सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १ वैशाख । नयाँ वर्षका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र साझा प्रकाशनले संयुक्तरुपमा दुईहप्ते पुस्तक प्रदर्शनी सुरु गरेका छन् । प्रज्ञाको भानुभक्त कक्षमा चैत ३० गते बुधबारदेखि सुरु भएको प्रदर्शनीमा प्रतिष्ठानले २०३० सालदेखि २०७८ सालसम्म प्रकाशन भएका पुस्तक बिक्रीमा राखिएको छ । धिमाल लोक जीवन अध्ययन, कार्बोनिक रसायन शास्त्रका पुराना पुस्तक र नेपाली बृहत् शब्दकोश परिमार्जनसहित दशौँ संस्करणसमेत प्रदर्शनीमा समावेश गरिएको छ । प्रदर्शनीमा प्रज्ञाले प्रकाशन गरेको ‘तस्बिर र नेपाल’, ‘नेपालको धड्कन पञ्चेबाजा’, ‘साङ्ख्य दर्शन र माक्र्सवाद’, ‘द्वि–शैक्षणिक व्याकरण’, ‘नेपाल उपत्यकाका केही जात्रा’, ‘रामानुजाचार्यको विशिष्टाद्वैत दर्शन’, ‘माक्र्सवादी सौन्दर्य चिन्तन’, ‘सुमति’, ‘नेपालका जातीय सामाजिक संस्कार भाग–७’ लगायत विसं २०७८ मा प्रकाशन भएका पुस्तक पनि प्रदर्शनीमा राखिएको छ । विसं २०१५ मा प्रकाशित कालीदासको रघुवंश महाकाव्य, सोमनाथ सिग्द्येलको सिद्धान्त कौमुदी, कुलचन्द्र गौतमको कविता राघवालङ्कार, दिनेशराज पन्त र विष्णु प्रभातले संयोजन गरेको दर्शनावली भाग ७, काव्य विमर्श र नेपालका जातस्य संस्कार खण्ड १, २, ३, ४, ५ र ६ जस्ता हजारौँ पुस्तक प्रज्ञाबाट प्रकाशन भइसकेका छन् । प्रदर्शनीमा पाठकको भीड लाग्न थालेको छ । प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनसम्बन्धी पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य थायभू, आँगनलगायतका धेरै विषयका पठनीय अति उपयोगी झण्डै ५०० थरीका पुस्तक, पत्रपत्रिका समावेश गरिएको छ । यसैगरी साझा प्रकाशनले प्रकाशन गरेका ३०० थरीका पुस्तक प्रदर्शनीमा राखिएको छ ।
लोकवार्ता विवेचना, तुफुका कविता, बोटे भाषाको व्याकरण, मातृभाषा साहित्यको इतिहास, विश्वप्रख्यात नारीका कथा र प्रज्ञा नेपाली समालोचना, प्रज्ञा मैथिली नेपाली शब्दकोष, चीनका प्राचीन कथा, अमरकोश, प्रज्ञा भोजपुरी नेपाली शब्दकोष, पाकिस्तानी महिला लेखन जस्ता ४० भन्दाबढी पुस्तक पनि प्रदर्शनीमा राखिएको छ । नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था रहेको छ । प्रतिष्ठानबाट सुुरु प्रकाशन भएदेखि २०७८ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको जानकारी प्रदर्शनी व्यवस्थापक सुधीर ढुङ्गेलले दिए। माटोको ममता, महेन्द्र प्रवचन माला जस्ता रु तीनदेखि नेपाली बृहत् शब्दकोशको रु एक हजार ८९५ मूल्य सम्मका पुस्तक प्रदर्शनीमा राखिएको उनले सुनाए । यसभन्दाअघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ । यसैगरी यसअघिका प्रदर्शनीमा बाल साहित्यका पनि धेरै पुस्तक बिक्री भएको छ । दैनिक १०० भन्दाबढी पाठकले प्रदर्शनी अवलोकन गर्न आउने गरेका छन् । दैनिक रु १५ देखि २० हजार भन्दाबढी पुस्तक बिक्री हुने गरेकोसमेत व्यवस्थापक ढुङ्गेलले बताए ।