सोसल मिडिया
Contact Us
युनिकोड
अछाम, १८ चैत्र । अछामका महिला अगुवाले आगामी स्थानीय तहको निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागीताको सुनिश्चितताका लागि राजनीतिक दलका प्रमुखसँग छलफल गरेका छन् ।
जिल्लामा शीर्ष पार्टीका नेतासँग छलफल गर्दै आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष, नगरपालिका प्रमुखमा महिलाको स्थान सुरक्षित हुनुपर्नेमा माग गरेका थिए ।
हरेक पार्टीले महिला उम्मेदवार बनाउन सहभागी महिला अगुवाले दबाब दिएका थिए । समबिकास नेपाल अछामको आयोजनामा भएको कार्यक्रममा प्रतिबद्धता जनाउँदै नेपाली कांग्रेस अछामका सभापति पुष्पबहादुर शाहले प्रमुखमा दाबेदार गर्ने महिलाले वडाबाटै नेतृत्वका लागि नाम पठाउन आग्रह गरे ।
नेतृत्व विकास र सशक्तीकरणका लागि पार्टी जहिले पनि प्रतिबद्ध रहेको उनले बताए । सभापति शाहले आगामी दिनमा महिलालाई दिइएको पद अनुसार जिम्मेवार बनाउँदै पार्टीले सम्मान दिने बताए ।
नेकपा एमालेका अध्यक्ष चन्द्र बोहराले महिलालाई नेतृत्व दिने विषयमा सबै दलले साझा धारणा बनाउनु पर्नेमा जोड दिए । पार्टीहरू विधि, विधान र सिद्धान्तको आधारमा अघि बढ्ने भएकाले गठबन्धनका नाममा महिलाको अधिकार खोस्ने कार्य भएको बताए ।
कानुनी कुरामा हरेक जानकार बन्नु पर्नेमा जोड दिँदै संविधानले बनाएको नियम अनुरूप एमाले पार्टी अघि बढ्ने बताए । छलफल कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य लोक बहादुर बोगटीले महिलालाई नेतृत्व दिनमा पार्टी जहिले पनि अग्रसर रहेको बताए ।
२०७४ को निर्वाचनमा समेत स्थान दिएको बताउँदै अबको निर्वाचनमा वडा तहदेखि नै स्थान दिने बताए । नेकपा एकीकृत समाजवादी अछाममा सहसचिव नयन सोडारीले आफ्नो पार्टीले महिलालाई उचित स्थान दिएको बताए । स्थानीय तहको निर्वाचनमा गठबन्धन सरकारमा रहेकोले क्षमताका आधारमा वडा, गाउँपालिका र नगरपालिकामा महिलालाई स्थान दिने बताए ।
तनहुँका महिला जनप्रतिनिधि भन्छन्- उपमा बस्देनौँ, प्रमुखमा दाबी गर्छौँं
गत स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाको सहभागिता ज्यादै न्यून रह्यो । तनहुँको १० स्थानीय तहमध्ये म्याग्दे गाउँपालिकाले मात्र महिला अध्यक्षमा मायादेवी रानालाई पायो । नौ स्थानीय तहमा महिला उपमै सीमित भए ।
८५ वडामध्ये ऋषिङ गाउँपालिका–८ मा भविसरा आले वडाध्यक्ष निर्वाचित भइन् । एकाध वडामा खुला तर्फबाट महिला वडा सदस्य निर्वाचित भए । महिला कोटामै सीमित भए । नौ स्थानीय तह र ८४ वडाको प्रमुख पदमा पुरुष नै हावी भए । सबै राजनीतिक दलले महिलालाई प्रमुख पदमा पुगेर नेतृत्व गर्ने अवसर नै दिएनन् ।
निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिँदै छ । आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको । यतिबेला देशभर स्थानीय तहको निर्वाचन केन्द्रित गतिविधिले माहोल तातिरहेको छ । सम्भावित उम्मेद्वारहरूको चर्चा सुरु भएको छ । स्थानीय तह र वडाको प्रमुखमा पुरुषकै चर्चा बढी हुने गरेको छ ।
तनहुँका महिला जनप्रतिनिधिले अब उपमा नभएर प्रमुख पदमा उम्मेद्वार दिने उद्घोष गरेका छन् । वडासदस्यले वडाध्यक्ष र स्थानीय तहको उपप्रमुखले प्रमुखमा दाबी गर्ने उद्घोष गरेका हुन् । शुक्रबार सञ्चारिका समूह तनहुँले दमौलीले आयोजना गरेको जनप्रतिनिधि महिलाको पाँच वर्षे अनुभव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्लाका महिला जनप्रतिनिधिले वडाध्यक्ष र स्थानीय तहको प्रमुख पदमा दाबेदारी प्रस्तुत गर्ने बताएका हुन् ।
घिरिङ गाउँपालिका–२ की वडासदस्य सनम थापाले पाँच वर्षको सिकाइले यसपालिको निर्वाचनमा वडाध्यक्षको दाबी गर्ने बताइन् । ‘घरको समस्या समाधान गर्दै जनताको सेवा गरेका छु । यसपालि वडाध्यक्षमा उम्मेद्वारी दिने हो ।’ उनी आफू वडाध्यक्ष बन्नलाई योग्य भएकाले दाबी रहने उल्लेख गरिन् ।
शुक्लागण्डकी नगरपालिका–९ की वडा सदस्य गीता महतले पनि दयाको पात्र भएर उपमा सीमित नहुने बताइन् । ‘उप मात्र हैनौँ प्रमुख हुन सक्ने क्षमता छ हामीसँग । अघिल्लो निर्वाचनमा दयाको पात्र बनाइयो । यसपालि पार्टीभन्दा फरक भएर क्षमतावान् महिलालाई अवसर दिऔँ’, उनले भनिन् । कार्यपालिका सदस्यसमेत रहेकी महतले पुरुष सरह प्रतिस्पर्धामा उत्रने उनको भनाइ छ ।
घिरिङ गाउँपालिकाकी उपाध्यक्ष सरस्वती सिग्देल घिमिरेले स्थानीय तहमा पुरुषहरू हावी भएको बनाइन् । ‘महिलालाई सहभागी मात्र गराइएको छ । समाज सुध्रिएको छैन । लडाईं धेरै लड्न बाँकी छ । पार्टीले टिकट दिएमा अध्यक्ष भएर काम गर्न सक्षम भएका छौँ । प्रमुखले भन्दा धेरै काम गरेका छौँ । पार्टीबाट अनुमोदन भएर टिकट भएको खण्डमा जनताबाट अनुमोदन भएर निर्वाचन जित्न सकिन्छ भन्ने छ’, उनले भनिन् । जनताको मन जित्ने गरेर गाउँपालिकालाई हाँक्न सक्ने खुबी भएको घिमिरेले दाबी गरिन् ।
व्यास नगरपालिकाकी उपमेयर मिरा जोशीले पाँच बर्षको अनुभव र सक्षमताका कारण आफुले मेयरमा दाबी गर्ने बताइन् । ‘चुप लागेर बस्दैनौँ । मेयरको टिकट खासेर पनि लिने हो । मुकविला गर्ने हो । मेयरको आकांक्षी धेरै भएकाले टिकट कसलाई दिने पार्टीकै हातमा छ’, उनले भनिन् । आफूसँगै राजनीति गरेका पुरुषहरु प्रदेश र संघमा पुगेर नेतृत्व गरिरहेकाले उपमेयरमा निर्वाचन लड्ने उनले बताइन् ।
समाज अझै पितृसतात्मक भएकाले महिलामैत्री नभएकोमा उनको गुनासो छ । महिलालाइै झोला बोकाएर निर्वाचन प्रचासप्रसारमा प्रयोग भइरहेको बेला प्रमुख या उपप्रमुख महिला हुनैपर्ने बाध्यकारी नियमले भने स्थानीय तहमा महिला सहभागिता बढाएको उनको भनाइ छ ।