सत्ता गठबन्धनको बैठक आजै राति १० बजे फेरि बस्ने

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं, ६ वैशाख : सत्ता गठबन्धनको बैठक आज पुन: बस्ने भएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरको सिट बाँडफाँटमा केही दिन यताको प्रयासले सार्थकता पाउन नसक्दा बैठक पुन: बस्न लागेको हो । 

आज दिउँसो ३ बजेबाट सुरु भएको गठबन्धनको बैठक साँझ ७ बजेपछि सकिएको थियो । बैठकमा महानगर र उपमहानगरबारे समग्रमा छलफल भइरहेको बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

दिउँसोबाट बसेको बैठक केही बेर रोकिएर पुन: बस्न लागेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार गठबन्धनको अर्को बैठक आजै राति १० बजे पुन: बस्ने छ । तर सरकारका प्रवक्ताले भने बैठक जारी हरेको प्रतिक्रिया दिएर बाहिरिएका थिए ।

महानगरको विषयमा मोटामोटी सहमति भए पनि उपमहानगरका विषयमा अब छलफल हुने स्रोतको भनाइ छ । 

सोमबार दिनभर बस्दा सहमति हुन नसकेपछि आज दिउँसो तीन बजेदेखि गठबन्धनको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको थियो । 

सिट बाँडफाँटका विषयमा निष्कर्षको नजिक पुगेको कार्कीले जानकारी दिए । 

'बैठकमा हरेक कोणबाट विचारहरु आएका छन् सबै सकारत्मक रुपले अघि बढेका छन्' उनले भने, 'बैठक जारी छ । छलफल सकारात्मक रुपले अघि बढिरहेको छ । हामी निष्कर्षको चरणमा प्रवेश गरेका छौं, अहिले बैठक जारी छ । '

आफूहरु ६ वटा महानगरपालिका र ११ उपमहानगरको विषयमा समग्रमा छलफल गरिरहेको उनले बताए । 

नेताहरुले माइन्युटमा हस्ताक्षर गर्न बाँकी छ : माओवादी नेता गुरुङ

स्थानीय तह निर्वाचनका लागि तालमेलको टुंगो लगाउन बसिरहेको सत्ता गठबन्धनको बैठक सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिएका छन् । 

सोमबार दिनभर र आज दिउँसो ३ बजेदेखि बसेको बैठक निष्कर्ष नजिक पुगेको उनीहरुको दाबी छ । 

सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले छलफल सकारात्मक भएको बताए । त्यस्तै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले पनि सहमति सकारात्मक भएको र खाना खाएर आएपछि गृहकार्य गर्ने बताए ।

नेताहरुले सहमतिको माइन्युटमा हस्ताक्षर गर्न बाँकी रहेको उनले दाबी गरे । अब उपमहानगरको पनि टुंगो लगाउने उनको भनाइ छ ।

‘नेताहरूले माइन्युटमा हस्ताक्षर गर्न बाँकी छ । हस्ताक्षर नगरी भन्न भएन । उपमहानगरको पनि टुंगो लगाउछौं,’ नेता गुरुङले भने । बैठक आजै राति १० बजेपछि पुन बस्ने जनाइएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  २०:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार