स्थानीय आवश्यकताअनुसार मात्रै तालमेल : विश्वप्रकाश शर्मा

शनिबार, वैशाख ३, २०७९

काठमाडौँ, ३ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्ने बताएका  छन् । नेपाली कांग्रेस ठोरी–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको वृहत कार्यकर्ता भेलामा महामन्त्री शर्माले कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीयस्थिति र आवश्यकतालाई हेरेर तालमेल गर्ने बताए।
“संविधानरक्षा गर्ने दलहरूसँग कांग्रेसले स्थानीय आवश्यकतालाई हेरेर तालमेल गर्छ, आगामी स्थानीय तहको निर्वाचनपछि कांग्रेस मुलुकको पहिलो शक्तिका रूपमा उदाउँछ”, उनले भने । उनले गठबन्धनमा आफ्नो क्षमताभन्दा धेरै सिट खोज्ने दलसँग सहकार्य नहुने स्पष्ट पारे । 
महामन्त्री शर्माले कांग्रेस कमजोर शक्ति नभएको बताउँदै आगामी तीनवटा सरकार कांग्रेसले चलाउने गरी कांग्रेस अगाडि बढ्ने बताए । उनले कांग्रेस भाषणभन्दा काममा लाग्ने बताउँदै आगामी निर्वाचनमा काठमाडौँ महानगरपालिकामा  कांग्रेसले जित्ने दाबी गरे । 
देश विकासको नेतृत्व कांग्रेसले गरेको बताउँदै महामन्त्री शर्माले अमेरिकी सहयोग सम्झौता (एमसिसी) बारे जनतामा छरिएको भ्रम चिर्नु जरुरी रहेको बताए । “एमसिसी पास भएपछि अमेरिकी सेना आउँछ भनेर भ्रम फैलाउने काम भएको छ, कांग्रेसले कुनै पनि देशको शैन्य रणनीति स्वीकार्दैन”, उनले भने । काँग्रेसले विदेशमा बिजुली निर्यात गरेर देशलाई समृद्ध बनाउन खोजेको उनको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले घोषणापत्र तयार गरेको जानकारी दिँदै कांग्रेसले बाचा गरेका विषय पूरा गर्ने बताए । उनले तालमेल गर्ने अधिकार स्थानीय तहलाई नै दिएको बताउँदै आवश्यकताका आधारमा तालमेल हुने उल्लेख गरे । 
कांग्रेस नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई पहिलो शक्ति बनाउनका लागि युवा लाग्नुपर्ने बताए । उनले दबाबको आधारमा गठबन्धन नहुने स्पष्ट पारे । कांग्रेस मधेस प्रदेशका महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठले विसं २०४६ पछि ठोरीमा कांग्रेसको पक्षमा जनलहर आएको भन्दै यसलाई गुम्न दिन नहुने बताए । 
कार्यक्रममा ठोरी गाउँपालिकाका दुई दर्जनभन्दा बढी युवा विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए ।

जितेका पालिका आफैसँग रहने गरी गठबन्धन गर्ने कांग्रेस तनहुँको निर्णय

नेपाली कांग्रेस तनहुँले आफूले जितेको पालिका आफैँसँग रहने गरी गठबन्धन गर्ने निर्णय गरेको छ । कांग्रेस तनहुँको आज सम्पन्न विस्तारित बैठकले गत निर्वाचनमा कांग्रेस विजयी भएको पालिका आफैँसँग रहने गरी अन्यमा सल्लाह गर्न सक्ने निष्कर्ष निकालेको हो ।
कांग्रेसले जितेका पालिका छाडेर गठबन्धन गर्न नसकिने बैठकले निष्कर्ष निकालेको छ । “कांग्रेसले जितेका ठाउँ छाडेर जाने मर्म छैन, सत्ताका लागि मात्रै गठबन्धन गर्ने होइन, मतभारका आधारमा गठबन्धन गर्ने अधिकांशको जोड रह्यो”, जिल्ला सचिव लक्ष्मीभक्त खनालले भने । सत्तारुढ दलको गठबन्धनले यस अगाडि तनहुँमा पटक–पटक बैठक गरी निर्वाचनमा मिलेर जाने सहमति गरेका थिए । गठबन्धनको बैठक आइतबार पुनः बस्दैछ ।
विसं २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले देवघाट गाउँपालिकामा उपाध्यक्ष, आँबुखैरेनी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, भानु नगरपालिकाका प्रमुख, उपप्रमुख, व्यास नगरपालिकामा प्रमुख, उपप्रमुख, म्याग्दे गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष, शुक्लागण्डकी नगरपालिकामा प्रमुख, ऋषिङ गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष जितेको थियो ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  २१:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार