भूउपयोग व्यवस्थापन कार्य सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री देउवा

बिहीबार, वैशाख १, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ, १ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले भूउपयोग व्यवस्थापनको कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।  लिखत रजिस्ट्रेशन पारित भएको १०० वर्ष पुगेका अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भूमि प्रशासनको क्षेत्रमा रहेका जनताका गुनासोको यथोचित सम्बोधन गर्दै यस क्षेत्रलाई स्वच्छ, स्वचालित र पारदर्शी बनाउन आवश्यक रहेकामा जोड दिए ।

प्रधानमन्त्री देउवाले भने, “भूमि प्रशासनसम्बन्धी सेवामा सुशासन अभिवृद्धि गर्दै भूमिको नापजाँच तथा तथ्याङ्कलाई थप गुणस्तरीय र विश्वसनीय बनाउनु पर्दछ । जग्गाको लगत र पुराना ऐतिहासिक अभिलेखको सुरक्षा र व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने खाँचो छ । यस सन्दर्भमा भूमि प्रशासनलाई चुस्त बनाउन अहिले मन्त्रालयले सेवा प्रवाहको आधुनिकीकरण गर्ने, अनलाइन प्रविधिबाटै जग्गाको कारोबार गर्ने, आफ्नो विवरण आफैँ हेर्नसक्ने, कार्यालयमा नगइकनै सेवा प्राप्त गर्नसक्ने प्रणालीको विकास गरेको जानकारी पाउँदा मलाई खुसी लागेको छ । यसलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउँदै जानुपर्छ ।”
नेपालमा पहिलो पटक विसं १९७९ वैशाख १ गते घर जग्गा कारोबारको लिखत रजिस्ट्रेशन पारित भएको एक शताब्दी पुरा भएको ऐतिहासिक अवसरमा कार्यक्रम आयोजना गरिएको हो । नेपालका करीब दुई तिहाइ परिवार भूमिमा आश्रित रहेको उल्लेख गर्दै उनले ग्रामीण क्षेत्रमा अधिकांश परिवारको जीविकोपार्जनको मुख्य साधन भूमि नै भएको बताए । 
नेपालको संविधानले सामाजिक न्याय र समानताको प्रत्याभूति गर्ने सन्दर्भमा मौलिक हकअन्तर्गत नै भूमिहीन दलितलाई एकपटक जग्गा उपलब्ध गराउने व्यवस्था गरेको छ । त्यस्तै किसानलाई कृषियोग्य जग्गामा पहुँच उपलब्ध गराउने, भूमिहीन सुकुम्बासी, मुक्त कमैया, हलिया र अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्ने विषय पनि संविधानले सुनिश्चित गरेको छ ।
भूमिको पूर्णरूपमा समुचित उपयोग हुन नसकेको, धेरै जग्गा बाँझो र उपयोगविहीन अवस्थामा रहन गएको कारण एकातर्फ उत्पादन घटेको र खाद्य असुरक्षा बढेको छ भने अर्कोतर्फ खाद्यान्न आयात बढ्न पुगी व्यापार घाटा अस्वाभाविकरूपमा बढेको छ । उनले विकास निर्माण कार्य सञ्चालन गर्न र उद्योगधन्दा कलकारखाना खोल्न जग्गा उपलब्ध गर्ने कार्य प्रत्यक्षरूपमा भूमिसँग सम्बन्धित रहेकाले यससँग सम्बन्धित समस्यालाई सम्बोधन गर्नुपर्ने बताए । 
“भूमिको समुचित उपयोग नहुँदा जलवायु परिवर्तनका असर देखिएका छन । कृषियोग्य जग्गाको अनियन्त्रित ढङ्गले हुने खण्डीकरणले गर्दा अव्यवस्थित शहरीकरण र बस्तीहरूमा विपद् जोखिम बढ्नुका साथै प्राकृतिक स्रोतको अत्यधिक दोहन, दुरुपयोग र विनाश हुने हुँदा यसलाई व्यवस्थित गर्नु आवश्यक छ”, प्रधानमन्त्री देउवाले भने । 
अहिले विभिन्न निहुँमा सरकारी, सार्वजनिक, सामुदायिक र गुठी जग्गामा अतिक्रमण गर्ने प्रवृत्ति बढेको बताउँदै उहाँले यसलाई नियन्त्रण गर्न भूमि प्रशासनका क्षेत्रमा संलग्न सबै संयन्त्रले थप चनाखो भई काम गर्न निर्देशन दिए। 
भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीका समस्या सधैँका लागि समाधान गर्न ‘राष्ट्रिय भूमि आयोग’ गठन गरी देशभर कार्य भइरहेको जानकारी दिँदै उनले यो कार्य संयुक्त सरकारको सबैभन्दा प्राथमिकता प्राप्त कार्यमध्ये एक भएकाले साझा न्यूनतम कार्यक्रमअन्तर्गत नै राखेर अगाडि बढाइएको स्पष्ट पारे । 
आयोगले विभिन्न स्थानमा भूमिहीनको पहिचान, प्रमाणीकरण र अभिलेखनको कार्य सम्पन्न गरी पुर्जा वितरणको कार्यसमेत सुरू गरिसकेको उनको भनाइ थियो । विगतमा पहिचान हुन छुट भएका वा पहिचान भएर पनि सुविधा प्राप्त गर्नबाट वञ्चित मुक्त कमैया, हलिया, कम्लरी र हरुवाचरुवाको पुनःस्थापन गर्न सरकारले आवश्यक तयारी सुरु गरिसकेको उनले बताए । 
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का  नेता झलनाथ खनालले भूमि प्रशासन र भूमि सुधारमा नयाँ प्रविधिको प्रयोग गरी जनतालाई प्रभावकारी सेवा दिनुपर्नेमा जोड दिए । उनले भूमि प्रशासन क्षेत्रमा गर्नुपर्ने सुधारका काम अझै बाँकी रहेको औँल्याउँदै संविधान र व्यवस्थाअनुसार प्रशासन क्षेत्रमा रुपान्तरण हुनु अपरिहार्य रहेको धारणा व्यक्त गरे । 
मन्त्री शशि श्रेष्ठले नेपालको भूमि व्यवस्था प्रणालीको इतिहास हेर्दा धेरै फड्को मारेको उल्लेख गर्दै समय र प्रविधिको विकाससँगै मन्त्रालयले यस क्षेत्रमा सुधारका आवश्यक कार्य गरिरहेको जानकारी दिइन् । उनले मन्त्रालयले भूमिको उचित व्यवस्थापनका लागि भूउपयोग नीति र ऐन कार्यान्वयन रहेको उल्लेख गर्दै जनमुखी कार्यक्रमसमेत अघि बढाएको जानकारी गराइन् । 
कार्यक्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलिया र पूर्वसचिव गोपीनाथ मैनालीले भूमि प्रशासन र व्यवस्थापनका क्षेत्रमा गर्नुपर्ने सुधारका बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए । कार्यक्रममा पूर्वभूमिसुधार मन्त्री, सचिव र नापी विभागका पूर्वमहानिर्देशकलाई सम्मान गरिएको थियो । 

धुलिखेलमा लिखत पारितको शतवार्षिकी मनाइयो

नेपालको जग्गा प्रशासनमा ‘पोता रजिष्ट्रेशन’को रूपमा पहिलो लिखत पारित भएको एक सय वर्ष पुगेको अवसरमा आज धुलिखेलमा एक कार्यक्रमका बीच शतवार्षिकी मनाइएको छ । जिल्ला मालपोत तथा नापी कार्यालयद्वारा आयोजित कार्यक्रममा नेपालको जग्गा प्रशासनको इतिहासबारे चर्चासमेत गरिएको थियो ।
विसं १९७८ मा पोता रजिष्ट्रेशन अड्डा स्थापना भई विसं १९७९ वैशाख १ गते एक सय गौरवपूर्ण इतिहास पार गरेको जनाउँदै दुवै कार्यालयले बाँसको कलमबाट सेवा सुरु भएको नेपालको जग्गा प्रशासन आजसम्म आइपुग्दा काभ्रेपलाञ्चोकलगायत मुलुकभर १२६ कार्यालयमार्फत सूचना प्रविधिको उच्चतम् प्रयोग गर्दै अभिलेख राखी अनलाइन प्रणालीमार्फत सेवा प्रवाह गरिरहेको जनाए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले हालको अवस्थामा अभिलेखलाई अनलाइनमार्फत सेवा प्रवाह गरे पनि सेवाग्राहीले चाहेको खण्डमा तत्कालै दिन सकिने तथा सुरक्षित गरी व्यवस्थित गर्न सुझाव दिइन्।
पाण्डेले जिल्लामा सरकारी जमिन, भौतिक सङ्ख्या र अवस्थाको अभिलेख राख्न मालपोत कार्यालयलाई आग्रह गरिन् । “मालपोत र नापी कार्यालयमा बिचौलियाले हैरान पारेको सुनिन्छ, यसबारे विशेष ध्यान दिएर सेवाग्राहीलाई सहजता प्रदान गर्नुपर्छ”, उनले भनिन् । 
मालपोत कार्यालय प्रमुख नवीन अधिकारीले कार्यालयद्वारा प्रदान गरिने सेवाबारे जानकारी दिँदै मालपोत ऐन २०३४ ले व्यवस्था गरेबमोजिम विसं २०३५ वैशाख १ गते अर्थ मन्त्रालयअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाभर कार्यक्षेत्र रहने गरी मालपोत कार्यलयको स्थापना गरिएको बताए । कार्यक्रममा नापी कार्यालय प्रमुख रामविनयकुमार सिंहले मालपोत र नापी कार्यालयको समन्वयात्मक भूमिकाले जग्गा प्रशासनको कार्यसम्पादनमा सहजता आउने बताए ।
जग्गा प्रशासनको सन्दर्भमा विसं १९१० लाई प्राथमिक काल तथा १९१० देखि २००७ सम्मको अवधिलाई मध्यमकालका रूपमा लिइने गरिएको बताइन्छ । अभिलेखअनुसार महिषपाल तथा किराँतको शासनकालमा जग्गाधनी पुर्जाजस्तै लेख्य नामको प्रमाण दिइन्थ्यो र उत्पादनअनुसार कूत तिर्नुपर्ने व्यवस्था थियो । जयस्थिति मल्लले जग्गा नापजाँच गराउने र बिर्ता जग्गा बिक्री गर्न र बन्धकी राख्न पाउने नियम बसाल्नुभएको थियो भने राजा राम शाहले जग्गा प्रशासनमा हले, पाटे, कोदाले, माटो, मुरी, बिजन आदिका आधारमा जग्गाको एकाइ तोकी लगत राख्ने व्यवस्था गरको थियो । 
यस्तै विसं २००७ देखि हालसम्मको अवधिलाई जग्गा प्रशासनको आधुनिक कालखण्डका रुपमा लिँदै विसं २००८ को पहिलो बजेटमा कूल आयको ५० प्रतिशतभन्दा बढी मालपोत आय रहेको थियो । विसं २०१३ मा जग्गा कमाउने लगत खडा गर्ने ऐन, २०१४ मा भूमिसुधार ऐन, २०१६ मा बिर्ता उन्मूलन ऐनसम्बन्धी कानुनी व्यवस्था गरिँदै तत्कालीन ७५ जिल्लामा माल–अड्डाको स्थापना गरिएको थियो । साथै जग्गा नापजाँच ऐन २०१९ तथा भूमिसम्बन्धी ऐन २०२१ लागू गरी २०२४ मा भूमि प्रशासन ऐनमार्फत भूमि प्रशासन खोलिएका थिए । 
सोही वर्ष भूमि प्रशासन कार्यालयलाई भूमि सुधार कार्यालय नामाकरण गरिएको थियो भने कोष तथा तहसिल कार्यालयलाई मालपोत कार्यालयमा परिणत गरिएको मालपोत प्रमुख अधिकारीद्वारा प्रस्तुत कार्यपत्रमा जनाइएको छ । यस अवधिमा मालपोत ऐन २०३४ जारी भई २०३५ देखि ७५ वटै जिल्लामा मालपोत कार्यालय स्थापना, गुठी संस्थान ऐन २०३३ जारी, २०५७ मा भूमिसूधार विभाग र मालपोत विभागलाई एकीकृत गरी भूमिसूधार तथा व्यवस्थापन विभाग कायम गरिएको थियो । साथै विसं २०७५ मा भू–सूचना तथा अभिलेख विभाग र भूमिसूधार तथा व्यवस्थापन विभागलाई एकीकृत गरी भूमि व्यवस्थापन तथा अभिलेख विभागको स्थापना गरिएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  २०:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार