सोसल मिडिया
Contact Us
युनिकोड
गलकोट, २६ चैत । आज चैतेदसैँ । गण्डकी प्रदेशको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका भगवती मन्दिरमा चैतेदसैँको अवसरमा दर्शनार्थीको घुइँचो नै लागेको छ । चैतेदसैँको अवसरमा छिमेकी मुलुक भारतसहित, काठमाडौँ, पोखरा, चितवनलगायतका क्षेत्रबाटसमेत धार्मिक पर्यटक कालिका मन्दिरको दर्शन गर्न आएको बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । कालिका मन्दिरमा दर्शनार्थीको सुरक्षाका लागि बाक्लो सङ्ख्यामा प्रहरीसमेत परिचालन गरिएको छ । चैतेदसैँ सुरु भएसँगै कालिका मन्दिरमा चहलपहल बढे पनि आज चैतेदसैँको मुख्य दिनमा बिहान तीन बजेदेखिनै दर्शनार्थीको लाइन लागेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए। “चैतेदसैँ सुरु भएसँगै दर्शनार्थीको चाप बढेकै थियो, आज मुख्य दिन दर्शनार्थीको निकै चाप छ, दर्शनार्थीको व्यवस्थापनका लागि सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिएको छ”, अध्यक्ष खड्काले भने “गण्डकी प्रदेशमा चैतेदसैँको अवसरमा बागलुङ कालिका दर्शन निकै महत्वपूर्ण मानिँदै आएको छ, पछिल्लो समय भइरहेको प्रचारप्रसारका कारण विभिन्न जिल्ला र भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् ।” चैतेदसैँका अवसरमा गुठी व्यवस्थापन समितिले चैत्राष्टमी मेलाको समेत आयोजना गरेको छ । मेला यही चैत २८ गतेसम्म चल्नेछ । अहिले कालिका मन्दिर परिसर दुलहीझैँ सिगारिएको छ ।
चैते दसैँ बागलुङे मेलामा... ‘चैते दसैँ बागलुङको मेलैमा, लाइदेउ माया भेटभाको बेलैमा १’ टीका क्षेत्री प्रकृतिले धेरै वर्ष पहिला बजारमा ल्याएको यो गीतले चैते दसैँको सम्झना गराउँछ । यस्तै मौलिक र चर्चित भाकाको गीत बागलुङमा लाग्ने चैते दसैँ मेलालाई लक्षित गरेर बनेका हुन् ।
चैत शुक्ल पक्षमा मनाइने चैते दसैँ पर्व र योसँगै बागलुङमा मेला लाग्ने चलन पाँच सय वर्ष पुरानो हो भन्छन् बागलुङको इतिहास बुझेका बूढापाका । यो वर्ष पनि चैते दसैँका अवसरमा बागलुङमा मेला लागेको छ । त्यही मेला हेर्नेको बागलुङ कालिका मन्दिर परिसरमा भीड लागेको छ । कोरोना सङ्क्रमणका कारण दुई वर्षसम्म मेला हुन सकेको थिएन । यो वर्ष भने सङ्क्रमण नभएको मौका परेकाले कालिका भगवती गुठी व्यवस्थापन समितिले चैते दसैँ मेला आयोजना गरेको छ । कोरोना महामारीका कारण मन्दिरमा पूजापाठ नै बन्द भएकाले मेला नलागेको हो । यदि मन्दिरमा पूजापाठ हुँदो हो त आयोजना नभए पनि मेला लाग्थ्यो । चैते दसैँ मेला धार्मिक महत्वको मात्र नभई गीतसङ्गीत, खेलकुद र किसानका उत्पादनको बजारीकरण गर्ने पर्वका रुपमा स्थापित भएको गण्डकी प्रदेशका कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर बुढाले बताए । चैते दसैँमा किसानले उत्पादन गरेका कृषि उपज, हस्तकलाका सामान र अन्य सामग्री समेतको बजारीकरण गर्ने पर्वका रुपमा समेत वर्षौंदेखि मनाइने पर्व हो । चैते दसैँ मेला कालिका मन्दिरमा लाग्छ । दुर्गा तिथिमा लाग्ने मेलालाई चैते दसैँका रुपमा मनाइन्छ । यो बेला टाढाबाट घर फर्कनेदेखि कालिका मन्दिरमा पूजा गर्न आउने धेरै हुन्छन् ।
साथै यहाँको मेलामा बागलुङका कला संस्कृतिको संरक्षण, परम्परागत सीपका सामानको बिक्री र बजारीकरणसमेत गरिन्छ । समितिले मेलाकै स्वरुप बनाइदिएपछि यहाँ रमाइलो मेला, फेन्सी तथा अन्य उत्पादनको बजार लागेको छ । कालिका मन्दिर परिसरमा तीन चार दिनदेखि नै मेलाझैँ बनिरहेको छ । साथै चैतेदसैँको अवसरमा अष्टमी र रामनवमीमा यहाँ विशेष पूजा र मेला भर्नेको रौनक हुन्छ । यो मेलालाई व्यवस्थापन गर्न प्रशासन र प्रहरीले पनि आफ्नो सक्रियता बढाएको छ । गुठीले आयोजना गरेको खुला भलिबल प्रतियोगितामा भाग लिन विभिन्न स्थानबाट १७ टोली दर्ता भएका छन् । बिहीबारदेखि नै खेल पनि सुरु भएका छन् । त्यस्तै राष्ट्रिय र स्थानीय कलाकारले आफ्नो प्रस्तुतीकरण गर्ने कार्यक्रमसमेत बनेको छ । बिहानी समयमा पूजा र भलिबल प्रतियोगिता, दिउँसो मेला र साँझ कलाकारको प्रस्तुति रहने गुठीका अध्यक्ष कुमार खड्काले बताए । कोरोनाका कारण गत वर्ष मेला सञ्चालन भएको थिएन । चैतेदसैँ मेलामा १० लाख भक्तजन र पर्यटक आउने अनुमान छ । अघिल्ला वर्षमा यहाँ बिक्री भएको नरिवलको सङ्ख्या र सोही अनुपातमा आउने भक्तजनको मूल्याङ्कन गर्दा १० लाख पर्यटक आएको अनुमान गर्न सकिने गुठीका पूर्वअध्यक्ष राजु खड्काले बताए । पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजोका रुपमा कालिका मूर्ति ल्याएको इतिहास छ । राजाले उक्त मूर्ति घना जङ्गलको बीचमा यहाँ ल्याएर स्थापित गरेपछि पूजा गर्ने चलन बसेको किंवदन्ती छ । अहिले पनि यहाँ चैतेदसैँ र बडा दसैँमा ठूलो मेला लाग्छ भने अन्य समयमा पनि सयौँ भक्तजन आएर पूजा गर्ने क्रम रोकिएको छैन ।
बागलुङको पर्यटन प्रवद्र्धनका लागि पनि यो मेला र कालिका मन्दिर महत्वपूर्ण गन्तव्य भएको पर्यटन समितिका सचिव अर्जुन चोखालले बताए । पछिल्लो समयमा अन्य गन्तव्य सुरु भए पनि बागलुङको पहिचान चैतेदसैँ मेला र कालिका भगवती मन्दिर नै भएको उनको तर्क छ । स्थानीयवासी पनि कालिका मन्दिरमा लाग्ने मेलाको महत्व र यसले जिल्लाकै पर्यटनमा योगदान पुगेको बताउँछन् ।–रासस