परराष्ट्रमन्त्री र कार्यवाहक राजदूतद्वारा बालमन्दिर विद्यालयको शिलान्यास

मंगलबार, चैत २२, २०७८
मयुर प्लाई

उदयपुर, २२ चैत । परराष्ट्र मन्त्री डा. नारायण खड्का र नेपालका लागि भारतका कार्यबाहाक राजदूत नामग्य सी खाम्पाले उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका– १० बोक्सेमा नवनिर्मित बालमन्दिर माध्यामिक विद्यालयको भवन संयुक्त रुपमा शिलान्यास गरेका छन्। 

भारतीय राजदूतावासको सहयोगमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेस्थित बालमन्दिर माध्यमिक विद्यालय परिसरमा निर्माण हुने भवनको एक कार्यक्रमको बीच संयुक्त रुपमा शिलन्यास गरिएको हो ।

परराष्ट्रमन्त्री तथा उदयपुरको निर्वाचन क्षेत्र १ का प्रतिनिधि सभा सदस्य डा. नारायण खड्का र भारतीय कार्यवाहक राजदूत नामग्य सी खाम्पाले मंगलबार शिलान्यास गरेका हुन् ।

भारत सरकारको सहकार्य अन्तर्गत निर्माण हुन लागेको भवन ३ करोड ४० लाख ८० हजारमा थापा निर्माण सेवा प्रा.लि रामेछापले आगामी २०७९ पौष २१ गते सम्म निर्माण गर्ने गरि ठेक्का सम्झौता गरिएको छ । एक हजार बढी विद्यार्थी अध्ययन गर्ने बालमन्दिर माध्यमिक विद्यालयमा २१ कोठे भवन निर्माण हुन लागेको हो । भवन शिलान्यास गर्दै परराष्ट्र मन्त्री डा. नारायण खड्काले गुणस्तरीय शिक्षाको लागि भौतिक पूर्वाधार गुणस्तरीय हुनु पर्ने भएकाले स्थानीयको मागको आधारमा  भारतीय राजदूताबाससँग भवन निर्माणको लागि पहल गरेको स्पष्ट पारे ।

आफ्नो पहलमा उदयपुरका अन्य विद्यालयहरुमा पनि भारतीय राजदूताबासको सहयोगमा विद्यालय भवनहरु निर्माण भैरहेको र कतिपय स्थानमा निर्माण सम्पन्न भएको उनले जानकारी दिए । उदयपुरमा पूर्वाधार विकासको क्रम सुरु भएको र विमानस्थल निर्माणले समेत गति लिएको परराष्ट्र मन्त्री खड्काले बताए । डा. खड्काले उदयपुरका नागरिकहरुलाई स्वास्थ्य सेवा दिनको लागि सुविधा सम्पन्न अस्पताल निर्माणको लागि समेत आफ्नो निरन्तर पहल भैरहेको बताए ।

भारतीय कार्यवाहक राजदूत नामग्य सी खाम्पाले प्रदेश नम्बर १ मा मात्रै ७९ वटा विभिन्न योजनाहरु भारत सरकारको सहयोगमा निर्माण भैरहेको र त्यसमा पनि उदयपुरमा ९ वटा योजनाहरु निर्माण भएको जानकारी दिए । कार्यवाहाक राजदूतले डा. नारायण खड्काले यस क्षेत्रको विकासको लागि भारत सरकारसंग गरिएको पहलको आधारमा सहयोग गरिएको बताए ।

त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले त्रियुगा नगरपालिकालाई उप महानगरपालिका निर्माणको लागि पूर्वाधारहरु जुटाउने काममा लागि परेको बताए । चौधरीले त्रियुगा नगरपालिका क्षेत्रमा मेडिकल कलेज स्थापनाको लागि परराष्ट्र मन्त्री डा. नारायण खड्का र भारतीय राजदुतावासलाई सहयोगको अपिल समेत गरे ।

भवन निर्माणको लागि एक बर्ष अघि नै भारतीय राजदुतावास, संघिय मामिला मन्त्रालय र त्रियुगा नगरपालिका बिच त्रिपक्षिय सम्झौता भै भवन निर्माणको क्रम अघि बढेको भएता पनि कोभिडका कारणले गर्दा शिलन्यासको काम भने पछि हुन पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकासकुमार खड्काले जानकारी दिए ।

भवन निर्माणको लागि सहयोग पुर्‍याउने परराष्ट्रमन्त्री डा. नारायण खड्का, भारतीय राजदूतावास र त्रियुगा नगरपालिकालाई धन्यवाद समेत दिए । भारतीय राजदूतावासको सहयोगमा भवन निर्माण हुने भएपछि साघुरो भौतिक संरचनामा हुदै आएको पठनपाठन सहज हुने विद्यालयका प्रध्यानध्यापक जंगबहादुर खड्काले जानकारी दिए ।
 

 

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  २१:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार