भरतपुरका ५० कांग्रेसीले दिए सामूहिक राजीनामा

शनिबार, वैशाख ३, २०७९

चितवन, ३ बैशाख : स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० जना कांग्रेस नेताकार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन् ।

भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा (माओवादी केन्द्र)लाई नछाड्न भरतपुरका कांग्रेसीले नेतृत्वलाई दबाब दिँदै आएका छन् । स्थानीय अगुवा प्रकाश कँडेलको अगुवाईमा उनीहरुले शनिबार एक औपचारीक कार्यक्रम गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 

कांग्रेस माओवादीकरण भएको उनीहरूको आरोप छ । कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहनेगरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको कँडेलले बताए ।

पूर्व वडाध्यक्ष देवनारायण महतो, वडाका पूर्व सभापति विष्णुप्रसाद सुवेदीसहित ५० जनाले सामूहिक राजिनामा दिएको उनले बताए । पार्टी स्वार्थ केन्द्रित राजनीतिमा लिप्त भएको र राष्ट्रघाती एमसीसी पास गरेको उनले आरोप लगाए । पार्टीले सबै सरकारी कलकारखाना निजीकरण गर्दै बेचेको समेत कँडेलको आरोप छ ।

उनीहरूले पार्टीको साधारण सदस्यबाट राजीनामा दिए पनि देश र जनताको काममा सधैं रहिरहने बताएका छन् । 

चितवन कांग्रेस सभापति खनाल भन्छन्, 'चुनावको नतिजा प्रतिकुल आए जिम्मा लिन्नौँ'  

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले आगामी स्थानीय तह निर्वाचनमा नतिजा प्रतिकुल आए आफूहरूले जिम्मा नलिने बताएका छन् । भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार नेकपा (माओवादी केन्द्र)लाई छाड्ने केन्द्रीय निर्णय भएमा त्यस्तो निर्णय मान्न आफू तयार भएको तर नतिजामा जिम्मेवार नहुने खनालले बताए । 

शुक्रबार चितवन आएका कांग्रेस नेता प्रकाशमान सिंहले गठबन्धन जोगाउन भरतपुर महानगर प्रमुख नेकपा (माओवादी केन्द्र)लाई छाड्ने गरी तालमेल हुने बताएका थिए । सिंहको भनाइले जिल्लामा पुनः तरंग ल्याएको छ । 

भरतपुरमा यसअघि नै एक पटक माओवादी केन्द्रलाई सहयोग गरिसकेकाले आलोपालोको मान्यताअनुसार यसपालि कांग्रेसले पाउनुपर्ने खनालले दोहोर्‍याए । 

‘कांग्रेस केन्द्रीय समितिले गरेको निर्णय त्योभन्दा तल्लो निकायले मान्न बाध्यकारी छौँ । म कांग्रेसको चितवन सभापति भएकाले पनि मान्न तयार छु । तर, निर्णय मान्ने हो कि निश्कर्षमा पुग्ने हो । जुन निकायले निर्णय गर्ने हो भोलि नतिजा अनुकुल वा प्रतिकुल हुँदा पनि त्यो निकायले पूर्ण रुपमा जिम्मा लिनुपर्छ,’ उनले भने । 

चितवन कांग्रेसले १५ दिनअघि नै संस्थागत निर्णय गरेर भरतपुर महानगरको मेयर नछाड्ने कुरा पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी गराईसकिएको उनले बताए ।

नजिता सकरात्मक आउने तरिका यो हो भनेर चितवन कांग्रेसले सघन छलफल गरेर केन्द्रीय समितिलाई लिखित प्रतिवेदन बुझाइसकेको भन्दै उनले एकात्मक खालको अवसरबाट गठबन्धनलाई स्थायित्व दिन नसकिने र जुनसुकै बेला दुर्घटनामा पर्न सक्ने बताए ।

‘समयको आवश्यकताअनुसार बनेको गठबन्धनसँग तालमेल गरेरअघि बढ्ने कुरामा तयार छौँ तर तालमेल जायज हुनुप¥यो । ग्राउण्ड सुहाउँदो हुनुप‍‍र्‍याे,’ उनले भने ।

नेपाली कांग्रेसको मूल्य, मान्यता, सिद्धान्त र विधानमा रुख चिह्नबाहेक अन्त पनि मत हाल भन्ने व्यवस्था नरहेको भन्दै उनले गठबन्धन गरेर अन्य चिह्नमा मत हाल्ने निर्णय गर्नु नै अनुशासनहिन काम भएको बताए । 

विगतमा गरेको सहयोग र वर्तमान संगठनको हिसाबले भरतपुर महानगरले मेयर कांग्रेसले पाउने गरी गठबन्धनका दलसँग चुनावी तालमेल गर्ने कांग्रेसको संस्थागत निर्णय रहेको उनले बताए ।

त्यही निर्णयलाई आत्मसाथ गर्दै अन्य तहमा तालमेल गर्न जिल्ला संयन्त्रमा सघन छलफल भइरहेको उनले जानकारी दिए । ‘पटक पटक मेरो पक्षमा नै हुनुपर्छ भन्ने दृष्टिकोणबाट गठबन्धन मजबुत हुन सक्दैन । एउटा पक्षलाई निराश बनाएर अर्को पक्ष सँधै खुसी हुने प्रवृत्तिबाट गठबन्धन सघन भएर जान सक्दैन,’ उनले भने ।  

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १८:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार