सोसल मिडिया
Contact Us
युनिकोड
नयाँ दिल्ली, १९ चैत : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट भारतमा विद्युत निर्यात गर्ने योजनाले नेपालको आर्थिक प्रगतिमा ठूलो योगदान पुग्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले पञ्चेश्वर परियोजनालाई गति दिन दुवै देशका प्रधानमन्त्री सहमत भएको जनाउँदै विद्युत निर्यातले नेपालको अर्थतन्त्रमा सुधार आउने समेत मोदीले बताएका हुन् ।
‘भारतीय कम्पनीद्वारा नेपालको विद्युत परियोजनामा अझ धेरै भागेदारीका विषयमा सहमति व्यक्त गरेका छौं,’ मोदीले हैदरावाद हाउसबाट भने, ‘अब नेपालले भारतका लागि विद्युत निर्यात गर्दैछ, यसले नेपालको आर्थिक प्रगतिमा योगदान दिनेछ ।’
नेपालमा ‘रुपे’को कार्डको सुरुवातपछि आर्थिक कनेक्टीभिटी नयाँ अध्याय सुरु भएको जनाउँदै मोदीले अरु नेपाल प्रहरी प्रतिष्ठान, नेपालगञ्जको एकीकृत चेकपोष्ट र रामायण सर्किटले दुवै देशलाई थप नजिक जोड्ने उनले जनाए ।
देउवासँग व्यापार र क्रस बोर्डर कनेक्टिभिटीलाई प्राथमिकता दिने विषयमा जोड गरेको उल्लेख गर्दै जयनगर–कुर्था रेललाइनको उद्घाटन सुरुवाती मात्रै भएको मोदीको भनाइ छ ।
'नेपालको शान्ति, प्रगति र विकासको यात्रामा भारतको हमेशा सहयोग'
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रगति र विकासको यात्रामा भारतको सदा सहयोग रहने बताएका छन् । ‘नेपालको शान्ति, प्रगति र विकासको यात्रामा भारतको हमेशा सहयोग हुनेछ’, तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरवहादुर देउवासँग नयाँ दिल्लीको हैदराबाद हाउसमा भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्र्दै प्रधानमन्त्री मोदीले भने ।
प्रधानमन्त्री मोदीले भारत र नेपालबीचको सम्बन्ध विश्वमै अद्धितीय रहेको बताए । नेपाल र भारतबीचको सम्बन्ध सदियौँकालदेखि रहेको पनि उनले बताए ।
'पञ्चेश्वर परियोजना गेम चेन्जर साबित हुनेछ'
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजना तेज गतिमा अगाडि बढाउन सहमति भएको बताएका छन् । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग नयाँ दिल्लीको हैदराबाद हाउसमा भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले पन्चेश्वर परियोजनालाई तीव्र ढंगले अगाडि बढाउन सहमत भएको बताएका हुन् ।
यो परियोजना यस क्षेत्रको विकासका लागि एउटा गेम चेन्जर साबित हुने मोदीले विश्वास व्यक्त गरे ।
माेदीले विभिन्न परियोजनाको प्रगतिको समीक्षा र भविष्यको रुपरेखाबारे बिचार विमर्श गरेको बताए । उर्जा क्षेत्रमा दुबै पक्षले लाभ उठाउने विषयमा पूर्णसहमत भएको पनि उनले बताए ।
मोदीले पुरानै आश्वासन दोहार्याए
भारतीय प्रधानमन्त्रीले पञ्चेश्वर परियोजनालाई तिव्र रुपमा अघि बढाउने आश्वासन नेपाललाई दिएका छन् ।
नयाँदिल्लीमा शनिबार दुई देशका प्रधानमन्त्री सम्मिलित नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले उक्त आश्वासन दिएका हुन् ।
‘पञ्चेश्वर परियोजना तिव्र रुपमा अघि बढाउन जोड दिएका छौं । यो परियोजना यस क्षेत्रका जनताको लागि एउटा गेम चेन्जर परियोजना हुनेछ,’ भारतीय प्रधानमन्त्री मोदीले भने ।
भारतीय आनकानीका कारण सम्झौता भएको लामो समय बितिसक्दा पनि पञ्चेश्वर परियोजनाले गति लिन सकेको छैन ।
नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्दा होस् वा भारतीय प्रधानमन्त्री नेपाल आउँदा प्रत्येक पटक पञ्चेश्वर मुद्दा उठ्ने गरेको छ । प्रत्येक पटक भारतीय पक्षले पञ्चेश्वर परियोजनालाई तिव्र रुपमा अघि बढाउने आश्वासन दिंदै आएको छ । यसपटक प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको बेला पनि भारतीय प्रधानमन्त्रीले सो आश्वासन दिएका हुन् ।
‘नेपाल बढी भएको विद्युत भारतमा निकासी गरिरहेको छ । यो राम्रो कुरा हो । यसले नेपालको विकासमा सहयोग गर्नेछ,’ मोदीले भने ।
मोदीले प्रधानमन्त्री देउवा भारतको पुरानो साथी भएको उल्लेख गर्दै भारत र नेपालको मित्रता तथा जनताको सम्बन्ध विश्वमा कहिं कतै देख्न नपाइेने दाबी गरे ।
‘हाम्रो सम्भयता, संस्कृति प्राचिनकालदेखि जोडिएको छ । सदियौदेखि हामी सुख–दुःखका साथी बनेका छौं,’ भारतीय प्रधानमन्त्री मोदीले भने ।
भेटवार्तामा व्यापार र सबै प्रकारका क्रस बोर्डर कनेक्टीभिटीमा जोड दिएको उनले जनाए ।