बेसीशहर नगरप्रमुखकाे उम्मेदवार छान्न एमाले-कांग्रेसलाई सकस

काँग्रेसबाट ६ जना सिफारिश, एमालेमा पनि तीब्र प्रतिस्पर्धा
शनिबार, वैशाख ३, २०७९

लमजुङ ३ बैशाख

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा उम्मेदार सिफारिसका लागि पार्टीभित्र आन्तरिक छलफललाई तीव्र बनाएको छ ।  लमजुङको बेंसीशहर नगरपालिका प्रमुख उम्मेदारका लागि नेपाली कांग्रेसका ६ जनाले दाबी गरेका छन् । स्थानीय तह निर्वाचन नजिकिएसँगै उम्मेदार छनौटमा लागेको नेपाली कांग्रेसले स्थानीय तहबाट उम्मेदार सिफारिस गर्ने क्रममा कार्यकर्ता भेला गरी आकांक्षीहरुको आवदेन संकलन गरेको हो । सो क्रममा बेंसीशहर नगरपालिका प्रमुखका लागि पार्टीको जिल्ला पदाधिकारीसहितका ६ जनाले आवेदन दिएका छन् ।

नगरप्रमुखमा नेपाली कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुख एवं निवर्तमान जिल्ला सचिव हरि बराल, जिल्ला उपसभापति श्रीकान्त घिमिरे, जिल्ला सचिव कृष्णबहादुर अधिकारी रहेका छन् । त्यसै गरी, नगरप्रमुखको उम्मेदार आकांक्षीहरुमा महाधिवेशन प्रतिनिधिहरु जीवनकुमार श्रेष्ठ र वृषराज गुरुङ र बेसीशहर–११ की सुप्रिया जोशीले पनि कांग्रेसका तर्फबाट मेयरमा उम्मेदार बन्ने आकांक्षा राखेको नेपाली कांग्रेस बेंसीशहर नगर सभापति शरणहरि जोशीले बताए । नगरस्तरीय भेलामा प्रमुखसहित उपप्रमुख उम्मेदारीका लागि भने पाँच जनाले आकांक्षा राखेका छन् ।

उपप्रमुख आकांक्षा राख्नेहरुमा नेपाली कांग्रेस महासमिति सदस्य टीका बस्याल, जिल्ला कार्यसमिति सदस्य सरस्वती धिताल, नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति कोषाध्यक्ष तिरकाशी गुरुङ, नेपाल शिक्षक संघ गण्डकी प्रदेश प्रतिनिधि विष्णुमाया भण्डारी, नेका गण्डकी प्रदेश प्रतिनिधि सुस्मिता अधिकारी लगायतले आकांक्षा व्यक्त गरेका हुन् । 

एमाले लमजुङमा उम्मेदवार छनोटमा सकस

स्थानीय तह निर्वाचनमा एमाले लमजुङमा आकांक्षी बढी भएसँगै उम्मेदवार छनोटमा सकस बनेको छ । लमजुङमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा गठबन्धनमा रहे पनि एमालेका तर्फबाट नेतृत्व लिन धेरैले आकांक्षा देखाएका छन् । एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले स्थानीय तह चुनावमा आकांक्षी धेरै देखिएको बताए ।

उनका अनुसार वडाध्यक्षदेखि पालिका प्रमुखसम्म २ भन्दा बढीले आकांक्षा व्यक्त गरेका छन । ७५ वटा वडामध्ये अधिकांश वडामा २ भन्दा बढीले आकांक्षा व्यक्त गरेका छन । चार नगरपालिका र ४ गाउँपालिकाको प्रमुख र उपप्रमुख साथै अध्यक्ष र उपाध्यक्षमा सहमति हुन सकेको छैन । ४ नगरपालिकामा २३ जनाले प्रमुख र १२ जनाले उपप्रमुखमा दाबी गरेका छन । चार गाउँपालिकामा १४ अध्यक्ष र १५ जनाले उपाध्यक्षमा दाबी गरेका छन ।

बेंसीसहर नगरपालिकाको प्रमुख पदका लागि हालका प्रमुख गुमानसिंह अर्याल, पार्टीका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, उपप्रमुख लक्ष्मीदेवी अधिकारी, गोविन्द बस्नेत, राजेन्द्र बोहरा र राजकुमार श्रेष्ठ गरी ६ जनाको दाबी छ । उपप्रमुखमा पद्ममा गुरुङ, पवित्रा थापा राना र मनमाया गुरुङ गरी ३ जनाले दाबी गरेका छन ।

सुन्दरबजार नगरपालिका प्रमुखमा वर्तमान प्रमुख जनकराज मिश्रसहित ७ जनाले दाबी गरेका छन । उपप्रमुखमा लक्ष्मी पोखरेल, शान्ता सापकोटा र भवानी केसी गरी ३ जनाले दाबी गरेका छन ।

मध्यनेपाल नगरपालिका प्रमुखमा हालका उपप्रमुख राजकुमार श्रेष्ठसहित ६ जना आकांक्षी देखिएका छन । सीता गुरुङ र लक्ष्मी घिमिरे गरी २ जनाले उपप्रमुखमा दाबी गरेका छन् । राइनास नगरपालिकामा हालका नगरप्रमुख सिंहबहादुर थापासहित ४ जनाले प्रमुख पदमा दाबी गरेका छन । उपप्रमुखमा पनि ४ आकांक्षी छन । मस्र्याङ्दी गाउँपालिका अध्यक्षमा हालका अध्यक्ष अर्जुन गुरुङलगायत ३ जना र उपाध्यक्षमा पनि ३/३ जनाले दाबी गरेका छन् ।

दोर्दी गाउँपालिकामा पार्टी गाउँकमिटी अध्यक्ष युवराज अधिकारीलगायत ४ र उपाध्यक्षमा ५ जनाले आकांक्षा देखाएका छन । दूधपोखरी गाउँपालिकामा ६ जनाले अध्यक्षमा र ३ जना उपाध्यक्षमा आकांक्षा देखिएका छन । क्व्होलासोंथर गाउँपालिका अध्यक्षमा हालसम्म सूर्य गुरुङले मात्रै अध्यक्षमा दाबी गरेका छन । 

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  ०८:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार