएन । छिमेकीको भ्रमणलाई हामीले सधै नै उच्च प्राथमिकता र उच्च महत्व दिइ आएका छौँ । दुई पक्षिय सम्बन्धका धेरै विषयमा हाम्रो छलफल भयो । पारस्परिक हितलाई प्रवद्र्धन गर्ने, यसमा पनि व्यापार, पर्यटन, कनेक्टिभिटी, कनेक्शन, कल्चर, जि टू जिका मेकानिजमहरु पि टू पि, बि टू बि । सबै विषयमा हाम्रो असाध्यै सौहार्दपूर्ण तरीकाले वार्ता सम्पन्न भयो ।’
नेपालले गणतन्त्र पलाउ र दक्षिण सुडान कुटनीतिक सम्बन्ध कायम गरेको प्रवक्ता लम्सालले जानकारी दिइन् । यससँगै नेपालको १७५ देशसँग कुटनीतिक सम्बन्ध स्थापना भएको उनको भनाई छ । यसका साथै नेपालको परराष्ट्र मन्त्रालय र दक्षिण अफ्रिकाको परराष्ट्र मन्त्रालयबीच द्धिपक्षीय परामर्श संयन्त्रको स्थापना गर्ने सम्झौतामा दुई देशका परराष्ट्र सचिवको स्तरमा हस्ताक्षर भएको पनि उनले उल्लेख गरिन् । नेपाल र बंगलादेशका परराष्ट्र सचिव स्तरीय तेस्रो बैठक आगामी अप्रिल ११ देखि १३ सम्म पोखरामा हुने पनि उहाँले जानकारी दिनुभयो । यसबीचमा परराष्ट्र मन्त्रालयले नेपालबाट बाहिर पुगेका पुरातात्विक महत्वका ७९ वटा सम्पदाहरु स्वदेश फर्काएको पनि जनाएको छ । जसमध्ये तिब्बतबाट २८, कलकत्ताबाट १३, बेलायतबाट १९, अमेरिकाबाट १७, अष्ट्रियाबाट १ र जर्मनीबाट १ थान सम्पदा नेपाल फिर्ता ल्याइएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले बताइन् । 

प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  १६:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार