हावाहुरीले रुख ढल्दा पृथ्वीरामार्ग अवरुद्ध

बुधबार, फागुन २६, २०७७
मयुर प्लाई
Global Ime Bank

दमौली । पृथ्वीराजमार्गस्थित तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित रिठेपानीमा रुख ढल्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । दिउँसो आएको हावाहुरीसहितको वर्षाले रुख ढाल्दा राजमार्ग अवरुद्ध भएको हो । साना सवारी सञ्चालन भए पनि ठूला सवारीसाधन रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिए । बेलचौताराबाट एस्काभेटर मगाएर रुख पन्छाएर राजमार्ग सञ्चालन गरिएको छ ।

असिना पानीका कारण क्षति
हावाहुरीसहितको असिना पानीका कारण आज तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी र आसपासका क्षेत्रमा खेतीबालीमा क्षति पुगेको छ । दिउँसो ३ः०० बजेतिर असिनासहित, हावाहुरी र पानी आएपछि कृषकले लगाएको गोड्ने बेला भएको मकै, तरकारी बालीका साथै वर्षात्को समयलाई लक्षित गरी लगाइएका घिरौँला, करेला, काँक्रो, फर्सी लौका, चिचिन्डोलगायतका लहरेबालीका बिरुवा समेतमा क्षति पुगेको स्थानीयवासी उमादेवी भट्टराईले जानकारी दिइन् । 
असिनाका कारण फुल्दै गरेका सुन्तला, निबुवा, कागतीलगायतका बोट बिरुवालाई पनि क्षति पु¥याएको छ । 
असिनासँगै केही बेर मेघगर्जनका साथ पानी परेपछि दुलेगौडा हुँदै साँखे जाने मोटरबाटोअन्तर्गत ढोरफिर्दीस्थित बराहखोलामा पानी बढेपछि झण्डै एक घण्टा सवारीसाधन आवतजावत पनि ठप्प भएको अर्की स्थानीय सुष्मा पोखेरेलले जानकारी दिइन् । 
उनका अनुसार खोलामा पानी बढेपछि विद्यार्थी लिएर फर्केका स्कूल बससमेत झण्डै एक घण्टासम्म रोकिनुपरेको थियो । ठूलो पानी पर्नुका साथै वर्षातको समयमा बराह खोला बढ्दा सवारीसाधन नै रोकिनुपर्ने समस्याबाट सर्वसाधारण समय–समयमा ग्रसित बन्ने गरेको उल्लेख गर्दै उनले यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने आवश्यकता औँल्याइन् ।–रासस
 

प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  २१:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार