सोसल मिडिया
Contact Us
युनिकोड
कर्णाली । ‘कर्णाली उत्सव, कुडा कर्णाली’का भन्ने नाराका साथ फागुन २६ देखि २९ गतेसम्म सुर्खेतको बुलबुले उद्यानमा कर्णाली उत्सवको दोस्रो संस्करण सञ्चालन हुँदैछ । ऋति फाउन्डेशनको संयोजनमा कर्णालीका सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यटकीयजस्ता बहुआयामिक विषयमा बृहत् बहस गर्ने उद्देश्यले उत्सवको दोस्रो संस्करण सञ्चालन हुने भएको हो । गत वर्ष यही समयमा कर्णाली उत्सवको पहिलो संस्करण सम्पन्न भएको थियो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्ने उत्सवको प्रारम्भमै प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले ‘कर्णाली किन घुम्ने ?’ भन्ने विषयमा प्रवचन दिनेछन् । आयोजक संस्था ऋति फाउन्डेशनका कार्यकारी निर्देशक दिनेश गौतमका अनुसार उद्घाटन सत्रमा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा डा जगतप्रसाद उपाध्यायले ‘कर्णाली चिनाउने योगी’, प्रदेश योजना आयोगका उपाध्यक्ष डा सर्वराज खड्काले ‘सार्वजनिक नीति निर्माणमा सार्वजनिक बहसको महत्व’ र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले ‘वीरेन्द्रनगरका वैभव’ विषयमा प्रवचन दिने कार्यक्रम छ । उत्सवमा सामाज, अर्थ र नेतृत्व तीनवटा मूल शीर्षक समेटिनेछन् । पहिलो दिन ‘हाम्मो मान्नवी’, दोस्रो दिन ‘सुर्के थैली’ र तेस्रो दिन ‘कैथा नेता, कैथो नेतृत्व’ यी तीनै मूल शीर्षकअन्तर्गत विभिन्न विषयमा बहस हुनेछ । उत्सवका संयोजक कमल लम्सालले कर्णालीमा आर्थिक अवसरहरूको खोजी गर्नु, कर्णालीको जनजीवन, इलम र सीपको चर्चा गर्नु, कर्णालीलाई पर्यटकीय गन्तव्य बनाउन सहयोग गर्ने उद्देश्यले उत्सवलाई निरन्तरता दिइएको बताउनुभयो । बहसका अधिकांश विषय खस भाषामै आधारित छन् । बहसमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसमेत वक्ताका रूपमा आउने कार्यक्रम छ । ‘कैथा नेता कैथा नेतृत्व’ मूल शीर्षकअन्तर्गत ‘मुख्य माण्ठ, मूल कुडा’ सत्रमा कर्णालीका मुख्यमन्त्री शाही र प्रदेश २ का मुख्यमन्त्री राउतसँग पत्रकार दिलभुषण पाठकले बहस गर्नेछन् । उक्त सत्रमा अभाव र गरिबीले थिचिएका दुई प्रदेशका मुख्यमन्त्रीले एउटै मञ्चबाट सङ्घीयताबारे आफ्ना भोगाइ एवं अनुभव साटासाट गर्नेछन् । सङ्घीय सरकारसँग अधिकार बाँडफाँटका विषयमा असन्तुष्टि राख्ने यी दुई प्रदेशका मुख्यमन्त्रीले आफूले गरेका काम र देखेका चुनौती प्रस्तुत गर्नेछन् । ‘कैथा नेता कैथो नेतृत्व’ मूल शीर्षकमा ‘पश्चिममा प्रशासक ः पश्चिमका प्रशासक, सरकारी गैरसरकारी, लोकतन्त्रको लयलगायतका सत्रहरू छन् । सुर्के थैली मूल शीर्षकमा ‘कर्णाली घुमाउँटो पड्यो’ सत्रमा योजनाविद् डा दिनेशचन्द्र देवकोटा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुुष्पराज कँडेल, डा रेणुराज अधिकारी र प्रदेश योजना आयोगका सदस्य योगन्द्र शाहीले बहस गर्ने कार्यक्रम छ । ‘पढ्नु पड्डोछ ः साक्षर शिक्षित र प्राज्ञिक कर्णाली’ सत्रमा सञ्चारकर्मी राजेन्द्र बानियाँले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंह, युवा राजनीतिज्ञ मिलन पाण्डे, वीरेन्द्रनगरका उपप्रमुख मोहनमाया ढकालसँग बहस गर्नेछन् । ‘हाम्रो मान्नमी’ मूल शीर्षकअन्तर्गत छाउ र भाउ सत्रमा लेखक राधा पौडेल, राजनीतिकर्मी विन्दा पाण्डे, प्रदेश अस्पताल सुर्खेतका चिकित्सक डा नवराज केसी, ‘आफ्नै कथा, आफ्नै बान्की’ सत्रमा साहित्यकार बुद्धिसागर, रङ्गकर्मी हिराबिजुली नेपाली, देउडा गायक नेत्रराज शाही, लेखक सरला गौतमसँग सञ्चारकर्मी भुपेन्द्र खड्काले बहस गर्दै छन् । त्यस्तै ‘कहरी शुकालो होला कइले जाला कैठ’ शीर्षकको सत्रमा पूर्व स्वास्थ्यमन्त्री गगन थापा, सङ्क्रमण रोग विशेषज्ञ डा अनुप सुवेदी, जनस्वास्थ्यविज्ञ डा सुरेश तिवारी, डा दुर्गा थापा, ‘हाट जान्या, भोट जान्या’ सत्रमा समाजशास्त्री जनक राईसँगै कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले हाट तथा डोल्पाका समाजसेवी धनराम बुढाथोकीले भोट गएका आफ्ना अनुभवबारे पत्रकार नगेन्द्र उपाध्यायसँग बहस गर्नेछन् ।–रासस