भानुभक्त प्राणी उद्यान जग्गा अधिग्रहणका लागि ४६ करोड

शनिबार, वैशाख ३, २०७९

दमौली, ३ वैशाख । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानले जग्गा अधिग्रहणको कामलाई अगाडि बढाएको छ ।  रैथाने र गैररैथाने वन्यजन्तुको संरक्षण गर्र्ने, वन्यजन्तु संरक्षणमार्फत आमोदप्रमोद प्रदान गर्ने, वन्यजन्तुको वैज्ञानिक अध्ययन अनुसन्धान गर्ने उद्देश्यसहित स्थापना भएको सो उद्यानले जग्गा अधिग्रहणको कामलाई अगाडि बढाएको हो । 
प्राणी उद्यानले व्यास नगरपालिका–११, १२, भानु नगरपालिका–५ र ६ का भाग समेटेको छ । उद्यानले अधिग्रहण गर्ने जग्गा, घरटहरा, खेतबारीको मुआब्जा निर्धारण गर्ने काम सकिएको संरक्षण अधिकृत भोजराज पन्थले जानकारी दिए । उनका अनुसार यस कार्यका लागि कूल रु ४६ करोड ५२ लाख एक हजार ७३० बजेट आवश्यक पर्छ । जग्गाको मुआब्जा वितरणका लागि अर्थमन्त्रालयमा फाइल पठाइएको र बजेट स्वीकृत भएर आएपछि मुआब्जा वितरणको काम सुरु हुने उनले बताए । 
“प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले जग्गाको मूल्याङ्कन गरेर बजेटका लागि फाइल अर्थमन्त्रालयमा पठाएको छ, मन्त्रालयबाट बजेट प्राप्त भएपछि मुआब्जाको काम अगाडी बढाउँछौँ”, पन्थले भने ।  
प्राणी उद्यानभित्र परेका १२६ जग्गाधनीको ९६१ रोपनी जग्गा अधिग्रहण गरिनेछ । त्यसका लागि रु ४३ करोड ८७ लाख नौ हजार ४४३ मुआब्जा निर्धारण गरिएको छ । त्यस्तै उद्यानभित्र परेका घरटहराका लागि रु ५८ लाख सात हजार ५७९ र छुट भएका १६ जग्गाधनीको जग्गा अधिग्रहणका लागि रु दुई करोड छ लाख ८४ हजार ७०७ मुआब्जा निर्धारण गरिएको छ । 
प्राणी उद्यानको सीमानमा तारबार लगाउने काम भने सम्पन्न भइसकेको छ । उद्यानको विकासका लागि गुरुयोजना बनाइएको छ । गुरुयोजनाअनुसार यहाँ दुई इलाका, चार क्षेत्र र आठ शाखा कल्पना गरिएको छ । इलाकाअन्तर्गत संरक्षण इलाका र उपयोग इलाका रहनेछ । क्षेत्रअन्तर्गत प्रशासनिक, प्रदर्शनी, शान्ति र आध्यात्मिक तथा उद्धार र अनुसन्धान रहनेछ । शाखाअन्तर्गत ठूला शाकाहारी, शाकाहारी, पन्छी, सर्वहारी, सरीसृप, साना स्तनधारी, माँसाहारी र भालु शाखाको कल्पना गरिएको छ । 
प्राणी उद्यान कूल ४२५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको छ । उद्यानले २९७।४७ हेक्टर संरक्षण इलाका र १२७।५३ उपयोग इलाका निर्धारण गरेको छ । संरक्षण इलाकाभित्र घना वन क्षेत्र, भिरालो र पहुँच नभएको क्षेत्र पर्दछ भने उपयोग इलाकाभित्र कम भिरालो, पानीका स्रोत पर्दछ । 
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा प्राणी उद्यान घोषणा गर्ने प्रावधान भएकाले चुनौती देखा परेको संरक्षण अधिकृत पन्थले बताउनुभयो । प्राणी उद्यानले गुरुयोजनाबमोजिम कार्य सञ्चालन, विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माण, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा प्राणी उद्यान स्थापना र व्यवस्थापनसम्बन्धी व्यवस्था गर्न पहल गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।

व्यासगुफादेखि बन्दीपुरसम्म स्रष्टाको पदयात्रा   

स्रष्टा पदयात्रा काठमाडौको आयोजनामा तनहुँको प्रसिद्ध व्यासगुफादेखि पर्यटकीय नगरी बन्दीपुरसम्म पदयात्रा सुरु भएको छ ।

विभिन्न जिल्लाका साहित्यकारको सहभागितामा धार्मिकस्थल व्यासगुफादेखि पर्यटकीयस्थल बन्दीपुरसम्म पदयात्रा सुरु भएको हो । व्यासगुफामा आज आयोजित एक कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पदयात्रामा सहभागी साहित्यकारलाई विदाई गर्दै साहित्यका माध्यमबाट व्यास क्षेत्रको प्रचारप्रसार गरिदिन आग्रह गरे ।  
व्यास, पराशर, छाब्दीवाराही, तनहुँसुर, गलेखामकोटको संरक्षण र उजार गर्ने अभियानमा नगरपालिका क्रियाशील भएर लागेको बताउँदै उनले भने, “सांस्कृतिक र साहित्यिक पक्षको संरक्षण गर्न प्राज्ञसभा गठनको प्रक्रिया अगाडि बढाएका छौ ।” व्यासका अध्येता काशीनाथ न्यौपानेले श्रीकृष्ण द्वैपायनको रुपमा २८ औं व्यासको जन्म दमौलीमा भएको प्रमाण रहेको भन्दै यस क्षेत्रको उचित प्रचारप्रसार हुन नसकेको बताए । 
व्यासभूमि दमौलीको प्रचारप्रसारका लागि लागेपनि यसको विकास हुन नसकेकाले सबैको सामूहिक प्रयास आवश्यक रहेकामा उनले जोड दिए । 
व्यासगुफा र बन्दीपुरको पर्यटन, संस्कृति, पुरातत्व महत्वको प्रचारप्रसार गर्ने उद्देश्य सहित पदयात्रा सुरु भएको हो । विसं २०७३ सालमा सुरु भएको स्रष्टा पदयात्राको तनहुँको श्रृङ्खला ५७ औं हो । स्रष्टा पदयात्राले काठमाडौबाट यो अभियान सुरु गरेको मन्दिरा मधुश्रीले जानकारी दिए। “नयाँ नयाँ ठाउँ पुगेर रचना सिर्जना गर्ने र त्यसलाई पुस्तकमार्फत् प्रचारप्रसार गर्ने उद्देश्यसहित स्रष्टा पदयात्रा सुरु गरेका हौ”, उनले भने । 
स्रष्टा पदयात्रामा ११ साहित्यकारको सहभागिता रहेको छ । स्रष्टा पदयात्रामा साहित्यकार शीतल गिरी, पत्रकार तथा लघुकथाकार डिल्लीराम सुवेदी, कवि बसन्त रिजाल, कवि तथा गजलकार खोलाघरे साहिलो, साहित्यकार नवराज रिजाल लगायतको सहभागिता रहेको छ । 
पदयात्रामा सहभागी हुने साहित्यकारको टोली आज बन्दीपुर पुग्नेछ । उक्त टोलीले आइतबार बन्दीपुरको अवलोकन गर्नेछ भने बन्दीपुरमा साहित्य गोष्ठि आयोजना गरिएको स्थानीय संयोजक डा. तुलसी प्रभास खनालले जानकारी दिए। 
नयाँ नयाँ ठाउँमा पुगेर त्यस ठाउँको अध्ययन अवलोकन गरी साहित्यका माध्यमबाट उजागर गर्नु स्रष्टा पदयात्राको मुख्य उद्देश्य रहेको संस्थाका संयोजक शीतल गिरीले जानकारी दिए । 
“कुनैपनि कुरा आफैले हेरी जाँच पहिचान गरेर लेखेको तथ्यपरक हुने हुँदा हामी महिनामा एक पटक पदयात्रा गर्दै आएका छौ, पदयात्रा गर्दा हामी प्रत्येक यात्रामा साहित्यिक कार्यक्रम पनि गर्छौ”, उनले भने, “यात्रा गरिएको स्थानको कला, संस्कृति अध्ययन गरी सिर्जनामा स्थान दिँदै आएका छौ ।” –रासस 

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १५:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार