सोसल मिडिया
Contact Us
युनिकोड
कर्णाली, २८ चैत । सत्तासाझेदार दलले प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाली कांगे्रसका नगर सभापति उपेन्द्र खड्काका अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय संयन्त्रको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा साझेदार दलबीच तालमेल गरेर जाने निर्णय गरेको हो ।
बैठकले पाँच दलको केन्द्र, प्रदेश र जिल्लाको निर्देशन अनुसार स्थानीयस्तरमा गठबन्धनको मर्म तथा भावना अनुसार व्यवहार गर्ने निर्णय गरेको छ । कांगे्रस नगर सभापति खड्काले पार्टीका नगर कमिटीका प्रमुखहरु सम्मिलित संयन्त्र निर्माण गरी नियमित बैठक बस्ने, आवश्यकताका आधारमा अन्य प्रतिनिधिलाई संयन्त्रमा बोलाउने निर्णय गरिएको जानकारी दिए । बैठकमा नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष रत्न गाहा, नेकपा (एकिकृत समाजवादी) का लोकप्रसाद चालिसे, राष्ट्रिय जनमोर्चाका विष्णु शर्मा र जनता समाजवादी पार्टीका फत्तेबहादुर सोती मगर सहभागी थिए । यसअघि सुर्खेतस्थित ती दलहरुको बैठकले निर्वाचनमा जिल्लाका नौ वटै पालिकामा उम्मेदवारीमा तालमेल गर्ने र पालिकास्तरीय संयन्त्रलाई क्रियाशिल बनाउने लगायतका निर्णय गरेको थियो ।
सत्तासाझेदार दलले तनहुँको पालिका स्तरमा सुझाव सङ्कलन गर्ने स्थानीय तह निर्वाचनका लागि सत्तासाझेदार दलले तनहुँका सबै पालिकामा सुझाव सङ्कलन गर्ने भएको छ । अगामी वैशाख ३० गते हुने सो निर्वाचन लागि जिल्लास्तरीय गठबन्धन समितिको आइतबार बसेको बैठकले दशवटै पालिकामा सुझाव सङ्कलन गर्ने निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रको कार्यालयमा बसेको बैठकले चार नगरपालिका र छ गाउँपालिकामा पालिकास्तरीय सुझाव सङ्कलन गरी अर्को बैठक वैशाख २ गते बस्ने निर्णय गरेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए। “गठबन्धनलाई बलियो बनाउनका लागि पालिकास्तरीय सुझाव सङ्कलन गरी कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकले सहमति गरेको छ”, उनले भने, “पालिकास्तरमा बैठक राखेर सुझाव सङ्कलन गर्छौ ।” कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरिसकेका छन् । बैठकमा कांग्रेस जिल्ला सभापति जितप्रकाश आले, माओवादी केन्द्रका अध्यक्ष राजेन्द्रकेशरी न्यौपाने, एकीकृत समाजवादीका जिल्ला सचिव श्रीराम कार्की लगायतको सहभागिता थियो ।
माओवादीद्वारा उम्मेदवार छनौट
स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी म्याग्दे कमिटीले उम्मेदवार सिफारिस गरेको छ । माओवादीले अध्यक्ष, उपाध्यक्ष र सबै वडा कमिटीमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो । गाउँपालिकाको अध्यक्षमा दिलीपकुमार श्रेष्ठ र उपाध्यक्षमा जमुना अधिकारी सिफारिस भएकी छन् । यस्तै वडा नम्बर १ मा टेकबहादुर रसाइली, २ मा तिलक थापा, ३ मा शोभाकर दाहाल, ४ मा राजु राना, ५ मा विशाल विक, ६ मा प्रकाश भण्डारी र ७ मा बालकृष्ण श्रेष्ठ सिफारिस भएका छन् ।–रासस