सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल र बङ्गलादेश सरकार (सरकार–सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो लटमा दुई हजार ५०० टन मल नेपाल आइपुग्ने भएको हो । मल खरीदको जिम्मा पाएको कृषि सामग्री कम्पनीका अनुसार कोलकातामा ल्याइएको २२ हजार ५०० टन रासायनिक मलमध्येमा आज बेलुका वा मङ्गलबार बिहानसम्म दुई हजार ५०० टन मल नेपाल आइपुग्नेछ । कोलकाताबाट रेलका ४२ डब्बामा ल्याइएको मल ढिलोमा मंगलबार बिहानसम्म वीरगञ्ज आइपुग्ने कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार रेलमा ल्याइएको मल आज साँझसम्म वीरगञ्जमा आइपुग्नेछ भने ट्रकमा ल्याइएको मल बुधबारसम्म विराटनगरमा पुग्नेछ । गत बिहीबार कोलकाताबाट छ ट्रकमा २५० टन मल विराटनगरका लागि ल्याइएको उनले जानकारी दिए । यसैगरी आज पुनःरेलमा दुई हजार ५०० टन मल नेपालका लागि हिँडिसकेको छ । पहिलो लटमा रेल तथा ट्रकमार्फत आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगन्ज र भैरहवामा रहेका गोदाममा राखिने कम्पनीले जनाएको छ । बङ्गलादेशसँग प्रतिमेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरीदको सम्झौता भएको प्रबन्ध सञ्चालक भण्डारीले जानकारी दिए । उनका अनुसार कम्पनीबाट रासायनिक मल खरीदको अन्तीम सम्झौतानुसार बङ्गलादेशसँग प्रतिमेट्रिक टन १८ डलर कममा सम्झौता भएको हो । जिटुजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रालयको निर्देशनअनुसार कृषि सामग्री कम्पनीले मल खरीदको तयारी गरेको थियो । तयारीस्वरुप पुस २ गते जिटुजी प्रक्रियामार्फत मल खरीदका लागि कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बङ्गलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो । सम्झौता भएको साढे तीन महीनापछि पहिलो लटको मल नेपाल आइपुग्न लागेको हो । कृषि सामग्री कम्पनीले बङ्गलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि गत असोजमा संयुक्त अरब इमिरेट्स (युएई) को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिइसकेको छ ।
पर्याप्त मौज्दात धान रोप्ने मौसममा रासायनिक मलको अभाव भए तापनि हाल पर्याप्तमात्रामा मलको मौज्दात रहेको छ । कृषि सामग्री कम्पनी र साल्टट्रेडिङ कर्पाेरेशनसँग पर्याप्तमात्रामा रासायनिक मलको मौज्दात रहेको भण्डारीले जानकारी दिए । उनका अनुसार कृषि कम्पनीसँग हाल ४० हजार मेट्रिकटन डिएपी, सात हजार मेट्रिकटन पोटास र १० हजार मेट्रिकटन युरिया मल मौज्दातमा रहेको छ । चालू आवको बोलपत्रमार्फत साल्ट ट्रेडिङले खरीद गरेको मलसमेत पर्याप्तमात्रामा रहेको छ । शुरुआती चरणमा कृषि कम्पनीको मल बिक्रीवितरण हुनेछ भने कम्पनीको मौज्दात सकिँदै गएपछि साल्ट ट्रेडिङले खरीद गरेको मलको बिक्रीवितरण शुरु हुने उनले जानकारी दिए ।
रासायनिक मलले भरियो गोदाम
अन्नको भण्डारका रुपमा रहेका बाँके र बर्दियाका किसानले यस वर्ष पनि धान र गहुँको मौसममा रासायिक मल नपाए पनि अहिले मलले गोदाम भरिएको छ । धानखेतीका लागि असार साउन र गहँु तथा तोरीखेतीका लागि कात्तिक महीनामा किसानलाई रासायनिक मल आवश्यक पर्छ । यस वर्ष धान र गहुँको मौसममा मलको हाहाकार नै भयो । मागकोे करीब ५० प्रतिशत मात्रै मल किसानले बडो मुिस्कलले पाए । मौसमका बेला कृषि सामग्री कम्पनीका गोदाम खाली हुन्थे । त्यही खाली गोदाम हेरेर किसान निराश भएर फर्कन्थे तर हिजोआज कृषि सामाग्री कम्पनी कर्मचारी मात्रै नभएर कार्यालयमा पुगेका किसान निक्कै उत्साहित र मख्ख छन् । प्रायः सधैँ खाली हुने गोदाम रासायनिक मलले भरिएका छन् । आफ्नो गोदाम भरिएपछि कृषि सामग्री कम्पनीले भाडामा गोदाम लिएर मल राखेको छ । अहिले गोदाममा करीब १३ सय टन रासायनिक मल मौज्दात छ । रासायनिक मल पर्याप्त भएपछि कम्पनीले सहकारी संस्थालाई मागेजति दिइरहेको कान्ति पोखरी सहकारी संस्थाका व्यवस्थापक रमजान अलि इद्रिसीले बताउनुभयो । पछिल्ला दिनमा किसानले पशुपालन गर्न छाड्दै गएका कारण कम्पोष्ट मलको प्रयोग घट्दै गएकाले रासायनिक मलप्रतिको निर्भरता बढ्दै गएको छ । रासायनिक मलको अभावका कारण कृषिउपजको उत्पादनसमेत प्रभावित हुँदै आएको छ । अहिले किसानलाई हिँउदे मकैका लागि मल आवश्यक छ । धान गहुँको मौसममा मलको हाहाकार भए पनि पछिल्ला दिनमा युरिया र डिएपी मल पर्याप्तमात्रामा आइरहेकाले कम्पनीले कृषि सहकारीले मागेअनुसार नै मल वितरण गरिरहेको कृषि सामग्री कम्पनी नेपालगञ्जका प्रबन्धक रमेश पौडेलले बताए । अहिले आएको मल आगामी वर्षको धानको याममा वितरण गर्ने तयारी कम्पनीको छ । बाँकेका ३६ हजार ५०० हेक्टरमा धानखेती हुन्छ । बाँकेमा धानखेतीका लागि तीन हजार ५०० मेट्रिकटन युरिया, एक हजार ५०० मेट्रिकटन डिएपी र ५० मेट्रिकटन पोटास मल आवश्यक पर्छ । त्यसैगरी बाँकेमा करिब १८ हजार हेक्टरमा गहँुखेती हुन्छ । गहुँखेतीका लागि दुई हजार ५०० मेट्रिकटन युरिया एक हजार ५०० मेट्रिकटन डिएपी र ५० टन पोटास मल आवश्यक पर्छ ।-रासस