भान्से साहः ‘करजन्हादेखि लण्डनसम्म’

मंगलबार, फागुन २५, २०७७

काठमाडौं । सिरहाको करजन्हामा एक सामान्य परिवारमा जन्मिनुभएका सेफ सन्तोष साहलाई थाहा थिएन कमजोर मान्छेले यति ठूलो सफलता हात पार्छ भनेर । एक भान्सेले सफलताको यो शिखर चुम्छ भन्ने के थाहा ? उहाँ तिनै नेपाली भान्से हुनुहुन्छ जसले बेलायतको चर्चित प्रसारण संस्थाद्वारा प्रवद्र्धित ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ का उपविजेता बने । विश्वभर सेफ आज साहको चर्चा चुलिएको छ । प्रतियोगितामा पाककलामा उत्कृष्ट प्रदर्शन गर्दैसाह चर्चित बने । उनले नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको शान र गरिमालाई  उँचो बनाउन भूमिका खेले । 
संसारभरका १०१ प्रतिस्पर्धीले भाग लिएको प्रतियोगिताको ‘ग्राण्ड फिनाले’सम्म पुग्ने अन्तिम तीनमा साह पनि थिए । ग्राण्ड फिनाले एपिसोडमा नेपाली ढाकाटोपीमा देखिएका साह दोस्रो बने । उनले अन्तिम प्रस्तुतिमा नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरेर नेपाली प्रशंसा बटुलेका थिए । चार महिना चार दिन अवधिको सोमा साहले शुरुदेखि अन्तितसम्म निर्णायकको मन जित्न सफल भए । प्रतियोगिता अवधिभरका सबै खानाका परिकार आकर्षक भएकाले सफलता मिलेको साहको भनाइ छ । 
विश्वचर्चित सञ्चारमाध्यमले साहलाई ‘सेलीब्रेटी’ बनाए । विश्व बजारमा  नेपाली खानाको प्रवद्र्धन गर्ने योजना बनाएका साहले खाद्य गुणस्तर अभिवृद्धिबारे सचेतना फैलाउनका लागिपर्ने बताए । उनले बेलायतमा छिट्टै रेष्टुरेण्ट सञ्चालन गर्ने र नेपालमा पनि खोल्ने योजना बनाएका छन् ।  साह भन्छन्, ‘जति उपलब्धि छ, त्यसैमा खुशी हुन सिक्नुपर्छ । जब म प्लाष्टिकको झोला र पाउरोटी बेच्थेँ, त्यतिबेला पनि खुशी थिएँ, अहिले यो सफलतामा पनि खुशी नै छु ।’ 
उनी आमा सुमारीदेवीलाई भेट्न आइतबार ‘मदर्स डे’मा जन्मघर करजन्हा जाँदै छन्  । उनी नेपालका धनगढी, जनकपुरलगायत शहरमा प्रेरणास्पद प्रवचन दिन पनि जाने कार्यक्रम छ ।   उनी ‘फुड इन हाइजिन’ लाई ध्यान दिएर विदेशी पर्यटकका लागि गुणस्तरीय सेवा प्रदान गर्न सके नेपालको लागि फाइदा पुग्ने बताउँछन् ।  देशभित्र भान्से र खानाले महत्व नपाएका अवस्थामा यस क्षेत्रमा पनि केही गरौँ भन्ने उद्देश्यका साथ सङ्घर्षको यात्रा शुरु गरिएको साहले बताए । 
उनले सेफकै लागि १० वर्ष भारतमा काम गरेको भए पनि नेपालको खाना र पहिचानका लागि केही गरौँ भनेर दिलैदेखि सोच आएकाले अहिलेको सफलता मिलेको बताए । 

साहको सङ्घर्ष 

करजन्हा–४ को सामान्य किसान परिवारका पाँच दाजुभाइ र दुई दिदीबहिनी गरी सातमध्ये सबैभन्दा कान्छा उनी करजन्हादेखि लण्डनसम्मको सङ्घर्ष र सफलताको जीवन यात्रामा अनेकन आयाम छन् । साहकै भाषामा, ‘म जस्तो भान्सेले यत्तिको सफलता पाउँछ भन्ने सोचेकै थिइन  तर अदम्य साहस र  निरन्तरताको लगावले मलाई सफलतातिर डो¥यायो ।’ उनका दाजुभाइमध्ये केही नेपालका बर्दिबास र सिन्धुली, डुमे्र तथा अमेरिकामा होटेल र अन्य व्यापारव्यवसायमा संलग्न छन् ।  पाँच वर्षको उमेरमै बुबा सीताराम सुडीको साथ गुमाएका साहले १० वर्षको उमेरदेखि काम गर्न थालेका हुन् । सिरहा बजारमा प्लाष्टिकको झोला बेच्नेदेखि पाउरोटी किनेर बेचेको पनि उनीसँग अनुभव छ । 
नेपालमा कक्षा १० सम्म अध्ययन गर्नुभएका ३५ वर्षीय साह एसएलसी उत्तीर्ण गर्न नसकेपछि कामको खोजीमा सन् २००० मा १५ वर्षका उमेरमै भारतको गुजरात पुगे । उनले अहमदावादको एक रेष्टुरेण्टमा भाडा माझे । एकपछि अर्को होटलमा काम गरेर नयाँ अनुभव उनले सम्हालेका छन् । कामकै सिलसिलामा पकाउन सिक्नुभयो, अनि अङ्ग्रेजी भाषाको ज्ञान लिए । पछि होटल व्यवस्थापनमा डिप्लोमा गरेर सात वर्षमै उनी पाँचतारे होटलको सेफ बने ।
सेफ साहले भारतमा खानेकुरा महोत्सवसमेत आयोजना गरे । महोत्सवले साहबारे तारिफ बढ्यो । लगत्तै बेलायतबाट एक गुजराती व्यवसायीका सहयोगीले साहलाई बेलायतमा रहेर काम गर्ने प्रस्ताव राखे । उनी सन् २०१० मा बेलायत गएका हुन् । बेलायतकै ललित होटल र भारतको बनारसमा समेत उनले काम गरे । दुःख, सङ्घर्ष र सफलताले साहको जीवन बदलिएको छ । 
 

गुजरातदेखि लण्डनसम्म 

साहले भारतको लायन हिल्स रिसोर्टमा १६ महिना काम गरे । शुरुमा पाँच महिना भाँडा धुने काम गरे । त्यसपछि सेफ बन्ने अवसर पाए । सोही समयमा उनले तन्दुरीको काम सिके । अर्को रेष्टुरेण्टमा काम गर्ने अवसर उनलाई मिल्यो । कामका दौरानमै साहले भारतको चेन्नइबाट अङ्ग्रेजी भाषा र कम्प्युटर कोर्स गरे । भारतमा अनुभव बटुलेपछि बेलायतको राजधानी लण्डन पुग्ने अवसर उनलाई जुट्यो । लण्डनमा ‘दि स्पाइसी अफेयर्स’ रेष्टुरेण्टमा सेफका रूपमा उनले काम गरे । एक वर्षका अवधिमा अरु दुई रेष्टुरेण्ट परिवर्तन गरे । बनारस भन्ने रेस्टुरेन्टमा तीन वर्ष काम गरे । हाल उनी ‘सिनामन ग्रुप’ अन्तर्गतको रेष्टुरेण्टमा काम गर्छन् । लण्डनमा साततारे होटलभन्दा रेष्टुरेण्टको सेफको ‘भ्यालु’ हुन्छ । 
साह पाँच भाषामा आफ्नो कामकोे  अनुभव समेटी पुस्तक प्रकाशन गर्ने तयारीमा छन् । पेन्गुइन पब्लिकेशनले साहको ‘कुक बुक’ पुस्तक प्रकाशन गर्नेछ । उनले खानाको विश्वव्यापी मार्गचित्र बनाइएको जनाउँदै लण्डनबाटै प्रवचन शुरु गरिने जानकारी दिए । सरसफाइ र स्वच्छतालाई अभियानकै रूपमा नेपाल अघि बढे सफलतामा पुग्न सकिन्छ भन्ने उनको ठम्याइ छ ।
अन्तिम प्रतिस्पर्धामा भान्से साहले राँगाका मासु, खोले साग, भेडाको गिदीलगायत परिकार पकाएर चरेशको थालमा पस्किएका थिए । खानासँगै उनले नेवारी समुदायमा सगुनका रूपमा प्रचलित ‘ऐला’ पनि ‘सर्भ’ गरेका थिए । 
बिबिसी मास्टर सेफमा नेपाली खानासहित भाग लिने पहिलो सेफ साहको फाइनलसम्मको यात्रा प्रभावशाली रह्यो, जसले उनलाई विश्वस्तरमा प्रतिष्ठित बनायो । सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भाङको अचारलगायत दर्जनौँ मौलिक नेपाली परिकार विश्वभरका दर्शकमाझ पस्किएका साह देशविदेशका लाखौँ नेपालीको मन जित्न सफल भएका छन् । ‘म सिम्पल खाना बनाउँछु, नेपालीहरू अति नै सिम्पल छौँ, नेपालीपन नेपाली मनका साथ मौलिक खानाको परिकारको प्रस्तुतिले मेरो सफलता मिलेको हो’,  नेपाली भान्से साहले भने । उनको विचारमा नेपालीको विशेषता नै सरलीकृत जीवनशैली हो र आतिथ्यका क्षेत्रमा नेपालीले मात्रै विश्वलाई जित्न सक्छ ।–रासस

प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  २०:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार