सोसल मिडिया
Contact Us
युनिकोड
लालितपुर, २६ चैत । स्थानीय निर्वाचन आउन एक महिना बाँकी छँदा दक्षिण ललितपुरको गोदावरी नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा मेयरको आकांक्षा राख्ने नेताहरुको लर्काे लागेको छ । नेपाली कांग्रेसमा अहिलेको मेयर गजेन्द्र महर्जनको टिमनै दोहोरिने दाउमा छ भने पुरुषोत्तम सिलवाल, चक्र महर्जन र रामशरण घिमिरेलगायत दावेदारी प्रस्तुत गर्न दौडधुपमा छन् । एमालेभित्र प्रदेश सांसद चेतनाथ सञ्जेल र नेता गम्भीर रानाको मेयर पदमा उम्मेदवारी चर्चा सुरू भएको छ । माओवादी केन्द्रका महेन्द्र श्रेष्ठ, भाग्यराम महर्जन, न्हुँच्छेराम महर्जन रामप्रसाद दाहालले पनि मेयरको आकांक्षा देखाएका छन् । माओवादीबाट गोदावरी नगरका अध्यक्ष समेत रहेका महर्जन गठबन्धनसँग मिलेर उम्मेदवारी दिने तयारीमा छन् । उनी भन्छन्, ‘सम्मानजनक अवस्था नभए हामी एक्लै पनि लड्ने सम्भावना छ ।’ बागमती प्रदेश सांसद एमाले नेता चेतनाथ सञ्जेल कार्यकर्ताले आफूलाई मेयर जित्ने पार्टीको उम्मेदवार आफू भएको चर्चा गर्न थालेको सुनाउँछन् । भन्छन्, ‘मैले रहर गरेर मात्रै हुँदैन । पार्टीले जिम्मेवारी दिए भाग्न पनि मिल्दैन ।’ स्थानीय नेता राना भने आफू मेयर पदको उम्मेदवारीको पक्षमा खुलेरै बहस सुरु गरेको बताउँछन् । ‘मैले मेयरको दावी गरेर अघि बढेको छु । खै मैले त कसैले एमालेबाट मेयरको दावी मेरो हो भनेर अघि बढेको देखेको छैन । कोठाकोठामा चाँही के हुन्छ थाहा छैन’ उनी भन्छन् । एमाले गोदावरी नगर कमिटी अध्यक्ष प्रभाकर थापा, ब्रम्हानन्द श्रेष्ठ, रघुनाथ महर्जन र रमेशचन्द्र घिमिरेलगायत मेयरको लागि कार्यकर्ता पंक्तिमा चर्चा हुने गरेको छ । एमालेका एक नेताले भने, ‘एमाले पंक्तिमा मेयरको उम्मेदवारीको चर्चा गम्भीर र चेतनाथको धेरै नै भइरहेको छ । उहाँहरूको कुरा मिलेन भने तेस्रो व्यक्तिको लागि हानथाप होला ।’ सांसद सञ्जेलले नगरपालिकामा उम्मेदवारी दिने अवस्थामा सांसद पद रिक्त हुने र फेरि निर्वाचन गर्नुपर्ने अवस्थाका कारण मेयरमा पार्टीले टिकट दिने सम्भावना कम रहेको उनको भनाइ छ । गोदावरी नगरपालिकाका प्रवक्ता समेत रहेका नेपाली कांग्रेसका नेता मिलन सिलवाल नगरपालिकाका सबै पदाधिकारी फेरि दोहो¥याउने इच्छा देखाइरहेको बताउँछन् । भन्छन्, ‘म आफै पनि गोदावरी–५ नम्बर वडामा फेरि उम्मेदवारी दिने इच्छा व्यक्त गरिरहेको छु ।’ नगरपालिकाका प्रवक्ता सिलवाल नगरपालिकामा आउनासाथ भौतिक संरचना र कानुन नहुँदा भने जसरी काम गर्न नसकेको बताउँछन् । भन्छन्, ‘हामीलाई कोरोनाका कारण काम गर्ने भन्दा पनि जनताको ज्यान जोगाउनतिर लाग्नु पर्यो ।’ उपमेयर मुना अधिकारी स्थानीय निकायमा भर्खर काम गर्ने वातावरण बनेकोले उपमेयरमा फेरि उम्मेदवारीको आकांक्षा राखेको बताउँछिन् । भन्छिन्, ‘सुरुका दिनमा कसरी काम गर्ने धेरै अन्यौल थियो । आफ्नो भवन थिएन कानुन थिएन । लामो समय स्थानीय निकाय रिक्त थियो । कसरी काम गर्ने सिकाइदिने मान्छे थिएनन् ।’ एकीकृत समाजवादीका ललितपुर सहसंयोजक अमृतनाथ तिमल्सिनाले भने आफ्नो पार्टीमा उम्मेदवारीका सम्बन्धमा छलफल चलिनसकेको बताउँछन् । उनी भन्छन्, ‘गठबन्धनमा रहेका दलहरूको जिल्लामा भर्खर संयन्त्र बनेको छ । हामी निर्णय गरेर साझा उम्मेदवार छान्छौं ।’