आजबाट सुरु भयो भक्तपुरको विस्केट जात्रा

आइतबार, चैत २७, २०७८
मयुर प्लाई
Global Ime Bank

भक्तपुर, २७ चैत : भक्तपुरको प्रसिद्ध विस्केट जात्रा आइतबारदेखि सुरु भएको छ । विस्केट जात्राका लागि आवश्यक नित्यपूजा बिहान ५ बजेबाट सुरु भएसँंगै जात्रा सुरु भएको हो । तर, जात्राको मुख्य आकर्षण भने साँंझ मात्र हुनेछ । साँझ भैरवनाथको रथ तान्ने जात्रा मुख्य आकर्षण हो । गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरकी प्रमुख भीमा ओलीले साँझ तीन बजेबाट भैरवनाथको रथ तान्ने क्रम सुरु गर्ने योजना रहेको बताइन् । 

Avatar

प्रत्येक वर्ष नयाँं वर्ष सुरु हुनु चार दिन अगाडि प्रसिद्ध पाँंचतल्ले मन्दिर अगाडि राखेर बनाएको भैरवनाथको रथ तान्ने गरिन्छ । यसलाई द्यो क्वह विज्याइगू अर्थात देवता तल सवारी हुने भनिन्छ । यस दिन भैरवनाथको रथलाई तानेर नगरको पश्चिमतिर अर्थात् गहिटी, बंशगोपाल क्षेत्रमा लाने गरिन्छ । 

Avatar

रथलाई दुवैतिर मोटोमोटो डोरी राखेर सयौं युवायुवतीहरुले तान्ने गर्दछन् । यो क्रममा जात्रा हेर्न आउनेहरु पनि हजारौं हुन्छन् । रथलाई जता तानेर लगे पनि साँंझ पुनः पाँंचतल्ले मन्दिर अगाडि नै राखेर छोडेपछि पहिलो दिनको जात्रा समापन हुने परम्परा छ । 

आठ रात नौ दिन लामो जात्राको क्रममा प्रत्येक वर्ष वर्षको अन्तिम दिन ल्योसिंखेलमा ५५ हात लामो लिंगो डोरीको सहायताले तानेर उठाइन्छ । वर्षको अन्तिम दिन उठाइने लिंगोलाई भोलिपल्ट अर्थात् वैशाख १ गते साँंझ ढाल्ने गरिन्छ ।  

Avatar

किंम्बदन्ती अनुसार परापूर्वकालमा भक्तपुरमा बस्ने एक प्रतापी राजाको अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी थिइन् । राजाले ती राजकुमारीसँग बिहे गर्नेलाई आफूले राजगद्दी नै सुम्पने बताएपछि राजगद्दी पाउने राजकुमारीसँग बिहे गर्न धेरै कुमारहरू आए । तर, जसले राजकुमारीसँग बिहे गर्थे, उ पहिलो रातमै त्यही ओछ्यानमा मर्दथ्यो । 

एकदिन एक बलवान राजकुमारले राजकुमारीसँग बिहे गरे । राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरूषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनू भनी प्राण त्याग गरे ।

भोलिपल्ट सधैँझैँ गुठीयार राजकुमारको लास लिन जाँदा राजकुमार जीवित नै र दुईवटा नागनागिनी मरेको देखेर सबै खुशी भएर राजाले पनि छोरीलाई अथाह धनसम्पत्ति दाइजो दिएर राजकुमारलाई राजतिलक गरिदिए । अजिङ्गरको स्वरूप हुने नागनागिनी मारिएको खुशीयालीका साथ यो जात्रा मनाउन थालिएको हो र नागनागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको रूखको गोलो परेको लिङ्गो ल्योसिंखेलमा अहिले पनि ठड्याउने गरिन्छ । 

जात्राको अन्तिम दिन पाँंचतल्ले मन्दिर अगाडि राखेर छोडिएको यही भैरवनाथको रथलाई ५ वैशाखकाे साँंझ तानेर लामो जात्रा समापन गरिन्छ । 

बिस्केट जात्रा शान्तिपूर्ण रुपमा मनाउन आह्वानसहितकाे सद्भाव र्‍याली 

भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन आह्वान गर्दै आइतबार विहान सद्भाव र्‍याली तथा जनचेतना कार्यक्रम गरिएको छ । सचेतना कार्यक्रममा भक्तपुर नगरपालिका जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विद्यालय, कलेज, टीम क्लब खेलकुद समिति, सुरक्षाकर्मी, प्रहरी, रेडक्रस, स्काउट, सांस्कृतिक समूह र स्थानीय जनताको उपस्थिति रहेको थियो ।

सचेतना कार्यक्रमपछि टौमढीमा आयोजित सभामा संघीय सांसद प्रेम सुवालले भक्तपुरको प्रसिद्ध बिस्का जात्रा समयमै सम्पन्न गर्न सरोकारवाला निकायहरुले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए । भक्तपुरको सभ्यता र संस्कृतिलाई जोगाउन सद्भाव र्‍यालीको महत्वबारे चर्चा गरे । 

कार्यक्रममा आयोजक भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रा भक्तपुरको प्रसिद्ध जात्रा भएको हुँदा यसलाई सभ्य तरिकाले सम्पन्न गर्न सरोकारवाला निकायहरुसँग समन्वय गरी जात्रा समयमा सम्पन्न गर्न आग्रह गरिरहेको बताए । प्रमुख प्रजापतिले जात्राको समयमा हुने उच्छृंखल गतिविधि हुन नदिन सबैजना सचेत हुनुपर्ने र जात्रालाई सहज रुपमा सञ्चालन गर्न सबैले आआफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्नेमा जोड दिए । 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरको गौरव बढाउने बिस्का जात्रामा आवश्यक शान्ति सुरक्षाको निम्ति व्यवस्था मिलाउने प्रतिबद्धता जनाउँँदै जात्रालाई विगतको भन्दा अझ व्यवस्थित र अनुशासित रुपमा सम्पन्न गर्न सबैको सहयोग रहने विश्वास व्यक्त गरिन् ।

गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख खिमा ओलीले भक्तपुरको धार्मिक र सांस्कृतिक रुपमा महत्व बोकेको प्रसिद्ध बिस्का जात्राबारे कार्यतालिका प्रस्तुत गर्दै बिस्का जात्रा समन्वय, सहकार्य र समझदारीको आधारमा भव्य, सभ्य र सुरक्षित तरिकाले सफल पार्न अनुरोध गरिन् ।

सचेतना कार्यक्रम सुरु हुन अगाडि भक्तपुर-९ को सूर्यमढी र भनपा १ दुधपाटीबाट सुरु भएको सद्भाव र्‍याली टौमढीमा पुगी सभामा परिणत भएको थियो । र्‍यालीमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर-१ का वडाध्यक्ष श्यामकृष्ण खत्री र भक्तपुर-७ का वडाध्यक्ष उकेश कवांले पनि बोलेका थिए । 

 

Avatar

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १४:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार