तयारी बिनाको भारत भ्रमणबाट के आशा गर्ने ?

प्रधानमन्त्री देउवाले तोडे परम्परा
शुक्रबार, चैत १८, २०७८

काठमाडौं, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज नयाँदिल्ली प्रस्थान गर्दैछन् ।  देउवा देशको पाँचौ पटक प्रधानमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो भारत भ्रमण हो ।  नेपालको प्रधानमन्त्रीले पछिल्लो चार वर्षमा गर्न लागेको यो भारतको पहिलो भ्रमण पनि हो ।  भारत भ्रमणको नाममा यसपटक प्रधानमन्त्री देउवाले तीनवटा परम्परालाई तोडेका छन् ।  उनले तोडेको पहिलो परम्परा हो– भ्रमण जानुअघि पूर्वप्रधानमन्त्रीहरुसँग गरिने छलफल ।  यसभन्दा अघि देशका प्रभानमन्त्रीले अन्य देशको भ्रमण गर्नुअघि पूर्वप्रधानमन्त्रीहरुसँग सामूहिक छलफल गर्ने अभ्यास रहेको थियो । छलफलमा पूर्वप्रधानमन्त्रीहरुले भ्रमणलाई कसरी सफल बनाउने भन्ने बारेमा राय सुझाव दिने गर्थे । तर यसपटक भने प्रधानमन्त्री देउवाले यस्तो छलफल गरेनन् ।  प्रधानमन्त्री देउवाले यस पटक भारत भ्रमण गर्दा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा समेत जाने भएका छन् ।

यो उनले तोडेको दोस्रो परम्परा हो । यसअघिका भ्रमणहरुमा नेपालका प्रधानमन्त्रीले भारतको कुनै दलको पार्टी कार्यालय जाने गरेका थिएनन् । यो कूटनीतिक मर्यादा विपरित पनि हो । देशको प्रतिनिधित्व गरेर जाने प्रधानमन्त्रीले एउटा पार्टीको कार्यालय भ्रमण गर्ने कार्यक्रम राख्दा भारतका अन्य राजनीतिक दलमा राम्रो सन्देश नजाने विज्ञहरुको तर्क छ ।  भारत भ्रमण गर्ने वहानामा प्रधानमन्त्री देउवाले तोडेको अर्को परम्परा हो– नेपाली सेनाले टुँडिखेलमा आयोजना गर्ने घोडेजात्रा कार्यक्रम ।  प्रत्येक वर्ष सेनाले घोडेजात्राको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्छ । उक्त कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्री उपस्थित भई अवलोकन गर्ने परम्परा वर्षौदेखि रहिआएको छ । तर यसपटक प्रधानमन्त्री देउवा उक्त कार्यक्रममा सहभागी हुनेछैनन् ।  प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने भएकोले उक्त कार्यक्रममा सहभागी नहुने नेपाली सेनाले जनाएको छ । 

देउवाको भारत भ्रमण पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले : एमाले

प्रधानमन्त्री शेरबहादुर देउवाकाे भारत भ्रमणमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रश्न उठाएकाे छ । प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जान लागेका छन् ।  तर, मुलुकका कार्यकारी प्रमुखकाे भ्रमणबारे प्रमुख प्रतिपक्षीसँग छलफल नै नगरिएकाे भन्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आपत्ति जनाएका हुन् । उनले फेसबुकमा लेखेका छन्, 'प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट भारत भ्रमणमा जाने समाचार सार्वजनिक भएको छ । संवेदनशील र राष्ट्रिय सहमति हुनुपर्ने महत्वपूर्ण विषयमा मुलुकको सबभन्दा ठूलो र संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग उहाँले कुनै छलफल र सरोकार राख्नुभएको छैन ।' देउवाकाे भ्रमण निजी-पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले भन्दै रिजालले प्रश्न उठाएका हुन् । 'स्वाभाविक रुपमा प्रश्न उठेको छः शेरबहादुर देउवाको यो भ्रमण निजी-पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले हुन लागेको हो ?' उनले प्रश्न गरेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  ११:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार